भारतबाट अवैधरुपमा ल्याइएका पाँच क्विन्टल कुखुरा बरामद
भैरहवाः सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा भन्सार सुरक्षा गुल्म डण्डाले भारतबाट अवैधरुपमा नेपालमा भित्राइदै गरेको अवस्थामा ५ क्विन्टल कुखुरा बरामद गरेको छ ।
साथै भारतबाट तस्करी गरेर कुखुरा ल्याउने ३ जनालाई पक्राउ समेत गरेको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा तीनैजना रुपन्देहीको रोहिणी गाउँपालिका–१ का १६ वर्षीय इस्तियाक खान पठान, १६ वर्षीय मनु खान र २१ वर्षीय अमन खान पठान रहेका छन् ।
डण्डाका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) श्रीराम कुँवरको नेतृत्वमा खटिएको टोलीले रुपन्देहीको ओमसतिया गाउँपालिका–२ पटखौलीमा चेकजाँच गर्ने उक्त कुखुरा बरामद गरेको हो ।
पक्राउ परेका व्यक्तिहरुले रातिको समयमा ३ वटा मोटरसाइकलमा एक लाख ६० हजार मुल्य बराबरको ५ क्विन्टल कुखुरा ल्याउने क्रममा बरामद गरिएको डण्डाका डिएसपी श्रीराम कुँवरले बताए । बरामद बोइलर कुखुरालाई क्वारेन्टाईनका चिकित्सक, स्थानिय र प्रहरीको रोहवरमा नष्ट गरिएको छ ।
साथै पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाइन कार्यालय र नियन्त्रणमा लिइएको मोटरसाइकललाई भैरहवा भन्सार कार्यालय बुझाइएको डिएसपी कुवरले बताए ।