एमाले केन्द्रीय समिति बालुवाटार र माओवादी केन्द्रीय समिति बैठक खुमलटारमा
काठमाडौं : एमाले–माओवादी एकता विषयमा भएका सहमतिको अनुमोदनका लागि दुवै पार्टीका केन्द्रीय समिति बैठक सुरु भएका छन् । एमाले केन्द्रीय समितिको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ भने माओवादी केन्द्रको केन्द्रीय समिति बैठक माओवादी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा सुरु भएको छ ।
दुवै पार्टीको केन्द्रीय समिति बैठकले पार्टी एकताका विषयमा भएका सहमतिलाई अनुमोदन गर्ने छन् । दुई पार्टीको केन्द्रीय समिति बैठक सकिए लगत्तै दुवै पार्टीको केन्द्रीय समितिको संयुक्त बैठक बस्दै छ । संयुक्त बैठकले पार्टी एकताको घोषणा गर्ने छ ।
त्यसपछि आजै निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी दर्ता गर्ने र साँझ पत्रकार सम्मेलन गरेर पार्टी घोषणाको जानकारी गराउने पूर्व निर्धारित कार्यक्रम रहेको छ ।