‘एकताले सम्पन्नता देओस्’

‘एकताले सम्पन्नता देओस्’

काठमाडौं : एमाले र माओवादीबीचको एकताबाट जन्मिएको नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रिय एकता एवं आर्थिक सम्पन्नतालाई जोड दिनुपर्ने वामपन्थी नेताले सुझाएका छन्। पार्टी एकताभन्दा पनि राष्ट्रिय एकता, स्वाभिमान र आर्थिक सम्पन्नता महत्वपूर्ण रहेको उनीहरूको भनाइ छ। त्यसका लागि एकीकृत पार्टीका नेताले एकता घोषणाका अवसरमा दिएका अभिव्यक्तिलाई व्यवहारमा रूपान्तरण गर्न सक्नुपर्ने उनीहरूले बताए।

दुई पार्टीबीचको एकतालाई आफूले सहर्ष स्वागत गरेको नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहको भनाइ छ। ‘जनतामा रहेका शंकाआशंकालाई चिर्दै एमाले र माओवादी एक भएकोमा हर्षित छु’, उनले भने।

अब राष्ट्रिय एकता एवं सर्वसाधारणको जनजीविकामा सहयोग पुग्ने किसिमको आर्थिक समृद्धि आवश्यक रहेको उनले बताए। मुलुकमा राष्ट्रिय एकता अत्यन्त कमजोर अवस्थामा रहेको र त्यसलाई सबल बनाउन जिम्मेवार पार्टीका शीर्ष नेताको सकारात्मक भूमिका अपरिहार्य रहेको महामन्त्री सिंहको भनाइ छ। एकीकृत पार्टी र मसालबीच थुप्रै मतभेद एवं अन्तर्विरोध रहेकाले अहिल्यै एकता सम्भव नरहेको उनले प्रस्ट्याए।

‘जुन परिस्थिति र परिवेशमा दुई पार्टीबीच एकता भयो, देखियो, त्यो कम्युनिस्ट एकता, वामपन्थी एकता नभएर संसद्वादी, सत्तावादी एकता हो’, नेकपा माओवादी (क्रान्तिकारी) अध्यक्ष मोहन वैद्य ‘किरण’ले भने, ‘यो अवसरवादी एकता हो। यसले संसद्को धारलाई तिखार्दै कम्युनिस्ट आन्दोलनलाई संकटमा पार्छ।’

क्षणिक रूपमा सत्ता स्वार्थमा लाग्नेहरूको स्थायित्व नरहेको उनको दाबी छ। ‘राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा उहाँहरूले मुलुकका विद्यमान चुनौतीको सामना गर्न सक्नुहुन्न’, उनले भने। एकीकृत पार्टीको अवसरवादी चरित्रविरुद्ध आफ्नो पार्टीले संघर्ष जारी राख्ने उनले चेतावनीसमेत दिए।

एकता सुखद छ। यसले कांग्रेसलाई पनि संगठनात्मक रूपमा अघि बढ्न बाध्य गराउँछ।
-डा. शेखर कोइराला, नेता, कांग्रेस

मालेका संस्थापक महासचिव चन्द्रप्रकाश मैनालीले भने दुई पार्टीबीचको एकतालाई सकारात्मक उपलब्धिका रूपमा चित्रण गरे। ‘एकीकृत पार्टीको उद्देश्य परिवर्तनलाई संस्थागत गर्ने, राष्ट्रिय स्वभिमानको रक्षा गर्ने र जनजीविकामा अघि बढ्नेतर्फ उन्मुख हुनैपर्छ’, उनले भने, ‘यद्यपि उहाँहरूबाट गरिएका अपेक्षा पूरा हुन गाह्रो छ।’ एकीकृत पार्टीले आगामी दिनमा चाल्ने कदमबाट त्यसको प्रभावकारिता देखिने उनको भनाइ छ।

पार्टी एकीकरण सकारात्मक एवं सुखद भएको प्रमुख प्रतिपक्षी दल कांग्रेस नेता डा. शेखर कोइरालाले बताए। ‘यो एकताले कांग्रेसलाई संगठनात्मक रूपमै अघि बढ्न बाध्य गराउँछ’, उनले भने, ‘निर्वाचनपछि कमजोर देखिएको कांग्रेस जनता, कार्यकर्ता र संगठनबाट टाढिन सक्दैन।’ यति हुँदाहुँदै पनि निकट भविष्यमै एकीकृत पार्टी फुट्ने हो कि भन्ने आशंका भने कायम रहेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.