एकता सार्थक बनाऊ
लामो गृहकार्य र पटकपटकको आशंका चिर्दै देशका दुई प्रमुख कम्युनिस्ट पार्टीहरूले पार्टी एकता गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) घोषणा गरेका छन् । फरक पृष्ठभूमि र फरक वैचारिक विरासतद्वारा निर्मित एमाले र माओवादी केन्द्रबीच भएको एकताले नेपाली राजनीतिलाई नयाँ मोड दिएको छ । संसद्मा पहिलो र तेस्रो शक्तिका रूपमा रहेका पार्टीहरू एक हुँदै बलियो कम्युनिस्ट पार्टी मात्रै बनेको छैन, गठबन्धन सरकार बहुमतसहितको बलियो सरकारमा परिणत भएको छ ।
सात दशकअघि सुरु भएको कम्युनिस्ट आन्दोलनको सन्दर्भमा त यो एकता ऐतिहासिक कोसेढुंगा सावित भएको छ । राजनीति नयाँ चरणमा प्रवेश गरेसँगै नेपाल कम्युनिस्ट पार्टी र यसको नेतृत्वको सरकारको अग्निपरीक्षा सुरु भएको छ । खासगरी आर्थिक विकास, समृद्धि र सुशासन दिने जुन प्रतिबद्धतासहित दुई ठूला कम्युनिस्ट पार्टी एक भएका छन्, त्यो प्रतिबद्धताले पूर्णता÷पाउने नपाउने कुरामा यो ऐतिहासिकताको औचित्य पुष्टि हुनेछ । त्यस अर्थमा सरकार र नेपाल कम्युनिस्ट पार्टीको वास्तविक परीक्षा प्रारम्भ भएको छ ।
गत असोजमा चुनावी प्रयोजनसहित बनेको वाम गठबन्धन र पार्टी एकतासमेत गर्ने घोषणाले देशको वामपन्थी जनमतलाई उत्साही र आकर्षित गरेको थियो । दुवै पार्टीले विकास, समृद्धि र समाजवादको नारासँगै कम्युनिस्ट एकतालाई पनि चुनावी एजेन्डाका रूपमा अघि सारेका थिए ।
निर्वाचनमा वाम गठबन्धनले दुवै सदनमा बलियो बहुमत हासिल मात्रै गरेन, सातवटा प्रदेशमध्ये ६ वटामा गठबन्धनकै तर्फबाट सरकारसमेत गठन गर्न सफल भयो । आरम्भमा चुनावी तालमेलको आवश्यकताले दुई दललाई एक ठाउँमा उभ्याएको भए पनि राजनीतिक नेतृत्वले लिएको एकताको निर्णय चुनावी मतबाट समेत अनुमोदन भएपछि एकता तत्कालीन आवश्यकताबाट ऐतिहासिक अपरिहार्यतामा परिणत भयो ।
२००६ सालमा स्थापित नेकपाले एक दशकको अवधिपछि लगातार पटकपटक विभाजनहरू बेहोर्दै आएको थियो । झन्डै सत्तरी वर्षको इतिहासमा केही एकताका शृंखला पनि नचलेका होइनन्, तर यसपटकको कम्युनिस्ट सम्मीलनले राष्ट्रिय-अन्तर्राष्ट्रिय राजनीतिकै ध्यानाकर्षण गर्न सफल भएको छ ।
संविधानसभाबाट नयाँ संविधान निर्माणपछि भएको पहिलो आमनिर्वाचनसँगै मुलुकले राजनीतिक स्थिरता, आर्थिक समृद्धि र सामाजिक विकासमा गति लिने अपेक्षा बढेको हो । लामो समय राजनीतिक क्षेत्रमा देखिएको अस्थिरता, अन्योल र संक्रमणले मात्रै होइन, प्रमुख दलहरूभित्रको विग्रह र टुटफुटले पनि देशको समग्र विकासमा अवरोध पुर्याइरहेको थियो । नेकपाले लोकतान्त्रिक मूल्य, मान्यता र बहुदलीय प्रतिस्पर्धामा आधारित रहेर प्रतिपक्षी दललाई समेत साथ लिई मुलुकलाई राजनीतिक स्थिरता र आर्थिक समृद्धिको दिशामा लैजाने दायित्व लिन सकोस् भन्ने आम अपेक्षा छ । आम अपेक्षामा खरो उत्रन सके मात्रै यो एकताले सार्थकता पाउनेछ ।
दुई भिन्न विचारधारा, भिन्न राजनीतिक अभ्यास र भिन्न संगठनात्मक संरचनामा अभ्यस्त दलहरूबीचको एकता अभ्यास कम्ती जटिल र चुनौतीपूर्ण हुने छैन । एकता गर्ने औपचारिक घोषणा भएसँगै बेलाबेला दुवै पूर्व समूहभित्र आशंका, अन्योल र नेता-कार्यकर्ताबीचको आपसी असुरक्षा भाव सतहमा देखिने गरेको हो । वैचारिक बेमेलहरूसँगै नेता-कार्यकर्ताहरूको व्यवस्थापन तथा जिम्मेवारी बाँडफाँट पनि नेकपाका प्रमुख चुनौतीका रूपमा देखिन सक्छ ।
राष्ट्रिय राजनीतिमा आफैंले बाँडेको स्थिरता र समृद्धिको सपनालाई व्यवहारतः साकार पार्नु, छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई सन्तुलनमा राख्न सक्नु र प्रतिपक्षी दललाई विश्वासमा लिनु पनि त्यत्तिकै चुनौतीपूर्ण काम हुनेछ । वाम गठबन्धन एउटा चुनावका लागि मात्रै थिएन र एकता नेताहरूको सत्ता सुखका लागि मात्रै होइन भन्ने सन्देश दिनका लागि जति कठिन कोसिसहरूपछि नेकपा जन्म भएको छ, त्योभन्दा कैयौं गुना कठिन बाटाहरू यसले छिचोल्नुपर्नेछ ।