आईपीएल 'फिभर'

आईपीएल 'फिभर'

कलंकीका युवराज श्रेष्ठ विगत तीन हप्तादेखि साँझ पर्नासाथ टेलिभिजन सेटअगाडि झुम्मिन्छन् । टेलिभिजनमा कुनै समाचार अथवा टेलिसिरियल हेर्न झुम्मिने गरेका होइनन् । हाल जारी इन्डियन प्रिमियर लिग (आईपीएल)ले उनलाई टेलिभिजन सेटअगाडि डोर्‍याउँछ । उनले अहिलेसम्म आईपीएलका कुनै पनि खेल छुटाएका छैनन् । ‘आईपीएल हेर्नकै लागि अहिले चाँडै घर पुग्ने गरेको छु’, श्रेष्ठले भने । नयाँ बसपार्कका गोपाल ढकाल पनि बेलुकी समय चाँडै घर पुगेर आईपीएल हेरेर रमाउने गरेको बताए ।

आशीष तामाङको घर सिन्धुपाल्चोक हो । उनी विगत दुई वर्षदेखि ठमेलको एक रेस्टुरेन्टमा कार्यरत छन् । रातभरजसो खुला रहने ठमेलमा आईपीएल सुरु भएपछि रेस्टुरेन्टमा आउने ग्राहक बढेको उनले बताए । ‘साथीभाइसँग आईपीएल हेर्नेको भीडभाड नै हुन्छ’, उनले भने । बल्खुका गणेश लम्साल आईपीएल हेरिराखेका छन् तर उनलाई यसपटक आईपीएलले त्यतिसारो आकर्षण गर्न सकेको छैन । ‘मेरो मन पर्ने टोली मुम्बई इन्डियन्स हो । तर, यसपटक मुम्बईको प्रदर्शन सोचेअनुरूप हुन सकेको छैन’, लम्सालले भने । ढिलो खेलमा फर्कने मुम्बईले यसपटक पनि उपाधि जित्नसक्ने उनलाई विश्वास छ ।

गत अप्रिल ७ देखि सुरु भएको आईपीएलको ११औं संस्करणमा सारा भारतीय त झुमेकै छन् । नेपाली क्रिकेटप्रेमी पनि यसबाट अछूतो छैनन् । अझ विगतका १० संस्करणभन्दा आईपीएलको यो ११औं संस्करण नेपाली क्रिकेटप्रेमीका लागि पनि विशेष बनेको छ । कारण, यसपटक नेपालका युवा स्पिनर सन्दीप लामिछाने पनि आईपीएल टोलीमा पर्न सफल भएका छन् । उनलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारुमा किनेको थियो । उनी आईपीएल खेल्ने पहिलो नेपाली क्रिकेटर हुन् । अहिलेसम्म दिल्लीको बेन्चमा मात्रै बस्दै आएका सन्दीप कहिले मैदानमा उत्रने हुन्, त्यसमै सबै नेपाली क्रिकेटप्रेमीको चासो छ ।

आईपीएलको यो ११औं संस्करण नेपाली क्रिकेटप्रेमीका लागि पनि विशेष बनेको छ । कारण, यसपटक नेपालका युवा स्पिनर सन्दीप लामिछाने पनि आईपीएल टोलीमा पर्न सफल भएका छन् ।

आईपीएल विश्वकै सर्वाधिक धनी लिगमा मात्रै पर्दैन, संसारका उत्कृष्ट खेलाडीको जमघट र प्रतिस्पर्धाले पनि यसलाई छुट्टै रोमाञ्चकता प्रदान गर्छ । विश्व क्रिकेटको कान्छो स्वरूप टीट्वेन्टी फरम्याटमा हुने आईपीएलले संसारमा छुट्टै लोकप्रियता हासिल गरेको छ । ११औं संस्करणसम्म आइपुग्दा आईपीएल संसारकै महँगो ‘ब्रान्ड’ मात्र होइन, सबैको प्रिय प्रतियोगितामा पनि दरिएको छ । छक्का चौकाको वर्षा, चेयरलिडरको ‘डान्सिङ हुटिङ’ र खेलको रोमाञ्चकता आईपीएलको विशेषता हुन् ।

क्रिकेटलाई ‘संस्कृति’ र क्रिकेटरलाई ‘भगवान्’ मान्ने भारतमा आईपीएलको ११औं संस्करण उत्कर्षमा छ । सहभागी आठवटै टोलीले पहिलो चरणका खेल सकाएका छन् । क्रिकेटका प्रशंसकका लागि एक महिनासम्म यस प्रतियोगिताले विशेष अर्थ राख्छ । क्रिस गेल, विराट कोहली, महेन्द्रसिंह धोनी, रोहित शर्मा, केरोन पोलार्डजस्ता स्थापित ठूला स्टार मात्र होइन, नयाँ खेलाडीले पनि दमदार प्रदर्शन गरिरहेका छन् । आईपीएलले थुप्रै युवा खेलाडीलाई रातारात स्टार बनाएको छ ।

आईपीएलमा सदाझैं यसपटक पनि आठ टोलीको सहभागिता छ । विश्व क्रिकेटको स्वरूप नै परिवर्तन गर्न सफल यस प्रतियोगितामा कुल ६० खेल हुनेछन् र त्यसको आयोजना फरक मैदानमा हुनेछ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले सन् २००८ बाट सुरु गरेको प्रतियोगिता विश्वकै सर्वाधिक लोकप्रिय घरेलु लिग बनेको छ । खेल मिलेमतो र आर्थिक अनियमिताका कारण यसले बदनामी खेप्नु परे पनि यसको लोकप्रियतामा भने कमी आएको छैन । स्पट फिक्सिङकै कारण चेन्नई सुपर किङ्स र राजस्थान रोयल्स दुई वर्ष प्रतिबन्धमा परेका थिए । फ्रान्चाइजका आधारमा चल्ने प्रतियोगितामा सनराइजर्स हैदराबाद, रोयल च्यालेन्जर्स बैंगलोर, मुम्बई इन्डियन्स, राजस्थान रोयल, चेन्नई सुपर किङ्स, दिल्ली डेयरडेविल्स, किङ्स इलाभेन पन्जाब र कोलकाता नाइटराइडर्स सहभागी छन् । सहभागी टोलीले ‘होम एन्ड अवे’का आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

आईपीएलमा लिग चरणका खेलहरू डबल राउन्ड रोविनका आधारमा हुनेछ । यस्तै प्लेअफका खेलहरू भने नकआउटका आधारमा खेलाइनेछ । प्रत्येक टिममा अक्सनबाट भारतीय तथा विदेशी खेलाडी अनुबन्ध गरिएको थियो; जसमा इङ्ल्यान्डका बेन स्टोक्सलाई प्रतियोगिताकै सर्वाधिक साढे पाँच करोड भारुमा राजस्थान रोयल्सले खरिद गरेको थियो । आईपीएलको अघिल्लो संस्करणमा पनि स्टोक्स नै सर्वाधिक महँगो खेलाडीमा दरिएका थिए । भारतीय खेलाडीमा भने जयदेव उनादकड सर्वाधिक महँगा खेलाडी बने । उनले राष्ट्रिय टोलीका वर्तमान कप्तान विराट कोहली, कप्तान ‘कुल’को परिचय बनाएका महेन्द्रसिंह धोनी लगायतका खेलाडीलाई पछि पार्दै महँगा खेलाडी बने । उनलाई आफ्नो टोलीमा पार्न राजस्थान रोयल्सले साढे ११ करोड भारु खर्चिएको थियो । त्यसपछि भारतकै केएल राहुल, मनीष पाण्डे तथा अस्ट्रेलियाका ब्याट्सम्यान क्रिस लिन पाँच महँगा खेलाडी बने ।

आईपीएलमा अहिलेसम्म सबैभन्दा सफल टोलीमा मुम्बई इन्डियन्स मानिन्छ । १०औं संस्करणसम्म मुम्बईले तीनपटक उपाधि जितिसकेको छ । भारतीय धनाढ्य मुकेश अम्बानीको टोली मुम्बई इन्डियन्स साविक विजेता पनि हो । गत संस्करणमा पुने सुपरजाइन्टलाई पराजित गर्दै मुम्बईले उपाधि जितेको थियो । रोहित शर्माको कप्तानीमा रहेको मुम्बईले युवा खेलाडीका भरमा प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।

यसैगरी अर्को सफल टोली हो, चेन्नई सुपर किङ्स । स्पट फिक्सिङको आरोपमा दुई वर्ष प्रतिबन्धमा परेको चेन्नई पनि दुईपटक उपाधि जितिसकेको छ । यसबाहेक विगत दुई संस्करणबाहेक हरेक संस्करणमा प्लेअफ खेलेको छ । यस्तै कोलकाता नाइट राइडर्सले दुई, डेक्कन चार्जस् एक, राजस्थान रोयल एक र सनराइजर्स हैदराबादले एकपटक उपाधि जितेका छन् । चेन्नई र राजस्थान प्रतिबन्धमा परेपछि राजकोट र पुनेले खेल्ने अवसर पाएका थिए । पुने राइजिङ सुपर जाइन्टर्स र गुजरात लायन्सका नाममा दुई संस्करण प्रतिस्पर्धा गरेका थिए ।

आईपीएलमा सर्वाधिक रन रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहलीले बनाएका छन् । उनले अहिलेसम्म चार हजार ६ सय १९ रन बनाइसकेका छन् । यसैगरी सर्वाधिक विकेट लिने खेलाडीमा मुम्बई इन्डियन्सका पूर्वखेलाडी लासिथ मालिंगा अग्रस्थानमा छन् । उनले एक सय ५४ विकेट लिएका छन् । मालिंगाले यस संस्करणमा भने खेलेका छैनन् । खेलाडी खरिदबिक्रीमा उनलाई यसपटक कुनै पनि टोलीले किनेन ।

आईपीएलको शीर्ष दुई टोलीले अर्को चर्चित टीट्वेन्टी लिग ‘च्याम्पियन्स लिग’मा प्रतिस्पर्धा गरिराखेका छन् । आईपीएल इङ्ल्यान्डको चर्चित ‘प्रिमियर लिग’ र अमेरिकाको ‘एनबीए लिग’कै फरम्याटमा सञ्चालन गरिएको छ । १३ सेप्टेम्बर २००७ मा बीसीसीआईले आईपीएलको घोषणा गरे पनि प्रतियोगिता भने २००८ को अप्रिलमा मात्र सुरु भएको थियो । सुरुमा आठ टोलीबीच प्रतिस्पर्धा भए पनि सन् २०१० मा दुई नयाँ टोलीलाई समावेश गरिएको थियो । पुने वारियर्स र कोची टस्करर्स केरलालाई समावेश गरिएको थियो । सन् २०१३ मा पुने वारियर्सले आईपीएल नखेल्ने निर्णय गर्‍यो ।

सन् २०१७ को संस्करणमा आईपीएलमा नगद पुरस्कारमा ४० करोड भारु खर्चिएको थियो; जसमा विजेताले १५ करोड र उपविजेताले १० तथा तेस्रो हुने टोलीले साढे सात करोड भारु जिते ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.