के को हतारो ?
बिहानको झन्डै १० बज्न थालेको छ । अर्थात्, ‘अफिस टाइम’ भएको छ । सवारीसाधन तीव्र गतिमा ओहोरदोहोर गरिरहेका छन् । ट्राफिक लाइट छैन । तीनजना युवती जेब्रा क्रसिङमा उभिएका छन् । बाटो काट्न खोजिरहेछन् उनीहरू तर गाडी रोकिँदैन । केहीबेर उभिएपछि गाडी रोक्न इसारा गर्दै उनीहरू अघि बढ्छन् । एउटा बाइक तीन युवतीको छेउमा घच्याक्क रोकिन्छ । उनीहरू तर्सिन्छन् । तीनमध्ये एकले गाली गर्छे, ‘जेब्रा क्रसिङमा रोक्नुपर्छ भन्ने ज्ञान छैन ? कस्तो हतार परेको ? ’ तीनकुनेस्थित बागमती पुलनजिकै गत सोमबारको दृश्य हो यो ।
तीनकुनेमा मात्र होइन, काठमाडौंका चोकचोकमा पैदलयात्रीलाई चिढ्याउने यस्ता दृश्यहरू प्रशस्तै देखिन्छन् । मान्छे हिँड्ने साँघुरो गल्लीमा बाइक कुदिरहेका हुन्छन् । कसैकसैले त हर्न बजाउँदै सडकपेटीमै दौडाइरहेका हुन्छन् । अलिकति खाली बाटो देख्न हुँदैन कानै खाने आवाजमा हुइँक्याउँछन् । खाल्डाखुल्डी केही नभनी एक्सिलेटर दबाउँछन् । डरै लाग्ने गरी ‘ओभरटेक’ गर्छन् । सडक पार गरिरहेको मान्छेलाई वास्तै नगरी तीव्र गतिमा हाँक्छन् । ‘काठमाडौंको युवावर्ग ‘हाई स्पिड’मा जथाभावी बाइक हाँक्ने गर्छ । यसले दुर्घटना निम्त्याउँछ’, डीएसपी मुकुन्द मरासैनी भन्छन् । तन्नेरी पुस्ताले बढी ‘जिकज्याक’ बाइक चलाउने गरेको उनले बताए । भन्छन्, ‘सवारीसाधनहरूले रोड अनुशासन पालना गर्नुपर्छ ।’
कहिलेकाहीँ हतारमा हुने भएकाले बढी कुदाउनुपर्ने बताउँछन्, यमराज लिम्बू । कलंकी बस्दै आएका लिम्बू भन्छन्, ‘साधन छँदैछ भनेर बाइकवालाहरू बाहिर हिँड्नुपर्दा पनि ढिलो हिँड्छन् । ढिलो भएपछि धेरै कुदाउनु परिहाल्यो ।’ बाइकवालाहरू बढी नै हतारोमा हुने गरेको कुरा स्वीकार्छन् उनी ।
यमराजले बाइक हाँक्न थालेको लगभग चार वर्ष पुगिसक्यो । बाइक नहुँदा उनी गाडीमा हिँड्थे र बाइकवालाको हतारोलाई आलोचना गर्थे । धेरै दौडाएको, गल्लीहरूमा बाइक छिराएको उनलाई मन पर्दैन थियो । बेलाबेलामा गाली पनि गर्थे । ‘धेरै बाइकवालाहरूको हर्कत अहिले पनि मन पर्दैन’, उनले भने, ‘तर, कहिलेकाहीँ चाहिँ समस्या नै पर्दाे रहेछ ।’
मान्छे हिँड्ने साँघुरो गल्लीमा बाइक कुदिरहेका हुन्छन् । कसैकसैले त हर्न बजाउँदै सडकपेटीमै दौडाइरहेका हुन्छन् । अलिकति खाली बाटो देख्नु हुँदैन, कानै खाने आवाजमा हुइँक्याउँछन् । खाल्डाखुल्डी केही नभनी एक्सिलेटर दबाउँछन् । डरै लाग्ने गरी ‘ओभरटेक’ गर्छन् ।
‘एम्बुलेन्स आयो भने पनि बाटो नछाडी दौडाउँछन्’, विजय लिम्बू भन्छन् । कलंकी बस्दै आएका विजयले पनि तीनचार वर्ष भयो बाइक हाँक्न थालेको । उनी पनि कहिलेकाहीँ बढी नै दौडाउँछन् । खाली सडक भयो भने कुदाउन मन लाग्ने सुनाउँछन् । ‘बाइक कुदाउन मजा पनि हुन्छ । यो यात्रा गर्ने साधन मात्र हैन’, उनले भने । जेब्रा क्रसिङतिर चाहिँ आफूले सर्वसाधारणलाई नै प्राथमिकता दिने गरेको बताउँछन् ।
कारण फरकफरक हतारो सबैलाई हुन्छ । हतारिनुको पनि आफ्नै कारण हुन्छन् । कतै कार्यक्रममा सुरु भइसकेको हुन सक्छ । अस्पतालमा एमर्जेन्सी हुन सक्छ । आफन्तले पर्खिरहेको हुन सक्छ । कलेजमा क्लास सुरु भइसकेको हुन सक्छ । समग्रमा, कतै पुग्न एकदमै ढिलो भइसकेको हुन सक्छ । अवस्था अनेकथरी हुन सक्छ ।
यस्तै अवस्थाहरू बाइकवालालाई आइपर्दैनन् भन्न सकिन्न । ‘हतारोका कारणहरू विभिन्न हुन्छन् तर कहिलेकाहीँ हतार नै नभए पनि कुदाइन्छ,’ शिरीष श्रेष्ठ भन्छन् । कहिलेकाहीँ त अहम्ले पनि ठूलो भूमिका खेल्ने बताउँछन्, शिरीष । कसैले आफ्नै छेउबाट बाइक हुइँक्यायो भने त्यसलाई ‘ओभरटेक’ गर्न पनि छिटो बाइक कुदाएको अनुभव छन् उनीहसँग । ‘सडकमा एकअर्कालाई ओभरटेक गरेर अघि बढ्नेहरू धेरै हुन्छन्,’ उनले भने, ‘आफूलाई उछिनेर अघि बढ्ने कोही–कोहीसँग चाहिँ एकदमै रिस उठ्छ । त्यसपछि आफूले पनि दौडाइन्छ ।’
खाली बाटो देख्दाचाहिँ त्यत्तिकै पनि कुदाउन मन लाग्ने बताउँछन्, यमराज । ‘खाली बाटो देखेपछि एक्सिलेटर दबाउन मन लागिहाल्छ,’ उनले भने, ‘बाइक कुदाउन कहिलेकाहीँ कारण नै चाहिँदैन ।’ बाइक कुदाउँदा पनि मोबाइलमा ‘गेम’ खेल्दाजत्तिकै मजा आउने उनले बताए । भन्छन्- लामो यात्रा गर्दा पो गाह्रो हुन्छ । यताउता बरालिँदा त मजा हुन्छ । जति कुदायो उति मजा।
बाइकवालाहरू हतारमा देखिने कारणहरू अनेक हुन्छन् । ड्रिङस गरेर चलाउँदा पनि बाइक धेरै दौडाउने गरेको अनुभव पोख्छन् केही ‘राइडर’हरू । साथीहरूसँग ग्रुपमा यात्रा गर्दा बाइक धेरै कुदाइने सुनाउँछन्, विजय । साथीहरूसँग स्वाभाविक रूपमा बाइकको स्पिड बढ्ने बताउँछन् । भन्छन्, ‘अर्को साथीले कुदाएको देखेर पनि एक्सिलेटर दबाइन्छ ।’
‘मान्छे नै हानुँला झैँ गरेर कुदाउँछन्,’ माधव खड्का भन्छन् । ताहाचल बस्दै आएका खड्का पैदलयात्री हुन् । हतारमा भए पनि पैदलयात्रुलाई बाटोमा प्राथमिकता दिनुपर्ने उनको सुझाव छ । भन्छन्– विस्तारै हाँके पनि ठाउँमा त पुगिहालिन्छन् नि !
एसिडेन्टको अनुमान
दुर्घटनाका अनेक कारण हुन सक्छन् । दुर्घटनाका बारेमा आफूहरूले पनि प्रशस्तै सोच्ने गरेको बताउँछन्, बाइकवालाहरू ।
प्रत्यक्ष दुर्घटना नै देखियो भने त बाइक हाँक्न झनै सचेत हुने गरेको सुनाउँछन्, वाइक राइडरहरू । दुर्घटनाको जोखिमहरूबारे पनि उनीहरूले बुझेका छन् । दुर्घटना नहुन्जेल आत्मविश्वासले बाइक कुदाउने गरेको विजय बताउँछन् । ‘मेरो त अहिलेसम्म एसिडेन्ट परेको छैन,’ उनले भने, ‘म सकेसम्म होसियारीपूर्वक नै हाँक्छु ।’ उनले एसिडेन्टहरू चाहिँ थुप्रै देखेका छन् । भन्छन्– हतार गर्नेहरू नै बढी एसिडेन्टमा पर्छन् ।
आर्थिक वर्ष २०७३÷७४ मा मात्रै ३५५ वटा बाइक दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले बताएको छ । अन्य सवारीसाधनहरूका दुर्घटनाको दर पनि कम छैन । बसमात्रै दुई सय दुई वटा दुर्घटनामा परेका थिए । एक सय ४७ वटा ट्रक दुर्घटना भएको थियो । त्यस्तै दुई सय ७४ वटा कार÷जिप÷भ्यान दुर्घटना भएको थियो ।
बाइक दुर्घटनाको दर उकालो लागिरहेको बताउँछन्, डीएसपी मुकुन्द मरासैनी ।
रोड अनुशासन पालना नगर्नु दुर्घटनाको मुख्य कारण देखाउँछन्, मरासैनी । ‘ओभरस्पिड मुख्य समस्या हो,’ उनले भने, ‘मापसे गरेरै पनि बाइक चलाइन्छ । त्यसो भएपछि दुर्घटनाको दर बढ्नु स्वाभाविक नै हो ।’ विशेषगरी युवा वर्ग दुर्घटनाको सम्भावनालाई ख्यालै नगरी बाइक चलाउने गरेको उनले बताए । भन्छन्– हाइस्पिडका लागि काठमाडौंको सडक एकदमै घातक छ ।