पेन्टिङ, पोट्रेट र रङहरू

पेन्टिङ, पोट्रेट र रङहरू

पाटनको लगनखेलमा हुर्केकी हुन्, एरिना ताम्राकार । उनको घरमा तामाका भाँडा बनाउने काम गरिन्थ्यो, त्यो बेला । तामाका भाँडा बनाउँदा आउने धुन गजब मन पथ्र्यो, उनलाई । त्यसमा कोरिएका चित्र र रङसँग वेहद प्रेम थियो । बुवाले चित्र कोर्ने गरेको उनले देखेकी थिइन् । सायद बुवाको त्यही छाप उनमा पनि सर्‍यो । घरको सानो पसलमा बसेर घन्टौंसम्म चित्र बनाउन दत्तचित्त रहन्थिन् उनी ।

सानो भाइलाई स्कुलमा लैजानका लागि माटोबाट विभिन्न आकारका चित्रहरू बनाइदिने गर्थिन् । एक दिन उनको बुवाले उनले चित्र बनाउँदै गरेको देखे । त्यसपछि एरिनालाई एसएलसीपछि ललितकला क्याम्पसमा भर्ना गरिदिए । उनले निकै तनमनले कलेजमा चित्रकारितासम्बन्धी सैद्धान्तिक र व्यावहारिक ज्ञान सिक्न थालिन् ।

यसरी सानैदेखि अन्तरकुन्तरमा लुकेर रहेको आर्टिस्ट बन्ने एरिनाको चाहना पूरा भएको थियो । उनी हाल पूर्ण समय पेन्टिङमा समर्पित छिन् । क्याम्पस पढ्ने बेलामै उनले सरसफाइ विषयमा एउटा चित्र बनाएर एक सय रुपैयाँ पुरस्कार जितेकी थिइन्, यो नै उनको जीवनमा आफ्नो कलाको पौरखले कमाएको पहिलो कमाइ थियो । केही वर्षअघि एउटा पेन्टिङ दुई लाख रुपैयाँमा बिक्री भएको पल उनका लागि अविस्मरणीय रूपमा रहेको छ ।

पाटन, मंगलबजारमा जन्मेका आशा डंगोलले पाटन दरबार स्क्वायरमा बनाइएका विभिन्न कला र चित्र हेरेर बाल्यकाल विताएका थिए । स्कुल पढ्दा पनि कापीमा चित्र कोरेरै समय बिताउँथे उनी । चित्रप्रति मोह देखेर उनकी आमाले नेत्रराज वज्राचार्यसँग चित्र बनाउने कला सिक्न पठाइन्।

एक चित्र प्रदर्शनीमा डंगोलको पेन्टिङ पनि राखिएको थियो, जसको मोल नौ हजार रुपैयाँ राखिएको थियो । एकजना केन्याका विदेशीले मन पराएर १० हजारमा उक्त पेन्टिङ किने । सन् १९९६ ताकाको त्यो पैसा उनका लागि एक लाख बराबरको लागेको थियो । उनी भन्छन्, ‘आफ्नो मेहनतको फल सानै भए पनि एकदमै विशेष लाग्ने रहेछ ।’

आशा र एरिना ललितकला क्याम्पसमा अन्तिम वर्षमा पढ्दै थिए । त्यहाँ पढ्ने विद्यार्थीहरूबीच राम्रो सल्लाह र सहयोग हुन्थ्यो । एरिना हरेक स्केचमा निकै मेहनत गर्थिन् । कलेजका सिनियर साथी थिए, प्रशान्त श्रेष्ठ । श्रेष्ठको अगुवाइमा सन् १९९४ मा काष्ठमण्डप आर्ट स्टुडियो स्थापना भयो । त्यति बेला सातजना मिलेर सँगै बसेर आर्ट बनाउँथे, कमाइ पनि बाँडेर लिए । आशा र एरिना पनि सोही ग्रुपमा बसे । प्रदीप वज्राचार्य, भाइराजा महर्जन, प्रमिला वज्राचार्य, विनोद प्रधान, सुनिला वज्राचार्य पनि थिए, समूहमा । सबैमा केही गर्ने तीव्र उत्साह थियो ।

सन् १९९९ मा गु्रपका अग्रणी प्रशान्त श्रेष्ठको निधन भयो । हौसला बढाउने व्यक्तिको खालीपनले उनीहरूलाई झन् बढी काम गर्नुपर्छ, प्रशान्त दाइको सपना पूरा गर्नुपर्छ भन्ने लाग्यो । अहिले पनि यो स्टुडियोमा पाँचजना आर्टिस्ट मिलेर काम गरिरहेका छन् । यो टोली पेन्टिङ बनाउन विभिन्न गाउँ, सहर चहार्छ । करिब २२ वर्षदेखि सँगै काम गरिरहेका छन् उनीहरू ।

एरिना भन्छिन्, ‘दुई वर्ष त यही स्टुडियोभित्र भूमिगतजस्तै बनेर निरन्तर पेन्टिङ बनाइरहे ।’ सन् १९९६ मा राष्ट्रिय कला प्रदर्शनी भयो । यसमा उनीहरूको गु्रपले पहिलोपटक सहभागिता जनायो । सन् १९९८ मा दरबारमार्गमा पहिलोपटक संयुक्त रूपमा कला प्रदर्शनी गरे । चित्रकलाकै माध्यमबाट उनीहरू सहरमा विस्तारै चिनिन थाले, हौसलास्वरूप पुरस्कार पनि थाप्दै गए । सन् १९९९ मा रानी ऐश्वर्यको हातबाट एरिनाले पुरस्कार प्राप्त गरिन् । आशालगायत धेरैले विभिन्न अवार्डहरू पाए । पेन्टिङ पनि अलिअलि गर्दै बिक्न थाल्यो । यसरी यो गु्रपको पहिचान सहरमा विस्तारै बढ्दै गयो । यसले उनीहरूमा पेन्टिङप्रति अभिरुचि झन् बढेर गयो ।

अनि जोडियो गाँठो

कलामोहले एरिनालाई यसबिना बाँच्न सकिन्नजस्तो लाग्थ्यो । उनले आफ्नो समुदायका धेरै केटीहरू विवाहपछि घरमै सीमित भएको देखेकी थिइन् । यसले उनलाई बिहे नगरौंजस्तो लाग्थ्यो ।

एरिनाले पेन्टिङमा डुबुल्की मारेर गहिराइमा पुगेको आशालाई निकै मन पर्‍थ्र्यो । उनले पनि यसमै समर्पित भएको जीवनसाथी खोजेका थिए । एउटै पेसाको भएमा जीवन चलाउन पनि सजिलो हुने र आफ्नो काममा सहयोग हुन्छ भन्ने उनको बुझाइ थियो ।

पेन्टिङमा राम्रो सीप र दक्षता बढाउन आशाले पाँच वर्षसम्म त घर जानै छाडिदिए । स्टुडियोमै सुत्थे उनी । दिनभर कोठामा बसेर स्केच बनाउँथे । महिना दुई महिनामा एकाधपटक घर जान्थे । उनी पनि पेन्टिङमा अत्यन्त तल्लीन भएको देख्दा एरिनालाई बिस्तारै माया लाग्न थाल्यो । आफूलाई जिस्क्याइरहने र झगडा गरिरहने आशा नै जीवनसाथी बन्छन् भन्ने उनले सोचेकी थिइनन् । तर, कलाले जोडियो लगनगाँठो ।

कुपण्डोलमा छ, उनीहरूको आर्ट स्टुडियो । त्यही स्टुडियोमा ‘प्रेम प्रस्ताव पहिले कसले राख्यो त ? ’ भन्ने पंक्तिकारको प्रश्नमा एरिना र आशा दुवैले एकअर्कालाई औंल्याए । एकछिन हाँसोको फोहरा छुट्यो ।

पेन्टिङ बनाउने कक्षभित्र पोट्रेट र रङहरू छरिएका छन् । केही पूर्ण र केही अपूर्ण पेन्टिङ सुकाइएका छन् । कलामय छ यहाँको माहोल । चाँडै सुरु हुने एरिनाको एकल कला प्रदर्शनीका लागि पेन्टिङहरूको संग्रह गरिएको थियो । त्यसैले भित्ताभरि पेन्टिङका स्केचहरू झुन्ड्याइएको छ ।

पेन्टिङ बनाउने क्रममा काष्ठमण्डप आर्ट स्टुडियोलाई जीवित बनाउन लाग्दा पत्तै नपाइ उनीहरूको प्रेम बस्यो । सन् २००२ मा उनीहरूले बिहे गरे । अहिले एक छोराको साथमा उनीहरू सुन्दर जीवन बिताइरहेका छन् ।

पेन्टिङको प्रदर्शनी तथा आर्टसम्बन्धी विभिन्न कार्यक्रममा सहभागी हुन उनीहरू फ्रान्स, भियतनाम, इन्डिया, थाइल्यान्ड, श्रीलंका, भुटान, सिंगापुर, मलेसिया, इन्डोनेसिया, यूएसजस्ता देश पुगिसकेका छन् । उनीहरूको पाँचजनाको समूहले पनि विभिन्न सोलो प्रदर्शन गरिरहन्छ । 

एरिनाले कोरियाबाट फेलोसिप पाएर सन् २००८ मा ६ महिने कोर्स पनि गरेकी छन् । यो दम्पतीले फाइन आर्टमा मास्टर्स गरेको छ । मास्टर्सको थेसिस बुझाउने क्रममा आशाले नेपाली र नेवारी संस्कृतिका बारेमा गहन अध्ययन र अनुसन्धान गरे । यसले उनीहरूलाई कलामा थप नयाँ जानकारी प्राप्त भयो ।

एरिना महिलाका संवेदनशील विषयमा बढी चित्र बनाउँछिन् भने आशाका चित्रमा विविधता पाइन्छ । कुनै पेन्टिङ दुई दिनमै पनि तयार हुन्छ, कुनै महिनौं दिनसम्म पनि पूरा हँदैन । सिक्ने क्रममा एउटै पेन्टिङ ३७ पटकसम्म मेटाएको एरिनाको अनुभव छ ।

‘अहिले यो क्षेत्रमा आम्दानी पनि राम्रो छ । कलामा सबै क्षेत्रको लगाव बढ्दैछ । जिन्दगी मजाले चलिरहेको छ’, आशा भन्छन् । विदेशी आर्टिस्टहरूको सर्कलमा पनि उनीहरू जोडिएका छन् । आशाले बनाएका आर्ट विदेशमा बढी बिक्छ । एरिनाले बनाएका पेन्टिङ पनि विदेशमा नबिक्ने होइन, तर नेपाली बजारमा पनि उनको पेन्टिङको माग बढ्दो छ । तुलनात्मक रूपमा एरिनाको पेन्टिङ बढी बिक्ने आशाले बताए ।

दुवैजना स्टुडियोमा बसेर पेन्टिङ बनाइरहँदा एकअर्कालाई आर्टिस्टका रूपमा हेर्छन् । केही चित्र संयुक्त रूपमा पनि बनाएका छन् । पेन्टिङ बनाएर पूरा नगरी अन्य काममा लाग्नु पर्‍यो भने एरिनालाई सकस हुन्छ । पूरा रात, पूरा दिन पेन्टिङ बनाइरहूँजस्तो लाग्छ । बुझ्ने जीवनसाथी र परिवार पाएकोमा उनी अत्यन्त खुसी छन् ।

सन् २००१ मा एरिनाले एकल प्रदर्शनी गर्दा अर्को वर्ष आशाले पहिलो एकल सोलो प्रदर्शनी गरे । २००२ मा सोलो प्रदर्शनी गरेकै वर्ष बिहे गरेका उनीहरूको प्रेमकथा पनि पेन्टिङसँगै जोडिएको छ । घर छाडेर स्टुडियोमै बस्न थालेपछि एरिनाले निकै सहयोग गरेको आशा सम्झन्छन्, ‘मसँग पैसा हुन्नथ्यो, एरिनाको आर्ट बिक्न थालेको थियो । पैसा दिएर सहयोग गर्थिन् । हरेक कुरामा सहयोग गर्ने, केयर गर्ने एरिनाको गजबको बानी थियो ।’

एरिना भन्छिन्, ‘हरेक कुरामा सहयोग र साथ आशाको विशेषता हो ।’ कहिलेकाहीँ एकअर्कामा इगो पनि आउने गर्छ । तर, दुवैले कन्ट्रोल गर्छन् । आशा भन्छन्, ‘सम्झौता हरेक अवस्थामा गर्न सक्नुपर्छ । अझ वैवाहिक सम्बन्धमा त यो जरुरी हो ।’

पेन्टिङबाटै उनीहरूले मनग्गे शुभचिन्तक कमाएका छन् । अचेल व्यापारिक भवन तथा बैंकहरूले समेत आर्टहरूको माग गरिरहेका हुन्छन् । आफूहरूले कोरेको सिर्जना जताततै देख्दा आफ्नो पेसाप्रति गर्व मान्छन् उनीहरू । आर्ट सिकेर कहिल्यै पूरा नहुने र हरेकपटक नयाँ सिर्जना दिन पाइने उत्कृष्ट पेसा भएकाले हरेक दिन नयाँ हुने उनीहरूको भनाइ छ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.