सैलुन संसार

सैलुन संसार

सैलुन १

गौशालानजिकै बागमती किनारामा एउटा खुला सैलुन छ । सडकछेउ रेलिङमा बाँसको कप्टेरोमा ऐना अड्याइएको छ । मजदुरजस्ता देखिने युवा तथा वृद्धहरू कपाल काट्न लाम लागेका छन् । गाडीको चर्को हर्न र भीडभाडको मतलव नगरी १८ वर्षे दीपेन ठाकुर औंलामा कैंची नचाइरहेका छन् । पुलुक्क हेर्दै उनी भन्छन्, ‘सटरमा सैलुन चलाउन पुँजी छैन । यहाँ भाडा तिर्नु पर्दैन ।’

दीपेनको घर सप्तरी, राजविराज हो । बुवाआमासहित गौशालामा बस्दै आएका उनले पढेका छैनन् । उनका बुवा काम नगरी रक्सी खाएर हिँड्छन् । आमा र भाइ पाल्ने जिम्मा उनको काँधमा छ । भन्छन्, ‘के गर्नु मजबुरी छ ।’

दीपेन ग्राहकको दाह्री काट्न सेतै क्रिम लगाइरहेका हुन्छन् । त्यहीबेला आइपुग्छ नगर प्रहरी । थपिन्छ अर्को मबजुरी । हाँस्दै सुनाउँछन्, ‘त्यसबेला ग्राहकको मतलव नगरी भाग्नुपर्छ, भागेन भने समाएर लान्छ । चार पटक त लगिसक्यो ।’ दीपेनले डरैडरमा फुटपाथमा सैलुन चलाउन थालेको एक वर्ष भयो ।

सैलुन २

सिनामंगलस्थित केएमजी अस्पताल नजिकै गंगा हेयर एन्ड ड्रेसर छ । जसका सञ्चालक हुन्, ५० वर्षीय गंगा ठाकुर । उनले त्यहाँ सैलुन खोलेको ३५ वर्ष पुग्यो । बारा गडिमाईका उनले सैलुन पेसाबाटै हुर्काए ३ छोरी र एक छोरा । दीपेनलाई जस्तो गंगालाई त्यति मुस्किल छैन । दीपेनभन्दा फरक उनले मासिक सात हजार भाडा तिर्नुपर्छ । नियमित ग्राहक छन् केही । भन्छन्, ‘जसोतसो जीविका चलेकै छ ।’

सैलुन ३

सैलुनको अर्को पनि तह छ । त्यो हो ठूल्ठूला विल्डिङमा फ्ल्याट भाडामा लिएर सैलुन सञ्चालन गर्नेहरू । यस्तैमध्येका एक हुन्, राजविराजका मुकेश देव । कीर्तिपुरस्थित ट्याङ्लाफाँटमा चार तले घरको दोस्रो तलामा छ, उनको सैलुन । नाम राखेका छन्, ‘हेयर स्टुडियो ।’

मुकेश यूएईमा पाँच वर्ष बसेर आए । त्यसपछि हजाम पेसामा लागे । डेकोरेसन भव्य छ । उनीसँग तीन जना कामदारसमेत छन् । केही महिनापछि ६ जनासम्म कामदार राख्ने सोचमा छन्, उनी । विदेश नजाने सोचमा पुगेका उनी भन्छन्, ‘पाँच वर्ष विदेश बसियो । अब नेपालमै केही गर्ने सोच्दैछु ।’

नेपालमा हाल प्रयोगमा आएका तीन तहका सैलुन हुन् यी । माथिका उदाहरण नेपाली हजामकै हुन् । भारतीय मूलका हजाम मिडियासँग बोल्न चाहँदैनन् ।

नेपाल नाई ट्रेड युनियनका अध्यक्ष गजेन्द्र ठाकुरका अनुसार उपत्यकामा मात्रै करिब चार हजार सैलुनमा १० हजार कामदार छन् । जसमध्ये ८० प्रतिशत भारतीय नागरिक रहेको उनको अनुमान छ ।

सैलुन पेसा सहर, गाउँ जताततै देख्न सकिन्छ । नेपाल नाई टे«ड युनियनका अध्यक्ष गजेन्द्र ठाकुरका अनुसार उपत्यकामा मात्रै करिब चार हजार सैलुनमा १० हजार कामदार छन् । जसमध्ये ८० प्रतिशत भारतीय नागरिक भएको उनको अनुमान छ । मासिक २० हजार कमाउन नेपाली युवा वैदेशिक रोजगारमा लर्को लागिरहेको बेला धेरै शारीरिक       श्रम गर्न नपर्ने पेसामा भारतीय नागरिकको वर्चस्व छ । उनीहरूले नेपालका चोकचोकबाट करोडौं रुपैयाँ भारत लगिरहेका छन् ।

सैलुनको इतिहास

विश्व इतिहासमा ‘हेयर ड्रेसर’ (नाई) शब्दको पहिलोपटक प्रयोग भने १७औं शताब्दीमा युरोपबाट सुरु भएको बताइन्छ । त्यसपछि हेयर ड्रेसरको नामबाट हजाम पेसाले व्यावसायिक रूप लियो । २०औं शताब्दीबाट भने महिलाका लागि समेत ब्युटी सैलुन र पार्लरहरू खुल्न थाले ।

सिन्धुघाटी सभ्यताको उत्खनकर्ताहरूले दाह्री काट्ने ढुंगाका हतियार फेला पारे । त्यसैले, केश काट्ने प्रथाको उद्भव यसैबेलादेखि नै सुरु भएको अनुमान उनीहरूले गरेका छन् । कालान्तरमा दक्षिण एसियाली समाजमा हजाम पेसासँग वर्ण व्यवस्था जोडियो । जमिनदार राजा महाराजाको घरघरमा गएर दाह्री, कपाल काट्ने काम हजामहरूले गरे । मानिसको मृत्यु, बिहे, व्रतबन्धलगायतका कर्ममा नङ र कपाल काट्न हजामहरूलाई बोलाउन थालियो । गंगा ठाकुरका अनुसार हजाम पेसा अपनाउनेलाई मधेसका कतिपय स्थानमा अछूतको रूपमा व्यवहार गरिन्छ ।

मधेसमा मानिसको मृत्यु हुँदा कपाल खौरिने काम ठाकुरले गर्छन् । मृत्युकर्मसँगै बिहे गर्दा त्यहीँ गएर कपाल, नङ काट्ने चलन छ । यद्यपि अहिले त्यो चलन हराउँदै गएको छ । बाली प्रथासँग दाँज्न मिल्ने गरी ठाकुरलाई एक वर्षमा एक पटक उक्त घरले दुई बोझा धान दिन्थ्यो । गंगा भन्छन्, ‘त्यो दुई बोझा धानमा मुस्किलले १० किलो धान हुन्थ्यो । वर्षभरि कपाल काटेबापत त्यही नै पाइन्थ्यो । पछि विस्तारै त्यो परम्परा हामीले मानेनौं ।’ उपत्यकामा नेवार समुदायभित्र नापित थरका नेवार समुदाय अस्तित्वमा छ, जसलाई जयस्थिति मल्लले वर्ण व्यवस्थामा समाज विभाजन गर्दा उपथर दिएका थिए ।

कस्तो छ कमाइ ?       

रोजगार र सम्भावना बोकेको सैलुन पेसा अरू दिनभन्दा शनिबार र चाडपर्वमा राम्रो कमाइ हुन्छ । दीपेनको अरूकोभन्दा कम आम्दानी छ । भन्छन्, ‘दिनको चार सयसम्म कमाइ हुन्छ ।’ उनको खुला सैलुनको रेट अन्यको भन्दा फरक छ । उनी कपाल काटेको ६० रुपैयाँ लिन्छन् र दाह्री काटेको ४० रुपैयाँ । गंगाको सैलुनमा भने रेट फरक छ । उनी कपाल काटेको ८० रुपैयाँ र दाह्री काटेको ६० रुपैयाँ लिन्छन् । उनी सरदर दैनिक सात सयसम्म कमाउँछन् । शनिबार दुई हजारसम्म कमाइ हुन्छ ।

हेयर स्टुडियोका सञ्चालक देव अरूले भन्दा बढी कमाउँछन् । उनको हेयर स्टुडियोमा नाई संघको दररेटले छोएको छैन । उनी कपाल काटेको एक सय २० र दाह्री काटेको ८० रुपैयाँ लिन्छन् । दररेट तोक्ने जिम्मा नाई संघको भए पनि सबैले त्यो लागू गरेका छैनन् । फुटपाथमा सैलुन चलाउने र ठूला मलहरूमा सैलुन चलाउनेहरूले मन परी रेट तोक्ने गरेको गंगा बताउँछन् ।

सैलुन सञ्चालन गरिरहेका भारतीय नागरिकले मासिक कति कमाउँछन्, हत्तपत्त भन्न मान्दैनन् । भनिहाले पनि एकदमै थोरै मात्रै बताउँछन् । नेपाली नागरिक सहज नै कमाउने भएपछि उनीहरूको संख्या धेरै भएकाले नेपालबाट कपाल काटेरै वार्षिक कति रुपैयाँ भारत पठाउँछन्, राज्यको कुनै निकायलाई थाहा छैन । देशभर कति सैलुन सञ्चालित छन् ?       राज्यको कुनै निकायसँग तथ्यांक छैन ।

ट्रेड युनियनका अध्यक्ष गजेन्द्र भन्छन्, ‘तराईका गाउँगाउँमा भारतीय हजाम छैनन् तर सहरी इलाकामा जताततै छन् । पहाडी इलाकामा भारतीय हजामहरूको एकछत्र राज नै छ ।’ सैलुनलाई नियमन गरेर करको दायरामा ल्याउनुपर्नेमा उनी जोड दिन्छन् ।

हजाम पेसा स्वास्थ्यसँग समेत सम्बन्धित भएको अध्यक्ष ठाकुर बताउँछन् । भन्छन्, ‘अशिक्षित हजामहरूले मनपरी काम गरिरहेका छन् । यसप्रति कसैको चासो छैन । क्रिम प्रयोग गर्ने, कपालमा रंग लगाउने जस्ता काममा सावधानी अपनाउनुपर्छ । त्यो भइरहेको छैन । त्यसले मानवीय स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ ।’ त्यसका लागि राज्यले नै नियम बनाउनुपर्ने उनी बताउँछन् ।

सैलुन सञ्चालन गर्न नाई संघमा आबद्ध भएर नगरपालिकामा दर्ता गर्नुपर्ने प्रावधान छ । संघमा दर्ता गर्दा ६ हजार रुपैयाँ तिर्नुपर्छ । त्यो पैसा अक्षयकोषमा जम्मा गर्ने चलन छ । भवितव्य हुँदा त्यो रुपैयाँले गर्जो टार्ने नियम छ । तर भारतीय हजामहरू कुनै पनि नियम नमान्ने र समस्या पर्दा मात्रै संघमा धाउने गरेको गंगा ठाकुर बताउँछन् ।

सैलुनमा मनपरी दर रेट तोक्ने गरेको गुनासो सुनिन्छ । नाई संघले मूल्य निर्धारण गरे पनि उपभोक्तासँग मनपरी शुल्क लिँदा मर्कामा परेको बताइन्छ । तर सैलुन सञ्चालकका तर्क भने बेग्लै छ । उनीहरू न्यूनतम मूल्यमै सेवा प्रदान गरिरहेको बताउँछन् । अध्यक्ष ठाकुर भन्छन्, ‘हामीले रेटमा कुनै गडबड गरेका छैनौं । ग्राहकहरू आएर ‘मलाई फलानो जापानिज खेलाडीको जस्तो कट चाहियो’ भन्छन् । कोही मलाई फलानो हलिउड हिरोको जस्तो हेयरस्टाइल चाह्यो भन्छन् । मागअनुसारको काम गर्दा समय लाग्छ । समय लागेपछि पैसा पनि बढी लाग्छ ।’

सैलुनमा बेग्लै नियम

सैलुन सञ्चालनका आफ्नै नियम छन् । अन्य दोकानजस्तो जहाँ पायो, त्यही सैलुन खोल्न मनाही छ । गंगा भन्छन्, ‘म ३५ वर्षदेखि यही छु । छोराछोरी यहीँ काम गरेर हुर्काएँ । मेरो नजिकै कोही आयो भने मेरो त उठिबास नै हुन्छ ।’ त्यसका लागि नाई संघले नियम बनाएको छ । ५० सटरभन्दा नजिकै अर्को सैलुन खोल्न पाइँदैन । त्योभन्दा पर मात्रै अर्का हजामले सैलुन खोल्न मिल्छ । नयाँ सैलुन खोल्ने चाँजोपाजो पनि संघले नै मिलाइदिन्छ । अर्को सैलुनलाई असर नपर्ने गरी संघले नै सर्भे गरेर खोलिदिने नियम नाई संघले बनाएको छ । तर यो नियम पालना भएको देखिँदैन ।

‘हामी भैया होइनौं’

उनीहरू बिहानदेखि बेलुकीसम्म आग्रहहरूकै बीचमा हुन्छन् । सबै ग्राहकले राम्रै व्यवहार गर्छन् भन्ने छैन । गंगा भन्छन्, ‘कोही एकदम मीठो बोल्ने आउँछन् । दिनभरि मुड फ्रेस हुन्छ । कोही ८० वर्षको वृद्ध आएर मेरो सानो छोरालाई ‘भैया’ भनेर बोलाउँछन् ।’ हजुरबुवा सरहको मान्छेले छोरालाई भैया भनेको प्रति उनको दुःखेसो छ । कहिलेकाहीँ ‘मधेसी’, ‘धोती’ भन्दै दुव्र्यवहार गर्ने गरेको सुनाउँछन् दीपेन । भन्छन्, ‘त्यसोभन्दा साह्रै चित्त दुख्छ ।’ मानवीय आवश्यकतासँग जोडिएको सैलुन पेसालाई मर्यादित बनाउनुपर्नेमा अध्यक्ष गजेन्द्र जोड दिन्छन् । भन्छन्, ‘सैलुन पेसालाई मर्यादित बनाइनुपर्छ । यसमा राज्यको भूमिका महत्वपूर्ण छ । सैलुनलाई राज्यको कुनै निकायले हेर्नुपर्छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.