के को हतारो
बिहानको झन्डै १० बज्न थालेको छ। अर्थात्, ‘अफिस टाइम’ भएको छ। सवारीसाधन तीव्र गतिमा ओहोरदोहोर गरिरहेका छन्। ट्राफिक लाइट छैन। तीनजना युवती जेब्रा क्रसिङमा उभिएका छन्। बाटो काट्न खोजिरहेछन् उनीहरू तर गाडी रोकिँदैन। केहीबेर उभिएपछि गाडी रोक्न इसारा गर्दै उनीहरू अघि बढ्छन्। एउटा बाइक तीन युवतीको छेउमा घच्याक्क रोकिन्छ। उनीहरू तर्सिन्छन्। तीनमध्ये एकले गाली गर्छे, ‘जेब्रा क्रसिङमा रोक्नुपर्छ भन्ने ज्ञान छैन ? कस्तो हतार परेको ? ’ तीनकुनेस्थित बागमती पुलनजिकै गत सोमबारको दृश्य हो यो।
तीनकुनेमा मात्र होइन, काठमाडौंका चोकचोकमा पैदलयात्रीलाई चिढ्याउने यस्ता दृश्यहरू प्रशस्तै देखिन्छन्। मान्छे हिँड्ने साँघुरो गल्लीमा बाइक कुदिरहेका हुन्छन्। कसैकसैले त हर्न बजाउँदै सडकपेटीमै दौडाइरहेका हुन्छन्। अलिकति खाली बाटो देख्न हुँदैन कानै खाने आवाजमा हुइँक्याउँछन्। खाल्डाखुल्डी केही नभनी एक्सिलेटर दबाउँछन्। डरै लाग्ने गरी ‘ओभरटेक’ गर्छन्। सडक पार गरिरहेको मान्छेलाई वास्तै नगरी तीव्र गतिमा हाँक्छन्। ‘काठमाडौंको युवावर्ग ‘हाई स्पिड’मा जथाभावी बाइक हाँक्ने गर्छ। यसले दुर्घटना निम्त्याउँछ’, डीएसपी मुकुन्द मरासैनी भन्छन्। तन्नेरी पुस्ताले बढी ‘जिकज्याक’ बाइक चलाउने गरेको उनले बताए। भन्छन्, ‘सवारीसाधनहरूले रोड अनुशासन पालना गर्नुपर्छ।’
कहिलेकाहीँ हतारमा हुने भएकाले बढी कुदाउनुपर्ने बताउँछन्, यमराज लिम्बू। कलंकी बस्दै आएका लिम्बू भन्छन्, ‘साधन छँदैछ भनेर बाइकवालाहरू बाहिर हिँड्नुपर्दा पनि ढिलो हिँड्छन्। ढिलो भएपछि धेरै कुदाउनु परिहाल्यो।’ बाइकवालाहरू बढी नै हतारोमा हुने गरेको कुरा स्वीकार्छन् उनी।
मान्छे हिँड्ने साँघुरो गल्लीमा बाइक कुदिरहेका हुन्छन्। कसैकसैले त हर्न बजाउँदै सडकपेटीमै दौडाइरहेका हुन्छन्। अलिकति खाली बाटो देख्नु हुँदैन, कानै खाने आवाजमा हुइँक्याउँछन्। खाल्डाखुल्डी केही नभनी एक्सिलेटर दबाउँछन्। डरै लाग्ने गरी ‘ओभरटेक’ गर्छन्।
यमराजले बाइक हाँक्न थालेको लगभग चार वर्ष पुगिसक्यो। बाइक नहुँदा उनी गाडीमा हिँड्थे र बाइकवालाको हतारोलाई आलोचना गर्थे। धेरै दौडाएको, गल्लीहरूमा बाइक छिराएको उनलाई मन पर्दैन थियो। बेलाबेलामा गाली पनि गर्थे। ‘धेरै बाइकवालाहरूको हर्कत अहिले पनि मन पर्दैन’, उनले भने, ‘तर, कहिलेकाहीँ चाहिँ समस्या नै पर्दाे रहेछ।’
‘एम्बुलेन्स आयो भने पनि बाटो नछाडी दौडाउँछन्’, विजय लिम्बू भन्छन्। कलंकी बस्दै आएका विजयले पनि तीनचार वर्ष भयो बाइक हाँक्न थालेको। उनी पनि कहिलेकाहीँ बढी नै दौडाउँछन्। खाली सडक भयो भने कुदाउन मन लाग्ने सुनाउँछन्। ‘बाइक कुदाउन मजा पनि हुन्छ। यो यात्रा गर्ने साधन मात्र हैन’, उनले भने। जेब्रा क्रसिङतिर चाहिँ आफूले सर्वसाधारणलाई नै प्राथमिकता दिने गरेको बताउँछन्।
कारण फरकफरक हतारो सबैलाई हुन्छ। हतारिनुको पनि आफ्नै कारण हुन्छन्। कतै कार्यक्रममा सुरु भइसकेको हुन सक्छ। अस्पतालमा एमर्जेन्सी हुन सक्छ। आफन्तले पर्खिरहेको हुन सक्छ। कलेजमा क्लास सुरु भइसकेको हुन सक्छ। समग्रमा, कतै पुग्न एकदमै ढिलो भइसकेको हुन सक्छ। अवस्था अनेकथरी हुन सक्छ।
यस्तै अवस्थाहरू बाइकवालालाई आइपर्दैनन् भन्न सकिन्न। ‘हतारोका कारणहरू विभिन्न हुन्छन् तर कहिलेकाहीँ हतार नै नभए पनि कुदाइन्छ,’ शिरीष श्रेष्ठ भन्छन्। कहिलेकाहीँ त अहम्ले पनि ठूलो भूमिका खेल्ने बताउँछन्, शिरीष। कसैले आफ्नै छेउबाट बाइक हुइँक्यायो भने त्यसलाई ‘ओभरटेक’ गर्न पनि छिटो बाइक कुदाएको अनुभव छन् उनीहसँग। ‘सडकमा एकअर्कालाई ओभरटेक गरेर अघि बढ्नेहरू धेरै हुन्छन्,’ उनले भने, ‘आफूलाई उछिनेर अघि बढ्ने कोही–कोहीसँग चाहिँ एकदमै रिस उठ्छ। त्यसपछि आफूले पनि दौडाइन्छ।’
खाली बाटो देख्दाचाहिँ त्यत्तिकै पनि कुदाउन मन लाग्ने बताउँछन्, यमराज। ‘खाली बाटो देखेपछि एक्सिलेटर दबाउन मन लागिहाल्छ,’ उनले भने, ‘बाइक कुदाउन कहिलेकाहीँ कारण नै चाहिँदैन।’ बाइक कुदाउँदा पनि मोबाइलमा ‘गेम’ खेल्दाजत्तिकै मजा आउने उनले बताए। भन्छन्– लामो यात्रा गर्दा पो गाह्रो हुन्छ। यताउता बरालिँदा त मजा हुन्छ। जति कुदायो उति मजा।
बाइकवालाहरू हतारमा देखिने कारणहरू अनेक हुन्छन्। ड्रिङस गरेर चलाउँदा पनि बाइक धेरै दौडाउने गरेको अनुभव पोख्छन् केही ‘राइडर’हरू। साथीहरूसँग ग्रुपमा यात्रा गर्दा बाइक धेरै कुदाइने सुनाउँछन्, विजय। साथीहरूसँग स्वाभाविक रूपमा बाइकको स्पिड बढ्ने बताउँछन्। भन्छन्, ‘अर्काे साथीले कुदाएको देखेर पनि एक्सिलेटर दबाइन्छ।’
‘मान्छे नै हानुँला झैँ गरेर कुदाउँछन्,’ माधव खड्का भन्छन्। ताहाचल बस्दै आएका खड्का पैदलयात्री हुन्। हतारमा भए पनि पैदलयात्रुलाई बाटोमा प्राथमिकता दिनुपर्ने उनको सुझाव छ। भन्छन्– विस्तारै हाँके पनि ठाउँमा त पुगिहालिन्छन् नि !
एसिडेन्टको अनुमान
दुर्घटनाका अनेक कारण हुन सक्छन्। दुर्घटनाका बारेमा आफूहरूले पनि प्रशस्तै सोच्ने गरेको बताउँछन्, बाइकवालाहरू।
प्रत्यक्ष दुर्घटना नै देखियो भने त बाइक हाँक्न झनै सचेत हुने गरेको सुनाउँछन्, वाइक राइडरहरू। दुर्घटनाको जोखिमहरूबारे पनि उनीहरूले बुझेका छन्। दुर्घटना नहुन्जेल आत्मविश्वासले बाइक कुदाउने गरेको विजय बताउँछन्। ‘मेरो त अहिलेसम्म एसिडेन्ट परेको छैन,’ उनले भने, ‘म सकेसम्म होसियारीपूर्वक नै हाँक्छु।’ उनले एसिडेन्टहरू चाहिँ थुप्रै देखेका छन्। भन्छन्– हतार गर्नेहरू नै बढी एसिडेन्टमा पर्छन्।
आर्थिक वर्ष २०७३÷७४ मा मात्रै ३५५ वटा बाइक दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले बताएको छ। अन्य सवारीसाधनहरूका दुर्घटनाको दर पनि कम छैन। बसमात्रै दुई सय दुई वटा दुर्घटनामा परेका थिए। एक सय ४७ वटा ट्रक दुर्घटना भएको थियो। त्यस्तै दुई सय ७४ वटा कार÷जिप÷भ्यान दुर्घटना भएको थियो।
बाइक दुर्घटनाको दर उकालो लागिरहेको बताउँछन्, डीएसपी मुकुन्द मरासैनी।
रोड अनुशासन पालना नगर्नु दुर्घटनाको मुख्य कारण देखाउँछन्, मरासैनी। ‘ओभरस्पिड मुख्य समस्या हो,’ उनले भने, ‘मापसे गरेरै पनि बाइक चलाइन्छ। त्यसो भएपछि दुर्घटनाको दर बढ्नु स्वाभाविक नै हो।’ विशेषगरी युवा वर्ग दुर्घटनाको सम्भावनालाई ख्यालै नगरी बाइक चलाउने गरेको उनले बताए। भन्छन्– हाइस्पिडका लागि काठमाडौंको सडक एकदमै घातक छ।