पेन्टिङ, पोट्रेट र रङहरू
पाटनको लगनखेलमा हुर्केकी हुन्, एरिना ताम्राकार । उनको घरमा तामाका भाँडा बनाउने काम गरिन्थ्यो, त्यो बेला । तामाका भाँडा बनाउँदा आउने धुन गजब मन पथ्र्यो, उनलाई । त्यसमा कोरिएका चित्र र रङसँग वेहद प्रेम थियो । बुवाले चित्र कोर्ने गरेको उनले देखेकी थिइन् । सायद बुवाको त्यही छाप उनमा पनि स¥यो । घरको सानो पसलमा बसेर घन्टौंसम्म चित्र बनाउन दत्तचित्त रहन्थिन् उनी ।
सानो भाइलाई स्कुलमा लैजानका लागि माटोबाट विभिन्न आकारका चित्रहरू बनाइदिने गर्थिन् । एक दिन उनको बुवाले उनले चित्र बनाउँदै गरेको देखे । त्यसपछि एरिनालाई एसएलसीपछि ललितकला क्याम्पसमा भर्ना गरिदिए । उनले निकै तनमनले कलेजमा चित्रकारितासम्बन्धी सैद्धान्तिक र व्यावहारिक ज्ञान सिक्न थालिन् ।
यसरी सानैदेखि अन्तरकुन्तरमा लुकेर रहेको आर्टिस्ट बन्ने एरिनाको चाहना पूरा भएको थियो । उनी हाल पूर्ण समय पेन्टिङमा समर्पित छिन् । क्याम्पस पढ्ने बेलामै उनले सरसफाइ विषयमा एउटा चित्र बनाएर एक सय रुपैयाँ पुरस्कार जितेकी थिइन्, यो नै उनको जीवनमा आफ्नो कलाको पौरखले कमाएको पहिलो कमाइ थियो । केही वर्षअघि एउटा पेन्टिङ दुई लाख रुपैयाँमा बिक्री भएको पल उनका लागि अविस्मरणीय रूपमा रहेको छ ।
पाटन, मंगलबजारमा जन्मेका आशा डंगोलले पाटन दरबार स्क्वायरमा बनाइएका विभिन्न कला र चित्र हेरेर बाल्यकाल विताएका थिए । स्कुल पढ्दा पनि कापीमा चित्र कोरेरै समय बिताउँथे उनी । चित्रप्रति मोह देखेर उनकी आमाले नेत्रराज वज्राचार्यसँग चित्र बनाउने कला सिक्न पठाइन् ।
एक चित्र प्रदर्शनीमा डंगोलको पेन्टिङ पनि राखिएको थियो, जसको मोल नौ हजार रुपैयाँ राखिएको थियो । एकजना केन्याका विदेशीले मन पराएर १० हजारमा उक्त पेन्टिङ किने । सन् १९९६ ताकाको त्यो पैसा उनका लागि एक लाख बराबरको लागेको थियो । उनी भन्छन्, ‘आफ्नो मेहनतको फल सानै भए पनि एकदमै विशेष लाग्ने रहेछ ।’
मसँग पैसा हुन्नथ्यो, एरिनाको आर्ट बिक्न थालेको थियो । पैसा दिएर सहयोग गर्थिन् । –आशा डंगोल
आशा र एरिना ललितकला क्याम्पसमा अन्तिम वर्षमा पढ्दै थिए । त्यहाँ पढ्ने विद्यार्थीहरूबीच राम्रो सल्लाह र सहयोग हुन्थ्यो । एरिना हरेक स्केचमा निकै मेहनत गर्थिन् । कलेजका सिनियर साथी थिए, प्रशान्त श्रेष्ठ । श्रेष्ठको अगुवाइमा सन् १९९४ मा काष्ठमण्डप आर्ट स्टुडियो स्थापना भयो । त्यति बेला सातजना मिलेर सँगै बसेर आर्ट बनाउँथे, कमाइ पनि बाँडेर लिए । आशा र एरिना पनि सोही ग्रुपमा बसे । प्रदीप वज्राचार्य, भाइराजा महर्जन, प्रमिला वज्राचार्य, विनोद प्रधान, सुनिला वज्राचार्य पनि थिए, समूहमा । सबैमा केही गर्ने तीव्र उत्साह थियो ।
सन् १९९९ मा गु्रपका अग्रणी प्रशान्त श्रेष्ठको निधन भयो । हौसला बढाउने व्यक्तिको खालीपनले उनीहरूलाई झन् बढी काम गर्नुपर्छ, प्रशान्त दाइको सपना पूरा गर्नुपर्छ भन्ने लाग्यो । अहिले पनि यो स्टुडियोमा पाँचजना आर्टिस्ट मिलेर काम गरिरहेका छन् । यो टोली पेन्टिङ बनाउन विभिन्न गाउँ, सहर चहार्छ । करिब २२ वर्षदेखि सँगै काम गरिरहेका छन् उनीहरू ।
एरिना भन्छिन्, ‘दुई वर्ष त यही स्टुडियोभित्र भूमिगतजस्तै बनेर निरन्तर पेन्टिङ बनाइरहे ।’ सन् १९९६ मा राष्ट्रिय कला प्रदर्शनी भयो । यसमा उनीहरूको गु्रपले पहिलोपटक सहभागिता जनायो । सन् १९९८ मा दरबारमार्गमा पहिलोपटक संयुक्त रूपमा कला प्रदर्शनी गरे । चित्रकलाकै माध्यमबाट उनीहरू सहरमा विस्तारै चिनिन थाले, हौसलास्वरूप पुरस्कार पनि थाप्दै गए । सन् १९९९ मा रानी ऐश्वर्यको हातबाट एरिनाले पुरस्कार प्राप्त गरिन् । आशालगायत धेरैले विभिन्न अवार्डहरू पाए । पेन्टिङ पनि अलिअलि गर्दै बिक्न थाल्यो । यसरी यो गु्रपको पहिचान सहरमा विस्तारै बढ्दै गयो । यसले उनीहरूमा पेन्टिङप्रति अभिरुचि झन् बढेर गयो ।
अनि जोडियो गाँठो
कलामोहले एरिनालाई यसबिना बाँच्न सकिन्नजस्तो लाग्थ्यो । उनले आफ्नो समुदायका धेरै केटीहरू विवाहपछि घरमै सीमित भएको देखेकी थिइन् । यसले उनलाई बिहे नगरौंजस्तो लाग्थ्यो ।
एरिनाले पेन्टिङमा डुबुल्की मारेर गहिराइमा पुगेको आशालाई निकै मन प¥थ्र्यो । उनले पनि यसमै समर्पित भएको जीवनसाथी खोजेका थिए । एउटै पेसाको भएमा जीवन चलाउन पनि सजिलो हुने र आफ्नो काममा सहयोग हुन्छ भन्ने उनको बुझाइ थियो ।
हरेक कुरामा सहयोग र साथ आशाको विशेषता हो । –एरिना ताम्राकार
पेन्टिङमा राम्रो सीप र दक्षता बढाउन आशाले पाँच वर्षसम्म त घर जानै छाडिदिए । स्टुडियोमै सुत्थे उनी । दिनभर कोठामा बसेर स्केच बनाउँथे । महिना दुई महिनामा एकाधपटक घर जान्थे । उनी पनि पेन्टिङमा अत्यन्त तल्लीन भएको देख्दा एरिनालाई बिस्तारै माया लाग्न थाल्यो । आफूलाई जिस्क्याइरहने र झगडा गरिरहने आशा नै जीवनसाथी बन्छन् भन्ने उनले सोचेकी थिइनन् । तर, कलाले जोडियो लगनगाँठो ।
कुपण्डोलमा छ, उनीहरूको आर्ट स्टुडियो । त्यही स्टुडियोमा ‘प्रेम प्रस्ताव पहिले कसले राख्यो त ? ’ भन्ने पंक्तिकारको प्रश्नमा एरिना र आशा दुवैले एकअर्कालाई औंल्याए । एकछिन हाँसोको फोहरा छुट्यो ।
पेन्टिङ बनाउने कक्षभित्र पोट्रेट र रङहरू छरिएका छन् । केही पूर्ण र केही अपूर्ण पेन्टिङ सुकाइएका छन् । कलामय छ यहाँको माहोल । चाँडै सुरु हुने एरिनाको एकल कला प्रदर्शनीका लागि पेन्टिङहरूको संग्रह गरिएको थियो । त्यसैले भित्ताभरि पेन्टिङका स्केचहरू झुन्ड्याइएको छ ।
पेन्टिङ बनाउने क्रममा काष्ठमण्डप आर्ट स्टुडियोलाई जीवित बनाउन लाग्दा पत्तै नपाइ उनीहरूको प्रेम बस्यो । सन् २००२ मा उनीहरूले बिहे गरे । अहिले एक छोराको साथमा उनीहरू सुन्दर जीवन बिताइरहेका छन् ।
पेन्टिङको प्रदर्शनी तथा आर्टसम्बन्धी विभिन्न कार्यक्रममा सहभागी हुन उनीहरू फ्रान्स, भियतनाम, इन्डिया, थाइल्यान्ड, श्रीलंका, भुटान, सिंगापुर, मलेसिया, इन्डोनेसिया, यूएसजस्ता देश पुगिसकेका छन् । उनीहरूको पाँचजनाको समूहले पनि विभिन्न सोलो प्रदर्शन गरिरहन्छ ।
एरिनाले कोरियाबाट फेलोसिप पाएर सन् २००८ मा ६ महिने कोर्स पनि गरेकी छन् । यो दम्पतीले फाइन आर्टमा मास्टर्स गरेको छ । मास्टर्सको थेसिस बुझाउने क्रममा आशाले नेपाली र नेवारी संस्कृतिका बारेमा गहन अध्ययन र अनुसन्धान गरे । यसले उनीहरूलाई कलामा थप नयाँ जानकारी प्राप्त भयो ।
एरिना महिलाका संवेदनशील विषयमा बढी चित्र बनाउँछिन् भने आशाका चित्रमा विविधता पाइन्छ । कुनै पेन्टिङ दुई दिनमै पनि तयार हुन्छ, कुनै महिनौं दिनसम्म पनि पूरा हँुदैन । सिक्ने क्रममा एउटै पेन्टिङ ३७ पटकसम्म मेटाएको एरिनाको अनुभव छ ।
‘अहिले यो क्षेत्रमा आम्दानी पनि राम्रो छ । कलामा सबै क्षेत्रको लगाव बढ्दैछ । जिन्दगी मजाले चलिरहेको छ’, आशा भन्छन् । विदेशी आर्टिस्टहरूको सर्कलमा पनि उनीहरू जोडिएका छन् । आशाले बनाएका आर्ट विदेशमा बढी बिक्छ । एरिनाले बनाएका पेन्टिङ पनि विदेशमा नबिक्ने होइन, तर नेपाली बजारमा पनि उनको पेन्टिङको माग बढ्दो छ । तुलनात्मक रूपमा एरिनाको पेन्टिङ बढी बिक्ने आशाले बताए ।
दुवैजना स्टुडियोमा बसेर पेन्टिङ बनाइरहँदा एकअर्कालाई आर्टिस्टका रूपमा हेर्छन् । केही चित्र संयुक्त रूपमा पनि बनाएका छन् । पेन्टिङ बनाएर पूरा नगरी अन्य काममा लाग्नु प¥यो भने एरिनालाई सकस हुन्छ । पूरा रात, पूरा दिन पेन्टिङ बनाइरहूँजस्तो लाग्छ । बुझ्ने जीवनसाथी र परिवार पाएकोमा उनी अत्यन्त खुसी छन् ।
सन् २००१ मा एरिनाले एकल प्रदर्शनी गर्दा अर्को वर्ष आशाले पहिलो एकल सोलो प्रदर्शनी गरे । २००२ मा सोलो प्रदर्शनी गरेकै वर्ष बिहे गरेका उनीहरूको प्रेमकथा पनि पेन्टिङसँगै जोडिएको छ । घर छाडेर स्टुडियोमै बस्न थालेपछि एरिनाले निकै सहयोग गरेको आशा सम्झन्छन्, ‘मसँग पैसा हुन्नथ्यो, एरिनाको आर्ट बिक्न थालेको थियो । पैसा दिएर सहयोग गर्थिन् । हरेक कुरामा सहयोग गर्ने, केयर गर्ने एरिनाको गजबको बानी थियो ।’
एरिना भन्छिन्, ‘हरेक कुरामा सहयोग र साथ आशाको विशेषता हो ।’ कहिलेकाहीँ एकअर्कामा इगो पनि आउने गर्छ । तर, दुवैले कन्ट्रोल गर्छन् । आशा भन्छन्, ‘सम्झौता हरेक अवस्थामा गर्न सक्नुपर्छ । अझ वैवाहिक सम्बन्धमा त यो जरुरी हो ।’
पेन्टिङबाटै उनीहरूले मनग्गे शुभचिन्तक कमाएका छन् । अचेल व्यापारिक भवन तथा बैंकहरूले समेत आर्टहरूको माग गरिरहेका हुन्छन् । आफूहरूले कोरेको सिर्जना जताततै देख्दा आफ्नो पेसाप्रति गर्व मान्छन् उनीहरू । आर्ट सिकेर कहिल्यै पूरा नहुने र हरेकपटक नयाँ सिर्जना दिन पाइने उत्कृष्ट पेसा भएकाले हरेक दिन नयाँ हुने उनीहरूको भनाइ छ ।