विकाससँगै विनाश
‘पाखामा घाँस छ । भंैसी भोक्कै’, ललितपुर झाँक्रीडाँडाकी मीठु तिमल्सिना आफ्नो दुःखेसो पोख्छिन् । उनी कान्ति लोकपथको मुन्तिर भीरमा घाँस काट्न नगएको पनि महिनौं भयो । त्यसो त उनी बिरामी भएर घाँस काट्न नगएकी होइनन्, न त बाघ भालुको डरले नै ।
काठमाडौं–हेटौंडा जोड्ने छोटो बाटो कान्ति लोकपथ खन्ने क्रममा डोजरले ढुंगामाटो फ्याँक्दा पाखो पहिरो बनेपछि मीठुले घाँस काट्न नपाएकी हुन् । दक्षिण ललितपुरको कान्ति लोकपथ आसपासका उनीजस्तै कृषिमा निर्भर सयौं किसानलाई अचेल बस्तुभाउ पाल्न मुस्किल भएको छ ।
यहाँ पशुपालन गर्ने किसानलाई मात्रै समस्या छैन । भट्टेडाँडा यास्पाका नवराज दाहाल आफ्नो घरनजिकै केही दिनअघि ढुंगा गुडेर आएको प्रसंग सुनाउँदै भन्छन्, ‘डोजरले बाटो खन्ने क्रममा खसेको ढुंगा लागेर को कहाँ मर्ने हो कुनै ठेगान छैन ।’ स्थानीय वनराज दाहाल भन्छन्, ‘स्कुल गएका विद्यार्थी पनि पुग्ने र फर्किने हुन् कि होइनन्, कुनै पत्तो छैन ।’
भट्टेडाँडा छपेलीका राजेन्द्र खड्कालाई भने वर्षाको चिन्ता छ । हिउँदभरि डोजरले खोतलेको पहाडको भित्तो पानी पर्न थालेपछि पहिरो बनेर खस्छ । त्यसले गाउँ नै सखाप पार्ने डर छ उनलाई । उनी भन्छन्, ‘हिउँदमा त ज्यान जोगियो, वर्षामा भन्न सकिन्न ।’
काठमाडौं उपत्यकालाई तराईसँग जोड्न २०१६ सालमा सञ्चालनमा आएको थियो यो मार्ग । ९० किलोमिटर दूरी रहेको कान्ति लोकपथ २०७४ माघसम्ममा सञ्चालनमा ल्याइने लक्ष्य राखिएको थियो । तर, अझैसम्म यसको निर्माण सम्पन्न भएको छैन ।