गाउँपालिका वडामा सुरु भयो सार्वजनिक सुनुवाइ
रुकुम: रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले वडा नम्बर ६ बाट सार्वजनिक सुनुवाइ कार्यक्रम गर्न सुरु गरेको छ। स्थानीय सरोकारवालाको साझा उपस्थितीमा स्थानीय सभासमेत गठन भएको छ। सुशासन र जवाफदेहिता कायम गरी असल शासनलाई बढवा दिनका लागि त्रिवेणी गाउँ कार्यपालिकाको बैठकबाट १० वडा र गाउँपालिका कार्यालयमा असारसम्ममा सार्वजनिक सुनुवाइ सक्ने निर्णय गरे अनुसार सुनुवाइ सुरु भएको हो।
गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीका अनुसार अब क्रमशः अन्य वडाले पनि सार्वजनिक सुनुवाइ गर्नेछन्। अध्यक्ष घर्तीले भने, ‘सबै वडा तथा गाउँपालिकाको पनि सार्वजनिक सुनुवाइ चालु आर्थिक बर्षको अन्त्यसम्म सम्पन्न गरिने छ। त्यसपछि निरन्तर रुपमा हरेक चौमासिकको अन्त्यमा सार्वजनिक सुनुवाइ आयोजना गर्नेछौ।’
कार्यक्रममा उठेका समस्या तथा सवालको जवाफ वडा नम्बर ६ का अध्यक्ष राजेन्द्र पुनले दिए। स्थानीय भौतिक विकास, विद्युत, खानेपानी तथा सडक सम्बन्धी विभिन्न समस्याका बारेमा कार्यक्रममा छलफल भएको थियो।