मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण रोकियो
काठमाडौं : वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण शुक्रबारदेखि बन्द भएको छ। मलेसिया जाने कामदारको बायोमेट्रिक स्वास्थ्य परीक्षण गर्दै आएका ३९ स्वास्थ्य परीक्षण मेडिकल सेन्टरले सरकारी निर्णयको विरोध गर्दै कामदारको स्वास्थ्य परीक्षण बन्द गरेका हुन।
बिहीबार मात्रै श्रम तथा रोजगार सामाजिक सुरुक्षामन्त्री गोर्कण विष्टले मलेसिया जाने कामदारमाथि आर्थिक भार थप्ने गरी अवैधानिक रूपमा दर्ता भएका संस्थाको खारेजी गर्ने र रकम असुली बन्दका लागि परराष्ट्र मन्त्रालयमार्फत मलेसिया सरकारसँग कूटनीतिक पहल गर्ने निर्णय गरेका थिए। मन्त्रीको निर्णयलगत्तै गृह मन्त्रालयले पनि अवैधानिक रूपमा कामदारसँग बढी रकम असुली गर्ने संस्था तथा व्यक्तिमाथि निगरानी गर्न जिल्ला प्रसाशन कार्यालयलाई परिपत्र गरेको थियो।
सरकारी निर्णयसँग कामदारलाई असहजता गर्न व्यवसायीले स्वास्थ्य परीक्षण र माइग्राम भने संस्थाको काम बन्द गरेका हुन्। कामदारको स्वास्थ्य परीक्षणका मलेसिया सरकारको स्वीकृतिमा ३० वटा मेडिकल सेन्टरले सिन्डिकेट गर्दै ४५ सय रुपैयाँ लिँदै आएका थिए। गृह मन्त्रालयको परिपत्र र श्रम मन्त्रालयको खारेजी गर्ने निर्णयलगत्तै पक्राउ परिने डरले स्वास्थ्य व्यवसायीले स्वास्थ्य परीक्षण रोकेका हुन्। सरकारले माइग्राम्स, बायोमेट्रिक, आईएससी, भिएलन र ओएससीको सबै काम कारवाही तत्काल बन्द गर्न कुटनीतिक पहल थालेको थियो।
मलेसिया जाने नेपाली कामदारहरुमथि विभिन्न नाममा अतिरिक्त शुल्क बुझाउनुपर्छ। भिसा शुल्कबापत नेपालस्थित मलेसियन दूतावासले सात सय रुपैयाँ लिन्छ। तर, यसबाहेक कामदारले झन्डै १७ हजार रुपैयाँ विभिन्न संघसंस्थालाई बुझाउनुपर्छ। भीएलएन नामक संस्थाले भिसा प्रक्रियाका नाममा पाँच वर्षदेखि ३२ सय रुपैयाँ असुल्दै आएको छ।
त्यस्तै, वान स्टप सेन्टरले राहदानी संकलनका नाममा २८ सय रुपैयाँ संकलन गर्छ। माइग्राम नामको संस्थाले पनि विगत दुई वर्षदेखि नेपाली कामदारबाट स्वास्थ्य परीक्षणका नाममा प्रतिकामदार ३२ सय रुपैयाँ शुल्क उठाउँदै आएको छ। यसैगरी जीएससी भन्ने संस्था खडा गरेर (आईएससी)का नाममा प्रतिकामदार थप तीन हजार दुई सय रुपैयाँ थप शुल्कको भार पनि थोपरिँदै आएको छ। यसैबीच मन्त्रालयले केही दिन कामदार विदेश जान नपाउँदा कुनै समस्या नआउने जनाएको छ। तर, मन्त्रालय कामदारमाथी शोषण गर्नेहरूको धम्कीबाट पछाडी नहट्ने भएको छ।