विश्वकपका लागि पोर्चुगलको टोली घोषणा
लिस्बन : रुसमा आयोजना हुने २१औं विश्वकप फुटबल प्रतियोगिताका लागि पोर्चुगलले शुक्रबार २३ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ । प्रशिक्षक फर्नान्डो सान्तोषले घोषणा गरेको प्रारम्भिक टोलीमा दुई वर्षअघि युरोकप खेल्ने टोलीका अधिकांश खेलाडीले स्थान पाएका छन् । सन् २०१६ मा पोर्चुगलले युरोकप जित्दा टोलीमा रहेका १३ जना खेलाडी आगामी विश्वकपका लागि पनि प्रशिक्षक सान्तोषको रोजाइमा परेका हुन् ।
युरोकपमा फ्रान्सविरुद्घ फाइनल खेल्न प्रारम्भमै मैदानमा ओर्लिएका नौजना खेलाडीले विश्वकपका लागि घोषित टोलीमा स्थान पाएका छन् । फाइनल खेल्ने प्रारम्भिक टोलीका ११ खेलाडीमध्ये नानी र रेनाटो सान्चेज भने यसपटक छुटेका छन् । यसैगरी रिकार्डो कार्भाल्हो, आन्द्रे गोमेज र इडरले पनि विश्वकपका लागि टोलीमा स्थान पाएका छैनन् ।
युरोकपको फाइनलमा इडरले अतिरिक्त समयमा टोलीका लागि निर्णायक गोल गरेका थिए । फाइनलमा प्रारम्भिक टोलीमा नपरेका इडर परिवर्तित खेलाडीको रूपमा मैदानभित्र प्रवेश गरेका थिए । ‘युरोकप टोेलीमा रहेका सबै खेलाडीलाई समेट्न नसकिएकोमा निकै दुःख लागेको छ’, विश्वकपका लागि प्रारम्भिक टोलीको घोषणा गर्दै प्रशिक्षक सान्तोषले भनेका छन् ।
आन्द्रे गोमेजसँगै स्पेनिस क्लब बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्ने नेल्सन सेमेडोले पनि पोर्चुगलको प्रारम्भिक टोलीमा स्थान बनाउन सकेनन् । अर्को स्पेनिस क्लब रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्ने फाबियो कोन्ट्राओ पनि विश्वकप टोलीमा परेका छैनन् । उनी आफैंले तत्काल आफू राष्ट्रिय टोलीबाट खेल्नसक्ने अवस्थामा नरहेको बताएका थिए ।
पोर्चुगलले तत्काल विश्वकपको तयारी भने आफ्ना स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोबिना नै अगाडि बढाउने भएको छ । रोनाल्डो यति बेला रियल म्याड्रिडको तर्फबाट च्याम्पियन्स लिगको फाइनल खेल्ने तयारीमा व्यस्त छन् । युरोपियन क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगको फाइनल खेल मे २६ मा रियल म्याड्रिड र इङ्लिस क्लब लिभरपुलबीच खेलिँदैछ ।
आगामी विश्वकपअघि पोर्चुगलले तीन राष्ट्रसँग अभ्यास खेल खेल्ने कार्यक्रम छ । पोर्चुगलले मे २८ मा ट्युनिसिया, जुन २ मा बेल्जियम र जुन ७ मा अल्जेरियासँग अभ्यास खेल खेल्नेछ । आगामी विश्वकपमा पोर्चुगल समूह ‘बी’मा परेको छ । उक्त समूहमा पोर्चुगलसँगै विश्वकपको पूर्वविजेता स्पेन, मोरक्को र इरान परेका छन् । पोर्चुगलले विश्वकपमा आफ्नो पहिलो खेल जुन १५ मा सोचीमा बलियो प्रतिद्वन्द्वी स्पेनसँग खेल्नेछ ।
आगामी विश्वकप आगामी जुन १४ देखि जुलाई १५ सम्म रुसका विभिन्न ११ सहरका १२ वटा रंगशालामा खेलिँदैछ । विश्वकपका लागि घोषित पोर्चुगलको प्रारम्भिक टोलीमा गोलरक्षकको रूपमा एन्थोनी लोपेज (लियोन), बेटो (गोटेप) र रुई प्याट्रिसियो (स्पोर्टिङ लिस्बन) रहेका छन् । डिफेन्डरमा ब्रुनो आल्भेस (रेन्जर्स), सेड्रिक सोरेस (साउथह्याम्पटन), जोसे फोन्ट (डालियन यिफाङ), मारियो रुई (नापोली), पेपे (बेसिकटस), राफेल ग्वेरेइरो (बोरुसिया डर्टमन्ड), रिकार्डो पेरेइरा (पोर्टो) र रुबेन डियास (बेनफिका) रहेका छन् ।
यसैगरी मिडफिल्डरमा एड्रिन सिल्भा (लिसेस्टर), ब्रुनो फर्नान्डेस (स्पोर्टिङ लिस्बन), जो मारियो (वेस्ट ह्याम), जो मोउटिन्हो (मोनाको), म्यानुएल फर्नान्डेस (लोकोमोतिभ) र विलियम कार्भाल्हो (स्पोर्टिङ लिस्बन) रहेका छन् । स्ट्राइकरको भूमिकामा भने आन्द्रे सिल्भा (एसी मिलान), बेर्नार्डो सिल्भा (म्यानचेस्टर सिटी), क्रिस्टियानो रोनाल्डो (रियल म्याड्रिड), गेल्सन मार्टिन्स (स्पोर्टिङ लिस्बन), गोन्कालो ग्वेडेस (भ्यालेन्सिया) र रिकार्डो क्वारेस्मा (बेसिकटस) रहेका छन् ।