माइक्रोबस र टेम्पोमा सिट क्षमताकैै यात्रु
काठमाडौं ः माइक्रोबस र टेम्पोले सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाउने भएका छन्। सरकारले आइतबारदेखि सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने माइक्रोबस र टेम्पोलाई कारबाही गर्ने भएको छ। क्षमताभन्दा बढी यात्रु बोक्ने माइक्रोबस तथा टेम्पोलाई ठाउँको ठाउँ कारबाही गर्न बिहीबार मात्रै गृहमन्त्री रामबहादुर थापाले ट्राफिक प्रहरीलाई निर्देशन दिएका थिए।
सार्वजनिक यातायातमा यात्रा गर्नेलाई सहज तथा सुरक्षित रूपमा गन्तव्यसम्म पुग्ने सहज वातावरण बनाउन माइक्रोबस र टेम्पोमा सिट क्षमताभन्दा धेरै यात्रु बोक्न रोक लगाउन लागिएको यातायात व्यवस्था यातायात व्यवस्था विभागका प्रवक्ता तथा निर्देशक तुलसीराम अर्यालले जानकारी दिए।
‘सार्वजनिक यातायातमा सिन्डिकेट अन्त्य हुने चरणमा छ’, उनले भने,‘यातायात व्यवसायीको एकाधिकार अन्त्य हुने क्रमसँगै माइक्रोबस र टेम्पोमा कष्टपूर्ण यात्रा गर्ने यात्रुलाई राहत दिन खोजेका हौं’,
विभागले पहिलो चरणमा काठमाडौं उपत्यकाभित्र सर्वसाधरणलाई सानो, साँघुरो सवारीमा कष्टपूर्ण यात्रा गर्नबाट जोगाउन माइक्रोबस र टेम्पोमा सिट क्षमताभन्दा बढी यात्रु चढाउन प्रतिबन्ध गर्नेछ। आइतबारदेखि सिट क्षमताभन्दा बढी यात्रु बाकेको अवस्थामा माइक्रोबस र टेम्पोले पाँच हजार रुपैयाँ जरिवाना तिनुपर्छ।
विभागले सिट क्षमताभन्दा धेरै यात्रु नचढाउने विषयमा माइक्रोबस र टेम्पो व्यवसायीसँग छलफल गरेर कार्यान्वयन गर्न लागिएको जानकारी दिएको छ। यस विषयमा व्यवसायीहरू पनि सकारात्मक देखिएको विभागको भनाइ छ।
माइक्रोबस र टेम्पोले सिट संख्याभन्दा धेरै यात्रु चढाएको भेटिए कारबाही गर्न शुक्रबार यातायात कार्यालयमार्फत विभागले सम्बन्धित ट्राफिक कार्यालयलाई परिपत्र गरिसकेको छ।
आइतबारदेखि उपत्यकामा चल्ने माइक्रोबस र टेम्पोले सिट क्षमताभन्दा धेरै यात्रु चढाएको भेटिए ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले ठाउँको ठाउँ कारबाही गर्नेछ। विभागका कर्मचारीले कार्यालय अगाडिको सडकबाट माइक्रोबस र टेम्पोको निरीक्षण गर्नेछन्। निरीक्षणको क्रममा सिट क्षमता भन्दा धेरै यात्रु भेटाएमा कारबाही गरिनेछ। लामो रुटका गाडीले भने सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने गरेका छैनन्। ती गाडीहरूले सिट क्षमताभन्दा धेरै यात्रु बोकेको भेटिए सरकारले कारबाही गर्दै आएको छ। काठमाडौं उपत्यका र भित्री सडकमा चल्ने गाडीले भने सिट क्षमताभन्दा अधिक यात्रु राखेर गाडी संचालन गर्दै आएका छन्।
ठूला सार्वजनिक यातायातमा सहज रूपमा यात्रा गर्न केही समय कुर्नुपर्ने हुन्छ। २५ किलोमिटर क्षेत्रफलसम्म चल्ने ठूला सार्वजनिक यातायातले सिट क्षमताको एक दशमलब पाँच प्रतिशत यात्रु चढाउन सक्नेछन्। छोटो रुटमा चल्ने ठूला गाडीमा यात्रीको सुविधाका लागि ह्यान्डलको व्यवस्था गरिएको हुन्छ। विकसित मुलुकमा पनि छोटो रुटमा चल्ने ठूला गाडीमा यात्रुहरु उभिएर यात्रा गर्ने गर्छन। ठूला गाडीलाई सिट क्षमताभन्दा केही संख्यामा यात्रुलाई उभ्याएर यात्रा गराउने छुट भए पनि अहिलेको जस्तो कोचिएर यात्रा गर्नु पर्ने अवस्था अन्त्य हुने विभागको दाबी छ।
सरकारले विभिन्न समयमा सस्तो लोकप्रियता हासिल गर्न सार्वजनिक यातायातमा सुधारको प्रयास गर्ने गरेको थियो। अस्थायी सरकार तथा निर्णय गर्ने निकाय र कार्यान्वयन गर्ने निकायबीच समन्वयन नुहँदा सुधारका कार्यक्रम बिचैमा तुहिने गरेको थियो।
अहिले सरकार सार्वजनिक यातायात क्षेत्र सुधार गर्न आक्रमक रूपमा प्रस्तुत भइरहेको छ। बहुमत प्राप्त स्थायी सरकार भएकाले जनताले सार्वजनिक यातायातमा भोग्दै आएको समस्या अन्त्य गर्ने सुवर्ण अवसर छ। सरकारसँग भएको जनशक्तिको उचित व्यवस्थापन गर्न सके सार्वजनिक यातायातमा वर्षैदेखि जनताले खेप्दै आएको सास्थीको अन्त्य हुनेछ।