योद्धा र मान्छे
सन्दर्भ : मदन भण्डारी स्मृति
यौटा योद्धा हुन्छ– अर्को मान्छे हुन्छ
र, मान्छे भएर जन्मिएका
हरेक मान्छे योद्धा हुँदैनन् ।
योद्धासँग सपना हुन्छ, यौटा लक्ष्य हुन्छ
जो भुइँचालोमा पनि स्थिर हुन्छ
योद्धासँग सोचको यौटा दियो हुन्छ
जो आँधीमा पनि बलेकै हुन्छ,
आजसम्म पनि योद्धाले बालेको दियो निभाउने हुरी
कहिले चलेकै छैन,
आजसम्म योद्धाले देखेको सपना भत्काउने भूकम्प
कहिले आएकै छैन ।
योद्धा आफ्नो निम्ति बाँचेको हुन्न
त्यसैले त युगले उसलाई सलामी दिन्छ
योद्धा आफ्नो निम्ति लडेको हुँदैन
त्यसैले त मान्छेका ताँती हुन्छन्, उसका पछाडि ।
यौटा शास्वत सत्य— मान्छे जन्मिएपछि मर्छ,
सत्य हो, योद्धाले पनि मृत्युवरण गर्नुपर्छ,
हो, योद्धा र मान्छे दुवैको मृत्युमा
समय स्तब्ध हुन्छ र निःशब्द हुन्छन् मनहरू
र बाँचेकाहरू शनैःशनै आँसुको दहमा चुर्लुम्म डुब्दछन् ।
तर,
मान्छेको मृत्युमा स्वास्नी विधवा हुन्छे र छोराले बरखी बार्छ
योद्धाको मृत्युमा राष्ट्र विधवा हुन्छ र इतिहासले बरखी बार्छ ।
(मदन भण्डारी र जीवराज आश्रितको दासढुंगा दुर्घटनामा मृत्यु भएपछि मदन भण्डारीको स्मृतिमा कवि प्रतीकले लेखेको कविता । यो कविता पहिलोपटक २०५०, जेठ १३ गते बुधबार दृष्टि साप्ताहिकमा प्रकाशित भएको थियो ।)