पोखरा महानगर : एक वर्षसम्म जस्ताको तस्तै

पोखरा महानगर : एक वर्षसम्म जस्ताको तस्तै

पोखरा ः गत वर्ष जेठ १४ गते पदभार ग्रहण गरेकै दिन पोखरा महानगरका मेयर मानबहादुर जिसीले ३ वटा निर्णयमा हस्ताक्षर गरे। पहिलो निर्णय थियो, महानगरका ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सरकारले उपलब्ध गराउँदै आएको वृद्धभत्तामा महानगरका तर्फबाट १० प्रतिशत थप्ने। दोस्रो, सेवाग्राहीलाई चुस्त तवरले सेवा दिने, काम छिटो गर्ने र नहुने भए कारण देखाउने गरी १० दिनभित्रै महानगरको सेवा छरितो बनाउने। तेस्रो, हिंसापीडित महिलालाई महानगरका तर्फबाट निःशुल्क परामर्श दिने।

जनप्रतिनिधिले साउन १ गतेदेखि लागू गर्ने भनेको वृद्धभत्ता थप्ने निर्णय कार्यान्वयन गर्न सकेन। मेयर जिसीले वृद्धभत्ता थप्ने गरेको निर्णय एक सातामै स्थानीय विकास मन्त्रालयले त्यस्तो नीति निर्माण नगर्न र गरेको भए कार्यान्वयन नगर्न पत्राचार ग¥यो। सेवाग्राहीलाई चुस्त सेवा दिने अर्काे निर्णय पनि कार्यान्वयन भएन। सेवाग्राहीको काम १० दिनभित्र छिटो छरितो गर्ने भनिए पनि एक वर्ष सम्ममा पनि खासै परिवर्तनको छनक देखिएको छैन।

निर्वाचनका बेला जिसीले पोखराका सडकमा परेको खाल्डो २४ घण्टाभित्र पुर्ने नारा दिएका थिए। तर, पोखराका सडकैभर अहिले खाल्डैखाल्डा छन्। गाईवस्तु सडकभर देखिनु पोखरामा सामान्यजस्तै छ। महानगरले भलाम र मौजा गाउँको एउटा सहकारीलाई गाईवस्तु व्यवस्थापनको सम्झौता गरेको थियो तर त्यो प्रयास विफल भयो।

महानगरका मुख्य सडक न्युरोडको दायाँ–बायाँ किनारमा गाडी र मोटरसाइकल यत्रतत्र पार्किङ गरेको देखिन्छ। अति व्यस्त हुने व्यापारिक केन्द्र महेन्द्रपुलमा सडकमै मोटरसाइकल र ट्याक्सी पार्किङले सडक साँघुरो बनाउनु सामान्य भइसकेको छ। अहिलेसम्म पार्किङको उचित व्यवस्थापन महानगरले गर्न सकेको छैन। पार्किङ व्यवस्थापन र पर्यटक बसका लागि बसपार्कलगायतमा ध्यान केन्द्रित गरेको मेयर जिसीको भनाइ छ।

नागरिक समाजका अगुवा रामबहादुर पौडेल भन्छन्, ‘जनप्रतिनिधिको १ वर्षे कार्यकालमा उपलब्धि देखिएन।’ यसबीचमा प्राकृतिक सम्पदा र सार्वजनिक जमिनको संरक्षणसमेत हुन सकेको छैन। साढे २ तलाभन्दा अग्ला घर बनाउन नपाइने मापदण्ड मिचेर पोखरामा थुप्रै घर बनेका छन्। त्यसलाई नियमन गर्न र वैज्ञानिक मापदण्ड बनाउन महानगरले सकेको छैन। चैत अन्तिम साता भवन निर्माण मापदण्ड तथा निर्देशिका महानगरसभाले पारित त ग¥यो तर यसले विकराल समस्याको रूपमा रहेको अव्यवस्थित बसोबासलाई सम्बोधन गर्न सकेको छैन।

आफ्नै स्वामित्वमा सभागृह भएको महानगरले पहिलो नगरसभा नगर विकास प्रशिक्षण केन्द्रमा गरेको थियो। भाँच्चिएका कुर्सी र अव्यवस्थित सभागृह वर्षदिनमा पनि मर्मत भएन। जसोतसो थोत्रो सभागृहमा महानगरले चैतमा नगरसभा सक्यो।

सोझो र इमानदार छविकै कारण चुनाव जितेका मेयर मानबहादुर जिसीले न त्यो छवि बिगारेका छन् न त पोखरालाई सपारेका छन्।

३३ वडामध्ये २२ वटामा मेयरकै तत्कालीन पार्टी एमालेबाट वडाध्यक्ष निर्वाचित छन्। उनका साथमा सजिलो बहुमत छ। मेयर जिसी भने पहिलो वर्ष कानुन बनाउँदैमा बितेको बताउँछन्। ‘अबको ४ वर्ष काम मात्रै गर्ने हो’, उनले भने, ‘अब गर्ने कामको सूची लामो छ। अबको २०÷३० वर्षसम्मका दीर्घकालीन योजना बन्नेछ।’

फेवातालको मापदण्डभित्रै पर्ने गरी ३ सयभन्दा बढी अस्थायी र स्थायी संरचना बनेको महानगरकै अध्ययनले देखाउँछ। तर, ती संरचना भत्काउन वर्षभर मेयर जिसी तातेनन्। १६ वैशाखमा सर्वाेच्च अदालतले ती संरचना भत्काउन र व्यक्तिका नाममा गएको तालको जमिन दर्ता खारेज गर्न सरकारलाई आदेश दिएको थियो। त्यो आदेश पालना गर्ने÷गराउने निकाय पोखरा महानगर नै हो। तर, मेयर जिसीले सर्वाेच्चको आदेशलगत्तै फेवातालको मापदण्ड कार्यान्वयन गर्न र संरक्षणमा काम गर्न सजिलो भएको प्रतिक्रिया मात्रै दिए मूल दायित्व निर्वाह गर्न लागेनन्।

फेवा अतिक्रमणबारे महानगरले खोजी गर्नुपर्नेमा स्थानीयले नै धमाधम सूचना दिइरहेका छन्। महानगरपालिकाका इन्जिनियर महेन्द्रबहादुर गोदारका अनुसार तालसँग सम्बन्धित ८७ उजुरी परेका छन्। तालको मापदण्ड मिचेको, सिमसार क्षेत्र पुरेर घडेरी बनाएकोजस्ता विषय उजुरीमा छन्। तर, सुनुवाइ भएको छैन। मेयर जिसी भन्छन्, ‘फेवातालको गुरुयोजना बनाएर अघि बढ्छौं। सहलगानीमा काम गर्छाैं।’

फेवातालमा मिसिने फिर्केखोला प्रदूषण र अतिक्रमण दुवैको चपेटामा छ। खोलाको दायाँ–बायाँ ६÷६ मिटर खालि हुनुपर्नेमा खोलामाथि पनि घरटहरा बनेका छन्। फिर्केको सीमांकन छुट्याउन २ महिनाअघि काम सुरु गर्दा मेयरले भनेका थिए, ‘मापदण्ड नमिचेकालाई बधाई दिइन्छ, मिचेकालाई बिदाइ गरिन्छ।’ सीमांकन सकिँदा पनि उनले कार्यान्वयन भने सुरु गरेका छैनन्।

२० वर्षसम्म जनप्रतिनिधि नभएको ठाउँमा आफूहरू आएको र त्यसमा फरक संरचनामा आउँदा केही फरक महसुस भएको मेयर जिसी बताउँछन्। तैपनि, वडाबाटै सेवा प्रवाह हुने गरी काम थालेको उनले बताए। ‘सबै वडामा फाइबर इन्टरनेट जोड्ने र महानगरपालिकै सर्भर राखेर सेवा दिने काम सुरु गर्दै छौं’, उनले भने, ‘केही वडामा अधिकृतस्तरकै कर्मचारी खटाउँदै छौं। साउनसम्म सबै वडामा अधिकृत हुन्छन्।’

ग्रामीण क्षेत्रका वडालाई महानगर कार्यालयसम्म सहज पहँुच बनाउन सडकमा जोड दिएको मेयर जिसीले सुनाए। ‘पहिलो त वडामा आउन सक्ने र त्यसपछि महानगरमा आउने गरी १८÷१९ वडा कनेक्टिङ सडक बनाउँदै छौं’, उनले भने, ‘अहिले ट्र्याक खोल्ने र अर्काे वर्षसम्म ग्राभेल गरी बाह्रै महिना एम्बुलेन्स चल्न सक्ने बनाउँछौं।’

उनले वडाबाटै सेवा र महानगर कार्यालयसम्म कनेक्टिङ सडक बनेपछि सबैले महानगरबासी भएको अनुभूति हुने विश्वास व्यक्त गरे। अलकत्र पकाउने मेसिन नै किनेर महानगरले तुरुन्तै खाल्डा पुर्ने योजना बनाएको उनले जानकारी दिए। १७ वटा कानुन बनाइसकेको हुँदा अब कानुन भएन र ऐन भएन भन्ने अवस्था नरहेको मेयर जिसीले बताए। ‘अब योजना बनाएर अघि बढ्ने हो’, उनले भने, ‘आगामी आर्थिक वर्षको बजेटबाटै धेरै समस्या समाधान हुन्छ, दीर्घकालीन योजना बनाउँदै छौं।’ गरिबी मापन सुरु गरिसकेको र भूउपयोग योजना बनाउने तर्खर गरेको जानकारी जिसीले दिए।

०००००

पोखराको चल्तीको बजार नयाँबजारको नवप्रभात स्कुल जाने सडकमा जमेको पानी तर्कंदै विद्यार्थी। मेयर मानबहादुर जिसीले सडकमा परेको खाल्डो २४ घण्टाभित्र पुर्ने नारा दिएर चुनाव जितेका थिए। तस्बिर सौजन्य ः युनिश गुरुङ


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.