कविता : कानको कुन्डल

कविता : कानको कुन्डल

काठमाडौंको वैशाख। बेठेगानको मौसम। चर्को घाम लाग्नुपर्ने दिन पानी परेर हैरान। भारतको सिलगुढीबाट आएका कवि राजा पुनियानीले ओसिलो साँझलाई तताइरहेका थिए कविता सुनाएर। त्यो उनको एकल प्रस्तुति थियो। तर, ‘कवितावाचन’ पक्कै होइन। सहरमा ‘एकल कवितावाचन’को आफ्नै परिभाषा छ। कवि मञ्चमा उभिन्छ। मसिनो स्वरमा भलाद्मी बनेर बडो भावुक हुँदै लयमा कविताका पंक्ति भन्छ। त्यसैले राजाको एकल प्रस्तुति ‘कवितावाचन’ थिएन। ठूलोठूलो स्वरमा तीव्र रफ्तारका साथ हाउभाउले कविता पढ्ने उनको कार्यक्रमको नाम दिइएको थियो –कविता कन्सर्ट।

पन्जाबी बाबु र नेपाली आमाबाट जन्मिएको वर्णशंकर कवि पुनियानीको कविता पनि विचार र शैलीको वर्णशंकर बनोट हो। कविताको आम परिभाषाभन्दा निकै पर छन् उनका कविता। उनी कवितालाई ‘दार्जिलिङ’देखि ‘कश्मीर’सम्म लैजान्छन्। सुललित, सरल, माधुर्य हुनुपर्ने कविताको परम्परागत विधानभन्दा पर उनका कविता कर्कश, होहल्ला, आक्रोश र रोदनले भरिएका हुन्छन्। त्यसैले राजाको कविता पढेर पुग्दैन, सुनेर पनि पुग्दैन। हेर्नैपर्छ। हालै उनले युट्युबमा सार्वजनिक गरेको कविता ‘भ्रम पहाड’ हेर्ने जो कोहीलाई पनि उनी कर्कश आवाजको कविता कति शक्तिशाली हुन्छ भन्ने बोध गराइदिन्छन्। सामाजिक यथार्थलाई कुनै रङरोगन नगरी नांगो रूपमा छ्यालब्याल्ल पारिदिनु उनको कविताको ‘पुनियानी स्टाइल’ हो। त्यसमा उनको वाचन र प्रस्तुतिले ज्यान दिन्छ।

‘आई एम इन काठमान्डु’, बिहानै पठाएको फेसबुक म्यासेजमा राजा पुनियानी उत्साही देखिन्थे। त्यसो त यसअघि काठमाडौंका मञ्चमा दुईपटक कविता सुनाइसकेका राजाको यो पहिलो एकल ‘कन्सर्ट’ थियो। झरिलो साँझमा नेपाली, हिन्दी, बंगाली र अंग्रेजी भाषामा करिब बाह्र राउन्ड कविता सुनाएर थिएटरको वातावरण नै तताएपछि पुनियानीले दीपक सापकोटासँग कविताबारे आफ्ना मत–विमत यसरी राखे :


कविताः एउटा बटरफ्लाई

कविता ठेगाना नलेखिएको भान्काको चिठी (आन्तोन चेखबको कथा ‘भान्का’को पात्र) हो। त्यो चिठी, जसमा भान्काले आफ्नो समस्त गुनासो, दुखेसो, ऊहापोह दुखी पन्ना भरिभरि लेखेको छ। बाजेकहाँ कहिल्यै पुग्न नसकेको त्यो रोम्यान्टिक चिठी खासगरी पुग्न नसकेकोले नै त सुन्दर छ। कविता जिन्दगीसँग गरिएको बालसुलभ रोम्यान्टिक गुनासो हो, यसैले।

कविता कानको कुन्डल जस्तै त हो नै। कानको काम सुन्ने। कुन्डलले त्यो कानको कानपनलाई अझ सुन्दर बनाइदिन्छ। कविता त्यसैले सौन्दर्य हो। सौन्दर्य सधैं चाहिने थोक हुन्न पनि।

कविता चिया जस्तै पनि। खाँदा पनि हुने, नखाँदा पनि हुने। तर, खाइएको बेला मानिसलाई नशा दिने। एक किसिमको। सोचलाई तान्ने। झकझकाउने। चिथोर्ने। मुसार्ने। कविता यसैले नशा पनि हो।

कविता ध्वनि हो। ध्वनियुक्त ध्वनि। ध्वनिहीन ध्वनि। यस्तो ध्वनि जसलाई सुन्न फिजिकल कानले मात्र पुगेन। यसलाई सुन्न मेन्टल कान चाहियो। त्यसैले कविता न्याचुरल पनि हो र प्यारान्याचुरल पनि।

कविता नक्सा हो। त्यो नक्सा, जुन बनाइन्छ र फेरि फ्रस्टेटेड बन्छ चित्रकार। र, फेरि अर्को चित्र बनाउनतिर लाग्छ। उसले जीवनभरि चाहेर पनि बनाउन नसकेको चित्र कविता हो। यसैले कविता पीडा हो।

कविता गीत–गीत जस्तै पनि त हो। गाउनेले कहिल्यै गीत गाएको हुन्न। गीत त उसले गाइरहेको गीतको चेपचापमा फुल्छ र ओइलाउँछ। ओइलाउँछ र झर्छ। त्यसैले कविता कसैले गाउनै नसकेको गीतको सुस्केरा हो।

कविता सिनेमा पनि हो– ‘बाइसाइकल थिभ्स’, ‘सारांश’, ‘टाइट्यानिक’, ‘बम्बे’, ‘नोम्यान्स ल्यान्ड’, ‘कबड्डी’जस्तै। जो हेरिन्छ र भुलिन्छ। भुलिन्छ र त्यो सिनेमाबारे याद रहन्छ। त्यो सिनेमाले भनेको खास कुरा जमिबस्छ मनको गुप्ती कोठामा। भुलिएको बेयाद यादहरू नै कविता हो।

कविता आगो हो। आगो जसले पोल्छ र छुन्छ। छुन्छ र डढाउँछ। डढेको छैन जीवन भने के जीवन ! जीवनलाई ननंग्याई त जीवन फिल गर्नै गाह्रो। सारा जीवन जिइसकेर त्यो आगोलाई मिस गरियो भने त चिताको आगो मात्र जीवन बन्छ।

कविता मीठो सनक हो। नर्मल मान्छेले पनि कविता लेखिरहेकै हुन्छ दैनन्दिन अनुभवबाट। मनको पन्नामा। तर, रियल पोएटले गरेको कविता भनेको हाइपरनर्मल अवस्थामा हो। कतै पनि लेख्न सकिन्छ कविता। घर, पार्क, स्कुल, सागर–किनार, पर्वतको काख, सेक्स, पब, बजार कतै पनि। कहिल्यै पनि। केवल चाहिएको त सनक हो।

कविता बन्दुक पनि हो। यस्तो बन्दुक जसले मान्छे मार्दैन। जनावर मार्दैन। यसको कारतुसले छेड्छ कुनै भित्ताजस्तै भित्ता– शोषणको, ट्याबुको, कु–संस्कारको, अपसंस्कृतिको, अपठनको, अजीवनको। यो त्यो हुतिहाराहरूको बन्दुक हो जसले सधैं हार्दै आए र फेरि हार्लान्। र, कुनै दिन उठ्लान्।       

कविता कहिल्यै नगइएको त्यो ठाउँहरू हो जुन प्रायः सपनामा देख्ने गरिन्छ। तर, कति सपना यस्तो हुन्छ जुन पूरा पनि हुन्छ वा पूरा भएजस्तै पनि हुन्छ पूरा नभइकनै। कविता सपनादेखि माथिल्तिर, पर्तिर, उतातिर पर्खिरहेको पाखा हो। पाखामै सुरु भएको भिर हो। भीरबाट खसेको नदी हो। नदीमै जन्मेको टापु हो। टापुमा उम्रेको फूलको बोट हो। फूलमा उडेर आएको बटरफ्लाई हो। कविता खासमा सपना हो– सपनादेखि परको सपना।

पर्फर्मेन्स पोएट्री

कविताको चरालाई पाठको पिँजडाको दैलो उघारेर उड्न छाडिदिने सिर्जनशीले सनकीपन हो – पर्फर्मेन्स पोएट्री। कविता त सबैले लेख्छन्। पर्फर्म गर्न भने समाधि वा ध्यानको लेभलमा पुग्न सक्नुपर्छ। कवितालाई कागज वा स्क्रिनबाट निकालेर छातीमा टाँसेपछि मात्र त्यो सम्भव छ। त्यसपछि छातीबाट त्यो कविता नसानसामा खुनसँगै दबाइ वा विषजस्तै फैलिन्छ।

कविता जादुजस्तै हो। बसी–बसी देखाउन नसकिने। पूरै बडी ल्याङ्वेजका साथ पर्फर्म गरिनैपर्ने आर्ट फर्म।

कवितामा ध्वनि छ, इमेज छ, मोसन छ। त्यसैले यो पाठमा शाब्दिक इशारा मात्र हो।

अमेरिका–युरोपतिर पर्फर्मेन्स पोएट्री व्यावसायिक भइसक्दा पनि हाम्रोमा कविता पर्फर्म गर्दा अझै पाच्य भएको छैन। कवितालाई पढेर आत्मसात् गर्नु एउटा कुरा। हेरेर संवादमा आउनु अर्को कुरा। पढेर र हेरेरचाहिँ कविताको कम्प्लिट कम्प्रिहेन्सन गर्छ, कविताको उपभोक्ता वा पाठक वा भिउअरले।

कविताः मेरो सपना

कविता किन लेख्छु – खासै थाहा छैन।

खासमा आग्रहको पुञ्ज हो कविता लेखन। दबाएर दबाउनै नसकिने वा फ्याँकेर फ्याँक्नै नसकिने। म कविता किन लेख्छु भने कविता लेख्नैपर्ने हुन्छ। अथवा यसो भनौं, कविता नलेखी मलाई धर छैन। कविता लेख्ने काम नै त हो आखिर ढुक्कले वा ढुकढुकिँदै गरिएको।

तर, अचेल म आफ्नै कवितासँग डराइरहेको हुन्छु। आफ्नै कवित्वप्रति अविश्वास गरिरहेको छु। आफ्नै कविताका फाइलहरू कम्प्युटरमा खोल्दा शंकाको चील उड्छ स्क्रिनभरि। व्यंग्यको कमिलाले चिलिरहन्छ।

मलाई लाग्छ– मैले कविता लेख्दा बाँचेको वा बाँच्न खोजेको बोध हुन्छ।

अर्को कुरा– कवितामार्फत उठाउन सकिएको जीवन र समाजको मुद्दा, सरोकारका सवाल कवितामार्फत नै उठाउन सकिन्छ। कविता छैन भने म त सपना देख्नै छाडिदिन्छु।

‘आम मानिसले सामान्य भनिदिने दैनन्दिन जीवनका घटनालाई म कवितामा गम्भीरतापूर्वक उठाउँछु। सामान्य हुँदाहुँदै कहिलेकाहीँ ती ‘सामान्य’बाट ‘असामान्य’का फिँजहरू गुजगुजिन्छन्। कतिपय ‘सामान्य’को खोलाबाट यस्ता अद्भुत माछाहरू निस्कन्छन्, जुन कहिल्यै नदेखिएका स्पेसिसमा पर्ने गर्छन्।

मलाई थाहा छ, मेरो कविताको आत्मामा छन् – इतिहासमै नलेखिएको प्रेमपीडा, सिमान्तीकृतको राजनीति, हारेको मान्छेको दर्शन, पिछडिएको भूगोल, अग्र्यानिक संस्कृति र जिउँदो सपना।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.