एकता असाधारण घटना : अध्यक्ष दाहाल
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकता सामान्य परिघटना नभइ असाधारण रहेको बताएका छन्। संघीय संसद् भवन नयाँ बानेश्वरमा शनिबार बसेको नेकपाको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले एकता प्रक्रिया नेपालको मात्रै नभइ विश्वकै असाधारण घटना भएको बताए ।
कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन र नयाँ परिस्थितिमा समाजवादको यात्रा तय गर्नका लागि नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)को एकताले मार्ग प्रशस्त गरेको उल्लेख गरे ।
दुई पार्टीको एकतापछि देश र विदेशबाट बधाईका सन्देश लगातार आइरहेको जानकारी दिँदै उनले विश्व समुदायले पनि नेपालको पछिल्लो राजनीतिक घटनालाई नजिकबाट नियालिरहेको बताए।
आफूहरुको काँधमा महत्वपूर्ण जिम्मेवारी आएको उल्लेख गर्दै उनले, ‘जनताको अपेक्षा पूरा गर्न र देशलाई आर्थिक समृद्धिको दिशामा लैजान पनि एकता इतिहासकै महत्वपूर्ण घटनाक्रमका रुपमा स्थापित भएको छ ।'
इतिहास, नेपाली जनता र देशले दिएको जिम्मेवारी पूरा गर्ने लक्ष्यका साथ आफूहरु एकीकृत रुपमा अगाडि बढ्ने संकल्प गरेको र त्यो पूरा भएको उनको भनाइ छ ।रासस