सैनिक र बुढानिलकण्ठ फाइनलमा

सैनिक र बुढानिलकण्ठ फाइनलमा

भक्तपुर : आयोजक सैनिक आवासीय महाविद्यालय र बुढानिलकण्ठ स्कुल भक्तपुरमा जारी १७ औं अन्तरस्कूल सैनिक रनिङ्ग शिल्ड फुटबल प्रतियोगिताको उपाधिको लागि आमनेसामने हुने भएका छन्।

भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयद्वारा आयोजित प्रतियोगिताअन्तर्गत शनिबार भएका सेमिफाइनलमा जीत हात पार्दै आयोजक सैनिकको ए टीम र बुढानिलकण्ठले उपाधि भिडन्त निश्चित गरेका हुन्।

सैनिकको ए टीमले आफ्नै स्कुलको बी टीमलाई ५–० गोलले पन्छाएको थियो। सैनिक ए का लागि उत्तम शाही र प्रमिश गुरुङले दुईदुई तथा विशाल बुढाथोकीले एक गोल गरेका थिए।

उक्त खेलमा सैनिक बी माथि एटीम हाबी भएको थियो तर दोस्रो सेमिफाइनल खेलमा कडा प्रतिस्पर्धाबीच बुढानिलकण्ठले नेपाल प्रहरी स्कुललाई ३–२ ले हरायो। आक्रमक रुपमा प्रस्तुत भएको बुढानिलकण्ठले पहिलो हाफको ११ मिनेटमा गोल लक्षित गरी ५ वटा प्रहार गरेका थिए। तर बलले जाली चुम्न सकेन। उक्त अवधिभित्र तीनवटा कर्नरसमेत प्रहार गरेको बुढानिलकण्ठले चौधौं मिनेटमा एक गोल गरेरै छोडेको थियो। उसको लागि हेमन्त गुरुङले गोल गरेका थिए।

बुढानिलकण्ठको दबाब झेल्दै नेपाल प्रहरीले पनि १८ मिनेटभित्र गोल लक्षित गरी दुई प्रहार गरेको थियो। प्रतिस्पर्धात्मक खेल भइरहँदा बुढानिलकण्ठको ठूलो डी बक्सभित्र बल हातमा छोएपछि नेपाल प्रहरीलाई पेनाल्टी दिइएको थियो। उक्त पेनाल्टी प्रहारलाई नेपाल प्रहरीका साजन नेपालले सीधै गोलपोस्टभित्र छिराउँदै खेल बराबरीमा ल्याए।

खेलको ४३ औं मिनेटमा विकास भण्डारीले गोल गर्दै पुनः बुढानिलकण्ठको अग्रता बढाए। त्यस्तै ६५ औं मिनेटमा निशान्त बिकले गोल फर्काउँदै नेपाल प्रहरीलाई पुनः दुईदुई को बराबरीमा ल्याए तर खेल सकिन दुई मिनेट बाँकी छँदा क्षितिज राणाले गोल गर्दै बुढानिलकण्ठलाई पुनः अग्रता दिलाए। जुन गोल नै उक्त खेलको निर्णायक गोल सावित हुँदा बुढानिलकण्ठले फाइनलको यात्रा तय गरेको थियो।

काभ्रेसहितका काठमाडौं उपत्यका १७ विद्यालयको सहभागिता रहेको प्रतियोगिता सोमबार हुने आयोजक सैनिक स्कुलका स्पोर्टस् इन्चार्ज रञ्जित राणाले जानकारी दिए। उनका अनुसार प्रतियोगिताका विजेताले उपाधिसँगै २० हजार नगद पुरस्कार पाउँदा उपविजेताले दस हजार रुपैयाँमै चित्त बुझाउनुपर्नेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.