पूरा भएन रियल मड्रिडको दोस्रो हुने योजना
काठमाडौं : स्पेनिस ला लिगाको यस सिजनको अन्तिम खेलमा बराबरीमा रोकिएपछि रियल मड्रिडको दोस्रो स्थानमा रहँदै यस सिजनको अन्त्य गर्ने योजना सफल हुन सकेन । शनिबारको खेलमा भिल्लारियलसँग २-२ को बराबरीमा रोकिदाँ रियल मड्रिडको दोस्रो स्थानमा उक्लने सम्भावना समाप्त भएको हो ।
भिल्लारियलको घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडका लागि रोनाल्डो र बेलले १-१ गोल गरे । बेलले ११ औ र रोनाल्डोले ३२ औं मिनेटमा गोल गरेका हुन् । खेलको ७० मिनेटसम्म २-० ले अघि रहेको रियल मड्रिडले ७० औं मिनेटमा गोल खान पुग्यो ।
६७ औं मिनेटमा मैदान छिरेका रोजर मार्टिनेजले भिल्लारियलका लागि पहिलो गोल गरे । ७७ औं मिनेटमा छिरेका सामु कास्टिलेजोले ८५ औं मिनेटमा गोल गरी खेललाई बराबरीमा पुर्याए ।
लिगका सबै ३८ खेल सकिँदा रियल मड्रिडको ७६ अंक छ । दोस्रो स्थानमा रहेको यथ्लेटिको मड्रिडको ७८ अंक रहेको छ । रियल मड्रिडले यस खेल जितेको भएमा पनि दोस्रो स्थानमा रहँदै लिग समाप्त गर्ने निश्चित भने थिएन । दोस्रो स्थानमा रहेको यथ्लेटिको मड्रिडले आइतबार आफ्नो अन्तिम खेल इआइवरसँग खेल्दैछ यदि यस खेलमा यथ्लेटिको मड्रिड पराजित भएको खण्डमा अंक बराबर हुने र गोलअन्तरमा अघि रहेको रियल मड्रिड दोस्रो स्थानमा रहने थियो ।
रियल मड्रिड गत सिजनको ला लिगाको उपाधि विजेता हो । यस सिजनको उपाधि भने चार खेल अगाबै बार्सिलोनाले कब्जा गरिसकेको छ ।