सरदार भक्ति थापा जन्मस्थललाई पर्यटकीय गन्तव्य बनाइँदै

सरदार भक्ति थापा जन्मस्थललाई पर्यटकीय गन्तव्य बनाइँदै

बेसीशहर : वीर योद्धा भक्ति थापाको जन्मस्थललाई पर्यटकीय गन्तब्य बनाउन स्थानीय लागिपरेका छन्। थापाको जन्मस्थान मर्स्याङ्दी गाउँपालिका–३ ढंगैबेसीमा अर्धकदको शालिक निर्माण गरिएको छ। यहाँ संग्राहलय, पार्क तथा अन्य पर्यटकीय संरचनाको निर्माण पनि सुरु भएको छ।

सरदार भक्ति थापाको जन्मस्थल संरक्षण, सम्वर्द्धन तथा विकास समितिले राष्ट्रिय विभूति घोषणा गरेर उनको जन्मस्थलको विकासमा राज्यले सहयोग गर्नुपर्ने माग राखेको छ। शनिबार भक्ति थापाको शालिक अनावरण कार्यक्रमका सहभागीले नेपालको एकीकरणमा महत्वपूर्ण योगदान पुर्‍याएका वीर भक्ति थापालाई राज्यले सम्मान गर्न नसकेको भन्दै उनलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने धारणा राखे। 

शालिक अनावरण गर्दै प्रदेश ४ का उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले राज्यको तर्फबाट भक्ति थापाको योगदानको कदर गरेर राष्ट्रिय विभुती घोषणा गर्न पहल गर्ने आश्वासन दिए। थापाले पुर्‍याएकोे योगदानको कदर आवश्यक रहेको उल्लेख गर्दै मन्त्री लम्सालले वीर योद्धाहरूकै कारण नेपालीको शीर उच्च रहेको बताए। मन्त्री लम्सालले वीर योद्धाहरूको उचित सम्मानका लागि राज्य तयार रहेको तर त्यसका लागि इतिहासको सही विश्लेषण हुन आवश्यक रहेको बताए।

नेपालको एकीकरणमा महत्वपूर्ण योगदान पुर्‍याएका वीर भक्ति थापालाई राज्यले समेट्न नसकेको भन्दै उनलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने वीर भक्ति थापा राष्ट्रिय एकता केन्द्रका अध्यक्ष एवं पूर्व एआईजी रोहित थापाले बताए। ‘नेपालको इतिहासमा महत्वपूर्ण भूमिका खेलेका यस्ता व्यक्तित्वको बारेमा अध्ययन अनुसन्धान गरी वीरहरूको सहादतलाई राज्यले बुझ्नुपर्छ’, उनले भने।

मर्स्याङ्दी ३ खुदी ढगैबेंशीमा थापाको शालिकसँगै संग्रहालय निर्माण, भक्ति थापा पार्क सहितको पिकनिक स्थल निर्माण सुरु गरिएको भक्ति थापा जन्मस्थल संरक्षण सम्वर्द्धन तथा विकास समितिका सचिव तीर्थ बस्नेतले बताए।

अर्धकदको शालिक निर्माण र पार्क बनाउनका लागि मर्स्याङ्दी ९ सिम्पानीका स्वर्गीय टुकमान थापाले २ रोपनी ८ आना १ दाम जमिन निःशुल्क उपलब्ध गराएका थिए।

भक्ति थापाको जन्मस्थानको प्रचारप्रसार, संरक्षण र पर्यटकीय गन्तव्य बनाउनका लागि हसिंङडाँडामा बास बस्ने धर्मशाला, खानेपानी र शौचालयको व्यवस्था गरिएको छ। भक्ति थापाको जन्मस्थालमा पार्क तथा शालिक निर्माणका लागि चेतबहादुर थापाको संयोजकत्वमा ११ सदस्यीय भक्ति थापा जन्मस्थल संरक्षण तथा सम्बर्द्धन समिति गठन गरि काम अघि बढाइएको थियो। 

वि.सं. १८०२ सालमा खुदीको ढंगैबेसीमा जन्मिएका भक्ति थापाको वाल्यकाल बितेको ढंगै क्षेत्र, बस्तुभाउ चराउने, छेलो हान्ने गरेका काँडेचौर, हर्सिङडाँडाको संरक्षण गर्दै पर्यटकीय गन्तव्य बनाउने अभियानमा लागेको मर्स्याङदी ३ का अध्यक्ष प्रेमबहादुर बस्नेतले बताए।

भक्ति थापा विसं १९७१ मा नेपाल–अंग्रेज युद्धको बखत नेपालका वरिष्ठ सैनिक थिए। उनी लमजुङ जिल्लाको पुँवर थापा परिवारमा जन्मेका हुन्। उनी पहिले लमजुङका राजा केहरिनारायण शाहका सेनाका सरदार भएकाले लमजुङका तर्फबाट धेरैपटक युद्ध लडेको इतिहास छ। गोरखासँगको अन्तिम युद्धमा पराजित भई युद्धवन्दीका रुपमा काठमाडौं पुगेको करिब एक वर्ष पछि उनी नेपाली फौजका सरदार भई नेपाल एकीकरण अभियानमा संलग्न भएका थिए। 

१८७८ मा ७३ वर्षको उमेरमा नेपाल अंग्रेज युद्धमा देउथलको लडाईंको नेतृत्व उनले गरेका थिए। देउथलमा अंग्रेज विरुद्ध तरबारसहित तीनसय सेना लिएर युद्ध गरेका थापाको अंग्रेजको गोली लागेर मृत्यु भएको थियो।

अंग्रेज सेनाले गोर्खाली सेनाको वीरताको कदर गर्दै थापाको शवमा दोसल्ला ओडाएर सम्मानकासाथ अमरसिं थापालाई बुझाएको इतिहास छ।
दाङको लमही र लमजुङको राईनासकोटमा पनि थापाको शालिक बनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.