भूकम्पपीडितलाई पैसा बाँड्दै आईएनजीओ
गोरखा ः भूकम्पपछि गोरखा आएको क्याथोलिक रिलिफ सर्भिस (सीआरएस) नामक आईएनजीओले भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि राहतका नाममा पैसा बाँडिरहेको छ। तत्कालीन जिल्ला दैवीप्रकोप उद्धार समितिले भूकम्प गएको ६ महिनापछि राहत वितरणमा रोक लगाएको थियो तर सीआरएसले हालै तीन करोड रुपैयाँ वितरणको तयारी गरेको छ।
जीविकोपार्जन कार्यक्रममार्फत तीन हजार किसान परिवारलाई बाख्राको खोर बनाउन सहयोगको बहानामा सीआरएसले प्रतिपरिवार १० हजार रुपैयाँका दरले पैसा बाँड्ने तयारी गरेको हो। कारितास नेपाल, स्वाँरा सघन गाउँ विकास केन्द्र र पद्धति विकास सेवा केन्द्रलाई स्थानीय साझेदार संस्था बनाएर सीआरएसले पैसा बाँडेको उनीहरूको भनाइ छ।
सीआरएसले कारितासमार्फत आठ सय ५० घरधुरीलाई, स्वाँरा सघनमार्फत आठ सय ५० घरधुरीलाई र पद्धति विकास सेवाकेन्द्रमार्फत करिब नौ सय घरधुरीलाई १० हजार रुपैयाँका दरले पैसा बाँडेको जनाएको छ।
कारितासले गोरखा नगरपालिका वडा नं ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ का आठ सय ५० घरधुरीका बासिन्दालाई भूकम्प पुनर्लाभ तथा पुनस्र्थापना कार्यक्रमको नाममा १० हजार रुपैयाँका दरले पैसा बाँड्ने तयारी गरेको कारितासका कार्यक्रम संयोजक कमल श्रेष्ठले बताए। ‘बाख्राको खोर बनाउन सहयोग गर्ने भनेर हामीले एक घरलाई १० हजार रुपैयाँ दिन लागेका हौं’, श्रेष्ठले भने, ‘बाख्राको खोर बनाउन चाहनेहरूको निवेदन एक महिनाको अवधिभित्र संकलन गरिसकिएको छ। दुई वटादेखि १० वटासम्म बाख्रा पाल्ने किसानलाई हामीले खोर बनाउन १० हजार रुपैयाँ सहयोग गर्न लागेका हौं’, श्रेष्ठले भने, ‘फिनाम र नारेश्वरमा भने व्यक्ति छनोट गरेर वितरणको अन्तिम चरणमा पुगेको छ।’
एनजीओको पैसा बाँड्ने कार्यक्रममा जनप्रतिनिधिहरूले पनि सघाइरहेका छन्। ‘किसान छनोट गर्न जनप्रतिनिधिको सहयोग लिइएको छ’, कारितासका श्रेष्ठले भने। गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले बाख्राको खोर बनाउन १० हजारका दरले रकम वितरण गर्न अनुमति दिइसकेको सकारेका छन्। ‘संस्थाको प्रावधानअनुसार भूकम्पपीडित, एकल महिला, वृद्धवृद्धा, बाख्रा भए÷नभएको तथ्यांक लिएर मात्रै उक्त रकम वितरण हुनेछ’, उनले भने, ‘हामीले उक्त रकमहरू दुरुपयोग हुन नदिन सहयोग गरेका छौं।’
त्यस्तै स्वाँरा सघन गाउँ विकास केन्द्रले पनि आठ सय ५० घरधुरीलाई १० हजार रुपैयाँका दरले पैसा बाँड्ने तयारी गरेको जनाएको छ। एक हजार तीन सय ५० घरधुरीलाई गत वर्ष नै रकम बाँडिसकेको भन्दै स्वाँरा सघन गाउँ विकास केन्द्रले यो वर्ष पनि उक्त कार्यक्रम दोहो¥याएको सो संस्थाका सनद श्रेष्ठ बताउँछन्। ‘पोहोर पनि एक हजार तीन सय ५० किसानलाई पैसा बाँडेको हो’, श्रेष्ठले भने, ‘यो वर्षका लागि पनि कसलाई दिने भनेर अहिले धमाधम किसान छनोट गर्ने काम भइरहेको छ।’ स्वाँरा सघनले साबिकको तान्द्राङ आरुचनौटे आरुआर्वाङ, थुमी, लापु र मान्बु गाविसमा पैसा वितरण गर्ने अन्तिम तयारी गरेको जनाएको छ।
त्यस्तै पद्धति विकास सेवा केन्द्रले पनि करिब नौ सयभन्दा धेरै किसानलाई बाख्राको खोर बनाउने नाममा १० हजारका दरले रकम बाँड्ने तयारी गरेको छ। पद्धतिले जिल्लाको ताप्ले, बुंकोट र आरुपोखरीमा उक्त पैसा वितरण गर्न लागेको सो संस्थाकी दुर्गा न्यौपानेले जानकारी दिइन्। उनका अनुसार बुंकोट र आरुपोखरीका केही घरधुरीलाई पैसा बाँडिसकिएको छ।
सीआरएसका जीविकोपार्जन कार्यक्रमका कर्मचारी प्रचण्ड कट्टेलले गत वर्षको कार्यक्रमलाई निरन्तरता दिएको जानकारी दिए। ‘गतवर्ष नै सम्पन्न हुनुपर्ने कार्यक्रम हो, प्राविधिक कारणले सकिएन। यो वर्ष त्यही पुरानो कार्यक्रमको निरन्तरता हो’, कट्टेलले भने।
पैसा बाँड्ने कार्यक्रमलाई जिल्लास्थित दैवीप्रकोप उद्धार समितिले अनुमोदन नगरेपछि सीआरएसले समाज कल्याण परिषद्बाट सीधै अनुमोदन गरेर ल्याएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गोरखाका शिव पौडेलले जानकारी दिए।