आफ्ना नागरिक फिर्ता गर्न दक्षिण कोरियालाई उत्तरको आग्रह

आफ्ना नागरिक फिर्ता गर्न दक्षिण कोरियालाई उत्तरको आग्रह

प्योङयाङ : उत्तर कोरियाले दक्षिण कोरियामा रहेका भनिएका आफ्नो देशका महिलालाई स्वदेश फिर्ता गर्न माग गरेको छ ।करिब दुई वर्षअघि आफ्नो देशका नागरिकलाई दक्षिण कोरियाका गुप्तचर अधिकारीले अपहरण गरेर लगेको बताएका उत्तर कोरियाको भनाइ छ । ती महिलालाई मुक्त गरी स्वदेश फिर्ता गर्न उत्तर कोरिया सरकारले माग गरेको उत्तर कोरियास्थित रेडक्रस सोसाइटीका प्रमुखलाई उद्धृत गर्दै उत्तर कोरियाको सरकारी समाचर समिति केसिएनएले जनाएको छ ।

ती महिलालाई दक्षिण कोरियाविरोधी क्रियाकलापमा लागेको भनेर अपहरण गरिएको थियो । उनीहरूलाई उत्तर कोरियाबाट नभएर उनीहरू कार्यरत रहेको अर्कै देशबाट अपहरण गरेर त्यहाँ ल्याइएको थियो । उक्त अपहरणको उत्तर कोरियाले त्यतिखेरै विरोध गरेको थियो । उनीहरूलाई तुरुन्त रिहा गरेर पछिल्लो समयमा विकसित शान्ति र सौहार्द वातावरणको सम्मान गर्न उत्तरले आग्रह गरेको छ।

यसैगरी उत्तर कोरियाले दक्षिण कोरियालाई दक्षिण कोरियाली राजधानी सोलमा भइरहेको अमेरिकी सैनिकसँगको संयुक्त सैन्य अभ्यास रोक्न फेरि पनि आग्रह गरेको छ । संयुक्त सैन्य अभ्यास सोलमा जारी रहेको भन्दै उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीको बुधबार बस्ने भनिएको बैठकसमेत उत्तर कोरियाले रोकेको थियो ।

सोलमा दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यास भइरहेको छ । उत्तर कोरियाले उक्त अभ्यासको विरोध गर्दै आएको छ । सैन्य अभ्यास रोक्न उत्तर कोरियाले बिहीबार पनि आग्रह गरेको थियो । दक्षिण कोरियाली र अमेरिकी सैन्य सम्मिलित उक्त हवाई सैन्य अभ्यास यही मे २५ सम्म जारी रहने जनाइएको छ । 

उत्तर कोरियाले भने सैन्य अभ्यास तत्कालै रोक्नुपर्ने माग गरेको छ । दक्षिण कोरियामा अहिलेसम्मकै सबैभन्दा ठूलो सैनिक अभ्यास शुरु भएको समाचारपछि नै उत्तर कोरियाले त्यसको विरोध गर्दै आएको छ । संयुक्त सैनिक अभ्यासले दुई कोरियाबीच गत अप्रिल २७ मा सम्पन्न शान्ति सम्झौताको पनि उल्लंघन गरेको उत्तर कोरियाको भनाइ छ । गत बिहीबार उत्तर कोरियाले उक्त सैनिक अभ्यास तत्कालै अन्त्य नगरे अमेरिकासँग हुने भनिएको बैठक पनि नगर्ने चेतावनी दिएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा उच्चस्तरीय बैठक हुन लागेको छ । अमेरिका र उत्तर कोरियाले वार्ताका लागि तयारी गरिरहेको बताइरहेका छन् ।

उत्तर कोरियाले दक्षिण कोरियासँग केही सातापूर्व सम्पन्न समझदारी र शान्ति सम्झौताको पालना गर्न पनि आग्रह गरेको छ । गत अप्रिल २७ मा उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच ऐतिहासिक वार्ता र शान्ति सम्झौता भएको थियो । उक्त शान्ति सम्झौता कार्यान्वयनका लागि आफूले त्यसैबमोजिमको काम गरिरहेको भए पनि दक्षिण कोरियाका तर्फबाट भने त्यसको पालना हुन नसकेको उसको आरोप छ । 

उत्तर कोरियाले अप्रिल २७ को शान्ति सम्झौताको कार्यान्वयनको शुरुआत गरेको जनाएको छ । उत्तरले आफूले आणविक अस्त्र उत्पादन र परीक्षणको काम पनि स्थगित गरेको जनाएको छ । आफूहरूले आणविक परीक्षणस्थल भत्काउने, आणविक अस्त्रको उत्पादन रोक्ने तथा आफ्नो जेलमा रहेका अमेरिकी र दक्षिण कोरियाली अधिकारीलाई पनि रिहा गरिरहेको तर दक्षिणले भने केही नगरेको उत्तरको आरोप छ ।

ट्रम्प-मुन फोनवार्ता

सोल : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीचमा आइतबार उत्तर कोरियाको बारेमा फोनवार्ता भएको छ।
अमेरिकासँगको शिखर बैठक नगर्ने भनी उत्तर कोरियाले चेतावनी दिएपछि भएको यो कुराकानीलाई निकै महत्वका साथ हेरिएको छ । फोनवार्ता उत्तर कोरियामा नै केन्द्रित भएको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

अमेरिकाले यसअघिको सहमतिविपरीत संयुक्त सैन्य अभ्यासका विषयमा विवाद उत्पन्न गराएको भन्दै उत्तर कोरियाले अमेरिकासँगको शिखर वार्ता नगर्ने चेतावनी दिँदै आएको छ । अमेरिकासँगको विवादकै कारण उत्तर कोरियाले दक्षिण कोरियाका उच्च अधिकारीहरूसँगको बैठक पनि अन्तिम समयमा आएर स्थगित गरेको थियो ।

टेलिफोनमा भएको ट्रम्प र मुनको कुराकानीका क्रममा दुई देशले अझ नजिक भएर सहकार्य गर्ने समझदारी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । ट्रम्पलाई भेट्न मुन आगामी मंगलबार वासिङटन जाने कार्यक्रम छ । उत्तर कोरिया र अमेरिकाको शिखर वार्तालाई सफल बनाउने वातावरण बनाउन भन्दै मुन वासिङटन जान लागेका हुन् । उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच जुन १२ तारिखमा सिंगापुरमा शिखर वार्ता गर्ने तय भएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.