पैसाले मात्र खुसी दिँदैन
बेलायती अर्थशास्त्री रिचर्ड लेयर्डलाई ‘खुसीका राजा’ भनेर संसारभर चिनिन्छ। उनले खुसीयालीको विषयमा गहन अध्ययन गरेर यस विषयमा थुप्रै किताब पनि लेखेका छन्। उनको हालै प्रकाशित ‘द ओरिजिन्स अफ ह्यापिनेस’ पनि चर्चित छ। बेलायतको उच्च सदनमा पनि उनी निकै नजिक छन्। उनले बेलायतमा खुसीयाली बढाउने नीति बनाउन सरकारलाई सहयोग गर्दै आएका छन्।
उनको अध्ययनअनुसार मानिसलाई खुसी राख्न बाहिरी र आन्तरिक गरी दुई कारण हुन्छन्। बाहिरी कारणअन्तर्गत मानिसको आम्दानीले जीवनलाई सुखी बनाउन महत्वपूर्ण भूमिका निभाएको हुन्छ। तपाईंको जागिर छ र तपाईंले अरूको भन्दा धेरै तलब पाउनुहुन्छ भन्दैमा बढी खुसी हुनुहुन्छ भन्ने पनि होइन।
आफ्नो कामलाई लिएर तपाईं कत्तिको खुसी र सन्तुष्ट हुनुहुन्छ, यसले नै तपाईंको खुसी निर्धारण गर्ने उनको अध्ययनले देखाएको छ। त्यसैगरी काम गर्ने ठाउँमा तपाईंको वरिपरि कस्ता मानिस बस्छन्, यसले पनि तपाईंको खुसीमा धेरै महत्व राख्छ। धेरैजसो देशमा आम्दानीका कारण परिवारको बीचमा रहेको खुसीयालीको स्तरमा दुई प्रतिशतभन्दा कमअन्तर रहेको पाइएको छ।
सुखी जीवनका लागि सम्बन्धले पनि अहम् भूमिका निभाउँछ। यसमा व्यक्तिगत वा पारिवारिक सम्बन्ध दुवै हुन सक्छ। सुखी रहन आन्तरिक कुराहरू भन्ने हो भने मानिसको शारीरिक र मानसिक स्वास्थ्य दुवैले उत्तिकै महत्व राख्छ।
अनुसन्धानमा महिला र पुरुषको सुखी रहने तत्वमा कुनै अन्तर नरहेको पनि पाइयो। तर यसमा उमेरको केही असर भने अवश्य परेको देखिएको छ। धनी देशमा युवा र वृद्धहरू बढी खुसी र सन्तुष्ट रहेको पाइयो। तर गरिब देशमा वृद्धवृद्धा धेरै चिन्तित रहेको पाइयो। यसको कारण उनीहरूको स्वास्थ्य रहेको बताइएको छ।
यसै सन्दर्भमा संस्कृतिको पनि धेरै महत्व रहेको बताइएको छ। उच्च स्तरको उदारता भएको समाजमा धेरै खुसीयाली भएको लेयर्डको अध्ययनले देखाएको छ। यस्तो देश जहाँ मानिसले एक अर्कालाई सहयोग गर्छन्, जहाँ बढी स्वतन्त्रता छ र जहाँ भ्रष्टाचार कम हुन्छ, त्यहाँ मानिस बढी खुसी रहेको पनि पाइयो।
बाहिरी खुसीयालीजस्तै आन्तरिक खुसीयाली पनि त्यति नै महत्वपूर्ण हुन्छ। पैसाले सबै समस्यालाई अन्त्य गर्दैन, कहिलेकाहीँ यो आफैं एक समस्या बन्न सक्छ। त्यसैले आफ्नो तुलना अरूसँग गर्दा अपेक्षाको स्तर पनि बढ्दै जान्छ।
यस्तो अवस्थामा खुसीयाली वास्तविकतामा आधारित नभएर अरूले तय गरिदिएको अपेक्षाको स्तरमा निर्भर रहन जान्छ। त्यसैले, हरेक देशमा सरकारले नै आफ्नो आर्थिक लक्ष्यका साथसाथै खुसीयालीको लक्ष्यमा पनि काम गर्नु जरुरी देखिन्छ।