साढे ३३ किलो सुन तस्करी : थुनछेक बहस सकियो, प्रतिउत्तर सुरु

साढे ३३ किलो सुन तस्करी : थुनछेक बहस सकियो, प्रतिउत्तर सुरु

 विराटनगर : साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको थुनछेक बहस जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा सोमबार सकिएको छ । प्रतिवादीकातर्फबाट जम्मा ५६ जना कानुन व्यवसायीले बहस गरेका छन् ।

अन्तिम दिन अधिवक्ता यामबहादुर मगरले प्रतिवादीहरु लाक्पा शेर्पा र राजनकुमार तथा अधिवक्ता भवानी सुवेदीले कपिलराज पुरी र प्रहरी हवल्दार अम्बरबहादुर थापामगरका पक्षमा मुद्दाको बहस गरे । अधिवक्ता केदार भण्डारीले राजन थापाको पक्षमा बहस दोहोर्‍याएका छन् ।

प्रतिरक्षामा बहस गर्नका लागि वकालत नामा दर्ता गराएका ६६ मध्ये १० जनाले बहस गरेनन् । अघिल्लो बिहीबारदेखि थुनछेक बहस सुरु भएको थियो । बिहीबार र शुक्रबार सरकारी वकिलहरुले बहस गरे भने अघिल्लो आइतबारदेखि प्रतिरक्षामा कानुन व्यवसायीहरुले बहस गरेका थिए । प्रतिवादीका पक्षमा बहस गर्ने कानुन व्यवसायीको संख्या धेरै भएका कारण थुनछेक बहस सकिन १० दिन समय लाग्यो ।

 सनमको हत्या भएको घटनामा जाहेरवाला सञ्जीव शाक्यकातर्फबाट पनि अधिवक्ताहरु डम्बरबहादुर मगर, नरेन्द्र थापा र विनोद यादवले बहस गरेका छन् । उनीहरुले अभियुक्तहरुलाई पुर्पक्षमा राखेर मुद्दाको सुनुवाई गर्नु पर्ने माग गरेका छन् ।

 प्रतिरक्षामा थुनछेक बहस सकिएपछि सोमबारबाटै इजलासमा वादी नेपाल सरकारका तर्फबाट प्रतिउत्तर बहस सुरु भएको छ । बहसका क्रममा कानुन व्यवसायीहरुले उठाएका प्रश्नको जवाफ सरकारी वकिलहरुले प्रतिउत्तर बहसमा दिन सुरु गरेका छन् । प्रतिउत्तरको पहिलो दिन जिल्ला सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधीवक्ता पुण्यप्रसाद पाठकको बहस सकिएको छ ।

मंगलबार उच्च सरकारी वकिल कार्यालय विराटनगरका सह न्यायाधीवक्ता चिरञ्जिवी पराजुली, मोरङका जिल्ला सहायक न्यायधीवक्ताहरु पदम वस्ती र रोहित पोखरेलले प्रतिउत्तर बहस गर्ने भएका छन् । प्रतिउत्तर सकिएपछि अदालतबाट मुद्दामा आदेश हुनेछ । 

कानुन व्यवसायीहरुले संगठित अपराध नभएका कारण मुद्दा स्थापित नै हुन नसक्ने जिकिर गरिरहेका बेला प्रतिउत्तरका क्रममा न्यायाधीवक्ता पाठकले संगठित अपराध गर्ने तरिका, संगठित अपराध अन्तर्गत सुन तस्करीमा सुन ल्याउने प्रक्रिया र तरिका, अपराध गर्न बनाइने संगठित मानिसहरुको समूह तथा उनीहरुका ‘कनेक्सन’का बारेमा प्रष्ट पारेका छन् ।

तस्करी गरेको भनिएको सुन खोइ भनेर कानुन व्यवसायीले बहसका क्रममा प्रश्न गरेको विषयमा उनले अन्तिम पटक तस्करी गरिएको साढे ३३ किलो सुन सरकारले खोजिरहेको जवाफ दिएका थिए । पाठकले प्रतिउत्तरमा भने, ‘सरकारले सुन तस्करी भएको कुरा नै ४० दिन पछि मात्रै थाहा पायो । सरकारले ढिलो गरेर थाहा पाएका कारण भेटिन पनि सक्छ नभेटिन पनि सक्छ ।’

 उनले अन्य सबै प्रमाणले सुन तस्करी भएको कुरा पुष्टि गर्ने जवाफ दिंदै भने, ‘तस्करीका बारेमा यत्रो प्रमाण पुगिरहेका बेला सुन नै भेटिएन भनेर राज्य मुद्दा नचलाइन बस्न सक्दैन ।’ सुन तस्करी र सनम हत्या काण्डमा मुछिएका प्रहरी अधिकारी प्रति लक्षित गर्दै उनले अपराध अनुसन्धान र नियन्त्रणका नाममा अण्डरकभर अप्रेशन (गुप्त कारवाही अनुसन्धान) को दुरुपयोग गरिएको बताए ।

बहसका क्रममा कानुन व्यवसायीहरुले उठाएका प्रश्नको जवाफ पाठकले तीन घण्टा लगाएर दिएका थिए । सुन तस्करी र सनम हत्या काण्डमा ६३ जनालाई अभियुक्त बनाएर जिल्ला अदालत मोरङमा अपराधिक समूह स्थापना तथा संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा गत बैशाख १९ गते मुद्दा दर्ता गरिएको थियो ।

यो मुद्दाका ३० अभियुक्त पक्राउ परे पनि ३३ जना भने अझै फरार छन् । १७ अर्व एक करोड ८० लाख ७१ हजार चार सय १३ रुपैयाँ ९० पैसा माग दावी सहितको मुद्दा दर्ता गरिएको थियो । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.