पाँच वर्षभित्र सबै तहका केन्द्र कालोपत्रे

पाँच वर्षभित्र सबै तहका केन्द्र कालोपत्रे

काठमाडौं : सरकारले पाँच वर्षभित्र स्थानीय तहका केन्द्रलाई कालोपत्रे सडकले जोड्ने भएको छ। संघीय संसद्मा सोमबार आगामी आव २०७५÷०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो घोषणा गरेकी हुन्।

देशभर ७ सय ५३ स्थानीय तहमध्ये अझसम्म ४८ गाउँपालिकाका केन्द्र सडकले जोडिन सकेका छैनन्। ‘४८ गाउँपालिकाका केन्द्र जोड्न करिब ३ हजार किलोमिटर सडक निर्माण गर्नुपर्नेछ’, स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) को ग्रामीण कृषि सडक शाखाका प्रमुख जीवन गुरागाइँले भने।

प्रदेश १ मा ४ जिल्लाका ७ गाउँपालिका केन्द्र र ३७ वडा केन्द्रमा सडक पुगेको छैन भने प्रदेश २ का सबै गाउँपालिका र वडामा सडक सञ्जाल पुगेको छ। प्रदेश ३ का ७ जिल्लाका ४ गाउँपालिका र १७ वडाका केन्द्रमा सडक पुगेको छैन भने प्रदेश ४ का ७ जिल्लाका २४ वडा केन्द्रमा सडक जोडिएको छैन। प्रदेश ५ का ३ जिल्लाका ८ वडा, प्रदेश ६ का ९ जिल्लाका २६ गाउँपालिका र १ सय ७ वडा केन्द्र र प्रदेश ७ का ७ जिल्लाका ११ गाउँपालिका र ६६ वडा केन्द्र सडक सम्पर्कबाहिर छन्।

सडकले नजोडिएका यसअघिका २ सय ५९ गाउँ विकास समितिमध्येबाटै ४८ वटा गाउँपालिकाको केन्द्र तोकिएको छ भने बाँकी गाविस २ सय ११ वडामा परिणत गरिएका छन्। डोलिडार र सडक विभागमार्फत् देशभर झन्डै ८० हजार किलोमिटर सडक निर्माण गरिसकिएको छ। यसो हुँदा पनि कर्णाली अञ्चलको डोल्पा र हुम्ला जिल्ला सडक सञ्जालमा जोडिएका छैनन्। सदरमुकाम नजोडिँदा हुम्लाका ७ र डोल्पाका ८ वटै गाउँपालिका सडकविहीन छन्।

सडक नहुँदा खासगरी कर्णाली अञ्चल र हिमाली भेगका गाउँपालिकाका बासिन्दा सबैभन्दा बढी मारमा छन्। मुगुका ४ गाउँपालिकामध्ये क्षेत्रफलका दृष्टिले सबैभन्दा ठूलो कर्मारोङकी उपाध्यक्ष छिरिङ तामाङले केही दिनअघि भनेकी थिइन्, ‘स्थानीय सरकार भनेर के गर्नू ? पैदल हिँड्नुको विकल्प छैन, गाउँपालिका वारपार गर्न तीन दिनमा पनि भ्याउँदैन विकास कसरी गर्ने ? ’ नीति तथा कार्यक्रममा सरकारले प्रदेश राजधानी र स्थानीय तहका केन्द्रको एकीकृत पूर्वाधार विकास गुरुयोजना तयार पार्ने जनाएको छ। यसमा व्यवस्थित सहर, आर्थिक केन्द्र र बस्ती विकास गरी गाउँ र सहरबीच अन्तर घटाइने छ।

संघ, प्रदेश र स्थानीय तहमा सहरी पूर्वाधार एवं भवन निर्माण मापदण्ड लागू गरिने भएको छ। प्रदेश र स्थानीय तहको क्षमता विकास, पूर्वाधार निर्माण र प्रशासनिक सहजीकरणको व्यवस्था सरकारले गरेको नीति तथा कार्यक्रममा उल्लेख छ। प्रदेश र स्थानीय तहमा क्रमशः औद्योगिक क्षेत्र र उद्योग ग्राम स्थापना गरिने भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.