नीति तथा कार्यक्रममाथि नेताहरूको यस्तो टिप्पणी
काठमाडौं : केपी ओली सरकारको नीति तथा कार्यक्रमले समृद्धिलाई केन्द्रमा राखेको छ । सरकारले घोषणा गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई दीर्घकालीन उद्देश्यमा राखेको छ ।
यसै साता दुई प्रमुख कम्युनिस्ट घटकबीच एकता भई बनेको नेकपा सरकारको यो पहिलो नीति तथा कार्यक्रम हो । नेकपाले आफ्नो लक्ष्य समाजवादउन्मुख राष्ट्रिय पुँजीवादको विकास र सामाजिक न्यायसहितको समृद्धिलाई तत्कालिक दिशा, कार्यभार र लक्ष्य बनाउने उद्घोष गरेको थियो ।
सरकारको नीति तथा कार्यक्रम समाजवादउन्मुख चरित्रको छ त ?
पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराई नीति तथा कार्यक्रममा त्यसको सामान्य संकेत देखिए पनि गुणात्मक कार्यक्रम नभएको बताउँछन् । ‘समाजवादउन्मुख कार्यक्रमका लागि अहिले सामाजिक सुरक्षामा ध्यान दिनुपर्छ । संविधानमा समाजवादउन्मुख भन्नुको अर्थ अहिले नै समाजवाद भनेको होइन । त्यसका लागि शिक्षा, स्वास्थ्यमा आमुल सुधार ल्याउनु पर्छ’, डा भट्टराईले अन्नपूर्णसँग भने, ‘संकेत गर्न खोजिएको छ तर जुन खालले गुणात्मक परिवर्तन ल्याउनु पर्ने थियो, त्यो छैन ।’
पूर्व अर्थमन्त्री समेत रहेका डा. भट्टराईले आर्थिक वृद्धिदरमा मुख्य जोड दिने र वितरणमा ध्यान दिनुपर्ने बताए । ‘आर्थिक वृद्धिदरमा जोड गरिएन भने समाजवाद भन्ने कुरा नाम मात्रकै हुन्छ । त्यसकारण सन्तुलन मिलाउने कुरा मुख्य हो । त्यससम्बन्धी नीतिगत कुरा नीति तथा कार्यक्रममा स्पष्ट आएन’, उनले भने ।
नेकपाकै नेता घनश्याम भुसालले पनि नीति तथा कार्यक्रम समाजवादी चरित्र बोक्ने गरी गम्भीर्यताका साथ आउन नसकेको बताए । उनले कृषि क्षेत्रमा आधारित जनसंख्यालाई रोजगारी सिर्जना गर्ने र प्रतिव्यक्ति आय बढाउने कार्यक्रममा सरकारले जोड नगरेसम्म समाजवादी चरित्र नीति तथा कार्यक्रमले बोक्न नसक्ने टिप्पणी गरे । ‘हाम्रो विकास र समृद्धि त्यही हो । सरकारको नीति तथा कार्यक्रममा त्यसबारेमा जसरी आउनु पर्दथ्यो, त्यसरी आइरहेको छैन ।
त्यो गम्भीरता र संकल्प देखिँदैन’, भुसालले अन्नपूर्णसँग भने, ‘सरकारले बजेटमा के ल्याँउछ, मेरो आँखा त्यतातिर छ ।’ भुसालका अनुसार सरकारले गरिबी निवारण गर्ने, रोजगारी सिर्जना गर्ने कुरा नीति कार्यक्रममा सैद्धान्तिक रुपमा गरे पनि कृषि क्षेत्रमा दुरुह परिस्थितिमा टाक्सिएको नेपाली जनजीवनलाई समृद्ध बनाउने कार्यक्रमका आधारमा समाजवादको चरित्र समेटिए-नसमेटिएको हेर्नुपर्ने हुन्छ । ‘कृषि क्षेत्रले रोजगारी दिन सकेको छैन ।
त्यसकारण हाम्रो बेरोजगारी धेरै छ । कृषिमा पैसा गएन, आम्दानी बढेन, रोजगारी पाएनन् भने केही हँुदैन, हामीले यतातिर ध्यान दिनुपर्छ’, भुसालले भने, ‘कृषिमा रहेको जनसंख्यालाई हामीले कसरी रोजगारी दिन्छौं भन्ने कुराले हाम्रो शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ सबै निर्धारण गर्छ । यसमा सरकारको ध्यान पुग्नुपर्छ ।’
डा.भट्टराईले दोहोरो अंकले आथिर्क वृद्धि गर्ने, ५ वर्षमा प्रतिव्यक्ति आय दोब्बर बनाउने कुरा राम्रो भए पनि त्यसका लागि ठोस कार्यक्रम ल्याउनुपर्ने बताए । त्यसका लागि उनले सरकाले जेठ १५ मा ल्याउने आर्थिक वर्ष २०७५÷७६ को बजेट पर्खेर बसेको टिप्पणी गरे । ‘५ वर्षमा प्रतिव्यक्ति आय डबल गर्ने भनिएको छ, त्यो रामो कुरा हो तर आर्थिक वृद्धि दोहोरो अंकको नभई ५ वर्षमा आय डबल हुँदैन’, उनले भने, ‘त्यसकारण यसमा केही अन्तरविरोधी कुरा छन् । यसमा सरकार प्रष्ट हुनुपर्छ ।’
प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रम संसद्लाई स्पष्टिकरण दिने शैलीमा मात्र आएको छोटो प्रतिक्रिया दिए ।
कांग्रेस नेता प्रदीप गिरीले सरकारले मुलुक सुहाउँदो नीति तथा कार्यक्रम ल्याउनै नसकेको टिप्पणी गरे । ‘मुलुक नयाँ युगमा प्रवेश गर्र्यो तर युग सुहाउँदो नीति तथा कार्यक्रम आएन । त्यति मात्र होइन, उहाँहरूको पार्टी एकीकरण अुनसरको पनि भएन ।’ गिरीले पनि सुन्दा शब्दमा मिठास भएपनि बजेटमा ती शब्दको कार्यान्वयन हुनेगरी आउँछन् कि आउँदैनन् हेर्न बाँकी रहेको टिप्पणी गरे ।