काठमाडौं बाहिरका सहकारी अब्बल
काठमाडौं : नेपालमा सहकारीले एक्सेस ब्रान्ड पाउन थालेका छन्। एक्सेस ब्रान्ड पाउने सहकारीमा अधिकांश काठमाडौंभन्दा बाहिरका छन्। सेवा मूल्यांकनका आधारमा सहकारीले एसियास्तरीय एक्सेस ब्रान्ड पाउन सफल देखिएका हुन्। एसियाली ऋण महासंघ (अक्कु)ले प्रतिपादन गरेको एक्सेस (उत्कृष्ट सेवा तथा सुरक्षाको लागि सर्वोत्तम छनोट कार्यक्रम) ब्रान्ड हालसम्म १९ वटा संस्थाले पाइसकेका छन्।
बचत तथा ऋण सहकारी (साकोस)को दिगो विकासका लागि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्क्कुन)ले एसियाली ऋण महासंघ (अक्कु) को प्राविधिक सहयोगमा वि.स. २०६५ सालदेखि संस्थाको ब्रान्डिङ गर्दै आएको छ। नेफ्स्कुनका अनुसार काठमाडौंमा सञ्चालित कुनै पनि सहकारीले एक्सेस ब्रान्ड पाउन सकेका छैनन्। तर उपत्यकाकै भक्तपुर र ललितपुरका सहकारीले भने एक्सेस पाउन सफल भएका छन्। भक्तपुरका चारवटा र ललितपुरका दुईवटा संस्थाले एक्सेस ब्रान्ड पाएका छन्।
काठमाडौंमा ३८०० सहकारी सञ्चालनमा रहे पनि कुनै पनि संस्थाले एक्सेस ब्रान्ड पाउन योग्य नदेखिएको नेफ्स्कुनले जनाएको छ। दोलखा, काभ्रे र नवलपरासीका तीन÷तीनवटा संस्थाले एक्सेस ब्रान्ड पाएका छन्। सुनसरी र मोरङका दुई÷दुईवटा संस्थाले एक्सेस ब्रान्ड पाउन सफल भएका छन्। काभ्रेपलाञ्चोकको विन्धवासिनी, सामुदायिक, दोलखाको जनसचेतन र भक्तपुरको शुभकामना साकोसले सिल्भरसहितको एक्सेस ब्रान्ड पाएका छन्। भक्तपुरको सिद्धिगणेश, उपकार र श्रीबराही साकोसले ब्रोन्जससहित एक्सेस ब्रान्ड प्राप्त गरेका छन्।
नवलपरासीको गैडाकोट स्वाभिमान, किसान, विकुु साकोसले ब्रोन्जसहित एक्सेस ब्रान्ड पाएका छन्। ललितपुरको स्कोप, कल्याणकारी, दोलखाको हाम्रो जनकल्याण, मिलिजुली साकोसले ब्रोन्जससिहत एक्सेस ब्रान्ड पाएका छन्। सुनसरीको किसान कल्याण र महिला, मोरङको मनकामना र इटहरा, काभ्रेको बुडोल सामुदायिक साकोसले ब्रोन्जसहित एक्सेस ब्रान्ड पाएका हुन्। नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष परितोष पौड्यालले ब्रान्ड रणनीतिले वस्तु तथा सेवाप्रतिको विश्वास आर्जन गरी बजार व्यवस्थापनमा सजिलो बनाएको बताउँछन्। ‘साकोसको व्यावसायिक सफलताको लागि ब्रान्डको अवधारणा ल्याइएको हो, यसमा अधिकांश सहकारीको रुची बढ्दै गएको छ’, उनले भने।
एक्सेस कार्यक्रमले व्यवस्थापनको उच्च जोखिमका क्षेत्रमा सरल तरिकाले व्यवस्थापन गर्ने औजार प्रदान गर्नुका साथै ब्रान्ड रणनीतिमार्फत साकोसको व्यावसायिक दक्षताको विकास गर्दै आएको नेफ्स्कने दाबी गरेको छ। एक्सेस ब्रान्डका लागि सहकारीको वित्तीय दृष्टिकोण(पल्र्स),सदस्य दृष्टिकोण, आन्तरिक व्यावसायिक दृष्टिकोण र सिकाई एवं विकास दृष्टिकोणलगायत ८६ वटा सूचकका आधारमा मापन एवं विश्लेषण गरिन्छ।
एक्सेस कार्यक्रममा एसियास्तरका एक दर्जन देश सहभागी भए पनि धेरै जसो देशका सहकारीले ब्रान्ड पाउन सकेका छैनन्। इन्डोनेसिया र फिलिपिन्सका एक÷एकवटा सहकारीले मात्र एक्सेस ब्रान्ड पाएका छन्। तर एसियाका करिब एक दर्जनभन्दा बढी देशका धेरै सहकारी उक्त कार्यक्रमप्रति आकर्षित छन्। सहकारी विभागका अनुसार देशभर ३४ हजार पाँच सय १२ वटा संस्था सञ्चालनमा छन्। त्यसमध्ये करिब आधाजति सहकारी बचत तथा ऋणको कारोबार गर्दै आएका छन्।
नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले १०० अंकलाई चार तहमा वर्गीकरण गरी सहकारीको ब्रान्ड गर्ने गरिएको जानकारी दिए। सहकारीले पाउने प्राप्तांकका आधारमा ब्रोन्ज, सिल्भर, गोल्डेन, प्लाटिनमबाट ब्रान्ड गरिने सापकोटाले जानकारी दिए। सापकोटाका अनुसार ६० देखि ७० अंक ल्याउने सहकारीले ब्रोन्ज ब्रान्ड पाउँछन् भने ९१ भन्दा बढी अंक ल्याउने सहकारीले प्लाटिनम ब्रान्ड पाउँछन्। ७१ देखि ८० अंक ल्याउनेले सिल्भर, ८१ देखि ९० अंक पाउनेले गोल्डेन ब्रान्ज पाउने गर्छन्।
सहकारी विभागका रजिस्ट्रार केशवप्रसाद रेग्मीले ब्रान्डले सहकारीमा सुशासन ल्याउने बताउँछन्। अनुगमन प्रभावकारी हुन नसकिरहेको अवस्थामा सम्बन्धित केन्द्रीय संघले संस्थाको ब्रान्डिङ गर्नु सबैका लागि सिकाइको विषय भएको बताउँछन्।