८० वर्षीय रामनारायण क्याम्पसका नियमित विद्यार्थी
जनकपुरधाम : जनकपुरमा बसोबास गर्दै आएका रामनारायणप्रसाद मण्डल ८० वर्षका भए । यो उमेरमा उनी जनकपुरस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा अध्ययनरत छन् । अंग्रेजी साहित्यमा स्नातकोत्तर गरिरहेका उनी कक्षामा नियमित हाजिर विद्यार्थी हुन् । उनी प्रत्येक बिहान ७ बजे नै घरबाट साइकल चढी क्याम्पस आइपुग्ने गर्छन् ।
धनौजी गाउँपालिका–५ बहुअर्वाका स्थायी निवासी उनी जनकपुर उपमहानगरपालिका वडा नम्बर ४ मा बस्दै आएका छन् । भाषा, साहित्य र पुस्तकप्रतिको लगावले गर्दा बुढेसकालमा समय खेर फाल्नुको साटो अझ बढी ज्ञान आर्जन गर्ने उद्देश्यले अंग्रेजी साहित्य अध्ययनमा लागेको उनी बताउँछन् । उनका अनुसार क्याम्पसमा प्रवेश परीक्षा दिँदा १५ जना सहभागी भएका थिए । तर, ६ जना मात्र उत्तीर्ण भए, जसमध्ये पाँच जना भर्ना भई अध्ययनरत छन् । नियमित क्याम्पस जानेमा भने मण्डल र उनका एक ३० वर्षीय सहपाठी मात्र छन् ।
त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरिसके पनि पढ्ने धोको पूरा नहुँदा अहिले फुर्सद पाएर क्याम्पस भर्ना भएको उनको भनाइ छ । बुढेसकालमा पनि दिनहुँ कक्षामा आई पढ्ने मण्डल नयाँ पुस्ताका लागि उदाहरण रहेको उनका भतिजा नित्यानन्द मण्डल बताउँछन् ।
क्याम्पस पढ्नुबाहेक गुरुकुल इङ्लिस बोर्डिङ स्कुल सञ्चालन गरेका मण्डल अञ्चल शिक्षा अधिकारी पदबाट स्वेच्छिक अवकाशमा गएर समाजसेवामा लागेका थिए । उनका दुई छोरा र एक छोरी छन् ।