विश्वकप खेलाइने लुझनिकी रंगशाला

विश्वकप खेलाइने  लुझनिकी रंगशाला

आगामी विश्वकप फुटबल जुन १४ देखि जुलाई १५ तारिखसम्म रूसका विभिन्न ११ सहरका १२ वटा रंगशालामा खेलाइँदै छ। प्रत्येक चार वर्षमा आयोजना हुने विश्व फुटबलको महाकुम्भका लागि रूसले केही पुरानै रंगशालालाई मर्मतसम्भार गरेर तयार पारेको छ भने केही नयाँ रंगशालासमेत निर्माण गरेको छ। आगामी विश्वकप खेलाइने रंगशालामध्ये एक हो, लुझनिकी रंगशाला। ८१ हजार दर्शक क्षमताको यो रंगशाला रूसको राजधानी मस्कोमा रहेको छ।

यो रूसको सबैभन्दा ठूलो रंगशाला हो भने युरोपकै सर्वाधिक दर्शक क्षमता भएको रंगशालामध्ये पनि एक हो। सन् १९८० को गृष्मकालीन ओलम्पिक खेलकुदको अधिकांश खेल पनि यही रंगशालामा खेलाइएको थियो। ओलम्पिकको उद्घाटन र समापन कार्यक्रम पनि यही रंगशालामा भएको थियो। त्यतिबेला यो रंगशाला एक लाख तीन हजार दर्शक क्षमताको थियो। यही रंगशालामा सन् १९८२ को अक्टोबर २० तारिखमा यूईएफए कप फुटबलको स्पार्टक मस्को र एचएफसी हार्लिमबीच भएको खेलका क्रममा दुर्घटनामा परी ६६ जना समर्थकको ज्यान गएको थियो। रूसी खेलकुदको इतिहासमा अहिले पनि त्यो दुर्घटनालाई कालो दिनका रूपमा लिने गरिन्छ।

उक्त दुर्घटनाको लामो समयपछि मात्र यो रंगशालालाई आधुनिक ढाँचामा पुनर्निर्माण गरिएको थियो। यो रंगशालालाई हालसम्म सन् १९९६—९७, सन् २००१—०४ र सन् २०१३—१७ सम्म गरी तीनपटक पुनर्निर्माण गरिएको छ। यही रंगशालामा सन् २००८ मा युरोपियन च्याम्पियन्स लिगको फाइनल खेल पनि खेलाइएको थियो। त्यतिबेला च्याम्पियन्स लिगको फाइनलमा म्यानचेस्टर युनाइटेडले चेल्सीलाई हराएको थियो। यसैगरी सन् २०१३ मा यही रंगशालामा वल्र्ड एथलेटिक्स च्याम्पियनसिप पनि आयोजना भएको थियो।

सन् २०१८ को विश्वकप आयोजनाका लागि विश्व फुटबल महासंघ (फिफा) सँग प्रस्ताव राख्दा रूसले यही रंगशालालाई मुख्य प्राथमिकतामा पारेको थियो। आगामी विश्वकपको फाइनल (जुलाई १५) खेल पनि यही रंगशालामा खेलाइने कार्यक्रम रहेको छ। सेमिफाइनल (जुलाई ११) र एउटा प्रिक्वार्टरफाइनल (जुलाई १) खेल पनि यो रंगशालामा खेलाइनेछ। प्रारम्भिक चरणमा जुन १४ तारिखमा रूस र साउदी अरेबिया, जुन १७ मा जर्मनी र मेक्सिको, जुन २० मा पोर्चुगल र मोरक्को र जुन २६ मा डेनमार्क र फ्रान्सबीचको खेल पनि यो रंगशालामा खेलाइनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.