विस्फोटक पदार्थ अभावले रोकियो कान्ति लोकपथ

विस्फोटक पदार्थ अभावले रोकियो कान्ति लोकपथ

ललितपुर : निर्माणाधीन कान्ति लोकपथमा पर्ने ठूला चट्टानी पहरा फुटाउन सेनाले ५ मेट्रिक टन विस्फोटक पदार्थ उपलब्ध गराउने सहमति कार्यान्वयन नहुँदा ७ किलोमिटर सडक निर्माण अवरुद्ध भएको छ ।

दुई वर्षअघि नै सेना र कान्ति लोकपथ आयोजनाबीच विस्फोटक पदार्थबारे सहमति भएको थियो । २०१३ सालमा निर्माण सुरु भएको लोकमार्ग बनाउन चट्टान फुटाउनुपर्ने तर विस्फोटक पदार्थ उपलब्ध गराउने अधिकार सेनालाई मात्र रहेकाले काममा ढिलाइ भएको हो । ‘वाग्मती गाउँपालिकामा पर्ने देवीसाँध, झाँक्रीडाँडा, कार्कीबास, छपेली (ठूलो पहिरोछेउ), माल्टा तथा कालोपहराछेउ चट्टान फुटाउन बाँकी छ’, आयोजना प्रमुख देवेन्द्रप्रसाद शाहले भने, ‘ललितपुर खण्डका यी ठाउँमा चट्टान फुटाउन नसक्दा सडक निर्माण कठिन बनेको छ । एकैठाउँमा १२ सय मिटरसम्मका चट्टान छन् ।’

आगामी असारसम्म आयोजना निर्माण गरिसक्नुपर्ने शाहले बताए । तत्काल विस्फोटक पाए कान्ति लोकपथ निर्माण सकिने नभए सिंगल लेनमा भए पनि एकतर्फी सवारी चलाउने उनको भनाइ छ । ‘चट्टान फुटाउन पाएको भए अहिले गाडी चल्ने बाटो बनिसक्थ्यो, ती ठाउँ पुग्दा मन खिन्न हुन्छ’, उनले भने । ७९ किलोमिटरको सडकमा यसै वर्ष ३५ किलोमिटर कालोपत्रे हुने भएको छ भने २५ किलोमिटर सडक ग्राभेल हुने तयारीमा छ ।

शाहका अनुसार सेनाले विस्फोटक भारतबाट ल्याउनुपर्ने भन्दै दुई वर्षदेखि आलटाल गरेको हो । गोदावरी नगरपालिका-६ लप्चेगाउँका स्थानीय सुरेश तामाङले सडक बनाउन थालेको वर्षौं भए पनि नसकिएको गुनासो पोखे । ‘सडक निर्माणले गति नलिँदा दक्षिण ललितपुरका बासिन्दालाई आवतजावत गर्न समस्या भएको छ । बर्खामा बाटो बन्द हुँदा कसरी आउजाउ गर्ने चिन्ता छ’, उनले भने, ‘यस भेगमा उत्पादित तरकारी, दूधलगायत सामग्री सदरमुकाम पठाउन सकिँदैन । कसैले पनि सडक निर्माणमा अवरोध नगरिदिए हुन्थ्यो ।’

थोरै मात्रामा विस्फोटक पदार्थ पाएको बताउँदै सम्भव भएसम्म उपलब्ध गराइने सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले अहिले जानकारी दिए । ‘सेनाले निर्माणमा अवरोध गर्न चाहेको होइन । अझै धेरै मात्रामा विस्फोटक पदार्थ भित्र्याउन चाहेको छ । तर सामान ल्याएर रोकेर राख्न मिल्दैन । भएको सामान उपलब्ध गराउँछौ’, उनले भने । ५ मेट्रिक टन विस्फोटन सामग्रीको अनुमानित मूल्य १० लाख (१ केजीको १ सय ८० रुपैयाँका दरले) पर्न आउँछ । विस्फोटक पदार्थ पाए प्वाल बनाएर बारुद भर्ने र जेनेरेटरले पड्काउने तर नपाए तयारी बम नै प्रयोग गर्ने छलफल भइरहेको छ ।

२ अर्ब २५ करोड रुपैयाँमा सम्पन्न गर्ने लक्ष्य रहेको लोकपथमा १३ निर्माण कम्पनीले काम गरेका छन् । तीमध्ये तीनवटाले आफ्नो जिम्माको काम लगभग सकेका छन् । लोकपथ निर्माण भए हेटौंडा-मुग्लिन हुँदै काठमाडौं आउने २ सय २६ किलोमिटर र पालुङ हुँदै आउने १ सय २६ किलोमिटर सडकको विकल्प बन्ने छ । कान्ति लोकपथको प्रस्थान बिन्दु ललितपुरको सातदोबाटो हो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा चिनिएको लोकमार्ग समयमा निर्माण भए खासगरी दक्षिण ललितपुरका बासिन्दा सबैभन्दा बढी लाभान्वित हुनेछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.