३३ किलो सुन प्रकरण : २८ अभियुक्तलार्इ थुना

३३ किलो सुन प्रकरण : २८ अभियुक्तलार्इ थुना

 विराटनगर : ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा मुछिएका अभियुक्तमध्ये २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत मोरङले मंगलबार आदेश दिएको छ।

न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले मिसिल संलग्न संकलित तत्काल प्राप्त प्रमाणहरुको आधारमा पक्राउ परेका ३० मध्ये २८ जनालाई थुनामा राखेर मुद्दाको अनुसन्धान अघि बढाउन आदेश दिएको निमित्त स्रेस्तेदार एवं तहसिलदार केदारप्रसाद गौतमले बताए। प्रतिवादीहरु टेकराज मल्ल ठकुरी, मोहन काफ्ले, लाक्पा शेर्पा, माधव भनिने मदनप्रसाद घिमिरे, कृष्ण भनिने नरेन्द्र कार्की, राजन कुमार, भुजुङ गुरुङ, आर के भनिने राजेन्द्रकुमार शाक्य, चाचाजी भनिने महावीरप्रसाद गोल्यान अग्रवाल, बालकृष्ण श्रेष्ठ, गोपालकुमार श्रेष्ठ, चन्दन भनिने विरेन्द्रमान श्रेष्ठ, तक्ले भनिने पुण्यप्रसाद लामा तामाङ, दोराम खत्री, हेमन्त गौतम, कपिलराज पुरी, एल बी भनिने लालबहादुर मगर, सम्बीरप्रसाद तोलाङ्गे, राजु महर्जन, राजन थापा, तुलाराम थारु, अमरमान डंगोललाई थुनामा राख्न अदालतले आदेश दिएको छ।

त्यस्तै प्रहरी अधिकारीहरु पूर्व डीआईजी गोविन्दप्रसाद निरौला, निलम्बित एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपीहरु संजयबहादुर राउत, प्रजित केसी र सइ बालकृष्ण सञ्जेललाई पनि पुर्पक्षमा पठाइएको छ। ‘प्रतिवादीहरुलाई संगठित अपराध निवारण ऐन २०७० को दफा ४१ तथा मुलुकी ऐन अदालती बन्दोवस्ती ११८ को देहाय २ का आधारमा नियमअनुसारको सिदा खर्च खान पाउने गरी अदालती बन्दोवस्ती १२१ नम्बर बमोजिमको थुनुवा पुर्जी दिइ पुर्पक्षका लागि थुनामा राख्न कारागार शाखा मोरङमा पठाइदिनु,’ आदेशमा उल्लेख छ।

प्रतिवादी प्रहरी जवान विष्णुबहादुर खड्कालाई भने अदालतले १५ हजार रुपैयाँ धरौटी माग गरेको छ। अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालिन एसएसपी श्याम खत्रीको ड्राईभर भइ काम गर्दै आएकोमा आफूखुसी र मनसायका साथ तस्करी नगरेको तथा खत्रीकै निर्देशनमा सो कार्य गरेको देखिंदा अपराध प्रमाणित नभएका कारण निज खड्कालाई थुनामा राख्नु पर्ने सम्मको कसुर तत्काल प्राप्त प्रमाणका आधारमा नदेखिएको आदेशमा उल्लेख छ। पछि बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी अदालती बन्दोवस्ती ११८ को देहाय ५ र १० का आधारमा निजले लिए खाएको देखिएको १५ हजार रुपैयाँ बराबरको नगद वा बैंक ग्यारेन्टी लिइ खड्कालाई तारेखमा छाड्न अदालतले आदेश दिएको छ।

अर्का प्रतिवादी प्रहरी हवल्दार अम्बरबहादुर थापामगर तारेखमा छुटेका छन्। उनी पनि एसएसपी खत्रीकै बडीगार्डका रुपमा विमानस्थलमा कार्यरत रहँदा तस्करीमा सहयोग गरेको कुनै पनि मिसिल संलग्न प्रमाणबाट समर्थन भएको नदेखिएकाले तथा उनले कुनै पनि रकम लिए खाएको नदेखिएकाले पछि बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी अदालती बन्दोवस्ती ४७ बमोजिम तारेखमा छाड्न अदालतले आदेश दिएको तहसिलदार गौतमले बताए।

साथै अदालतले फरार रहेका प्रतिवादीका हकमा कानुन बमोजिमको म्याद जारी गर्न पनि आदेश दिएको छ। गौतमका अनुसार अनुसन्धानका क्रममा बरामद भएका दशीका सामानहरु जिन्सीमा आम्दानी बाँध्नु र कुनै थुनुवा प्रतिवादी बिरामी भएमा उपचारको आवश्यक व्यवस्था मिलाउनु भनी कारागार शाखामा लेखेर पठाउन अदालती बन्दोवस्ती १२४ बमोजिम पनि आदेश भएको छ।

सुन तस्करी एवं सनम हत्याका मुख्य अभियुक्त प्रतिवादी गोरे भनिने चूडामणि उप्रेतीको अपराधिक संगठनको सदस्य भइ कामको बाँडफाँड समेत गरी सुन तस्करी गर्ने क्रममा २०७४ साल माघ ९ गते दुवईबाट ल्याएको सुन बीचबाटोमै हराएपछि खोजी गर्ने नाममा संगठन भित्रका सदस्यहरुलाई अपहरण तथा शरीर बन्धक लिने, विभिन्न ठाउँमा लगेर यातना दिने दिलाउने क्रममा सनम शाक्यको मृत्यु भएको आदेशमा उल्लेख छ। शाक्यको शव दवाउनका लागि विभिन्न प्रयन्त गर्ने गराउने समेतका कार्यमा थुनामा पठाइएका प्रतिवादीहरुको संलग्नता रहेको आदेशमा उल्लेख गरिएको छ।

सुन तस्करी र सनम हत्या काण्डमा ६३ जनालाई अभियुक्त बनाएर जिल्ला अदालत मोरङमा अपराधिक समूह स्थापना तथा संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा गत बैशाख १९ गते मुद्दा दर्ता गरिएको थियो। अभियोग पत्र दर्ता गर्दै सरकारी वकिल र प्रतिवादीतर्फका कानुन व्यवसायीको थुनछेक बहस सोमबार सकिएको थियो। कानुन व्यवसायीहरुले उठाएका प्रश्नको जवाफ दिंदै सरकारी वकिलहरुले प्रतिउत्तर बहस पनि सकेपछि मुद्दामा अदालतले आदेश दिएको छ।

प्रतिवादीकातर्फबाट वकालतनामा दर्ता गराएका ६६ मध्ये ५६ जना कानुन व्यवसायीले बहस गरेका थिए। थुनछेक बहस सकिन १० दिन समय लागेको थियो।

दुवईबाट तस्करी गरेर ल्याइएको साढे ३३ किलो सुन हराएको भन्दै खोजी गर्ने क्रममा गोरे समूहले मोरङको उर्लाबारी १ स्थित सोल्टी खोला किनारको जंगलमा करेन्ट लगाएर यातना दिंदा उर्लाबारी ७ का शाक्यको गत फागुन १८ गते मृत्यु भएको थियो। शाक्यको शव बोकेको स्कोरपिओसहित चालक मल्ल, उर्लाबारीका नरेन्द्र कार्की र मोहन काफ्ले फागुन १९ गते विराटनगर ३ बाट पक्राउ परेका थिए।

यो मुद्दाका गोरेसहित ३१ अभियुक्त पक्राउ परे पनि ३२ जना भने अझै फरार छन्। १७ अर्व एक करोड ८० लाख ७१ हजार चार सय १३ रुपैयाँ ९० पैसा माग दावी सहितको मुद्दा दर्ता गरिएको थियो। घटना छानविन गर्न गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समिति बनाइएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.