जर्मनीलाई उपाधि रक्षाको मौका

जर्मनीलाई उपाधि रक्षाको मौका

बर्लिन : विश्वकप फुटबलको इतिहासमा जर्मनी बलियो टोली हो। हरेक खाले खेलमा जर्मनी त्यति हल्लाखल्ला गर्दैन, मैदानमा डटेर खेल्छ र सुटुक्क उपाधि पनि जित्छ। चार वर्षअघि जर्मनीले विश्वकप जित्दा सुरुमा कमैले उपाधि जित्ला भनेर लख काटेका थिए। सम्भावित विजेताका रूपमा धेरैको अनुमानमा नरहेको टोली जर्मनीले अन्ततः उपाधि चुमेरै छाड्यो। त्यति बेला जर्मनीले फाइनलमा अर्जेन्टिनालाई १-० गोलले हराउँदै चौथोपटक विश्वकप च्याम्पियन बनेको थियो।

विश्वकपको इतिहासमा सर्वाधिक उपाधि जित्ने राष्ट्रको सूचीमा पनि जर्मनी दोस्रो स्थानमा छ। ब्राजिलले हालसम्म पाँचपटक तथा जर्मनी र इटालीले चार÷चार पटक उपाधि जितेका छन्। जुन १४ देखि रूसमा सुरु हुने २१औं विश्वकप जर्मनीका लागि विशेष पनि रहेको छ। उक्त विश्वकपमा जर्मनी ५६ वर्षपछि उपाधि रक्षा गर्ने पहिलो टोली बन्ने अभियानमा रहनेछ। ब्राजिलले सन् १९५८ र सन् १९६२ मा लगातार दुईपटक विश्व उपाधि जितेयता हालसम्म कुनै पनि राष्ट्रले यो सफलता हात पार्न सकेको छैन।

विश्वकपको इतिहसमा हालसम्म ब्राजिलका अतिरिक्त इटालीले मात्र लगातार दुईपटक उपाधि जित्न सकेको छ। इटालीले भने सन् १९३४ र सन् १९३८ मा लगातार उपाधि चुमेको थियो। त्यसैले आगामी विश्वकपमा जर्मनीसामु तेर्सिएको सबैभन्दा ठूलो प्रश्न पनि यही नै हो, के जर्मनी ५६ वर्षपछि उपाधि रक्षा गर्ने पहिलो राष्ट्र बन्न सक्ला। केही अनुभवी र केही क्षमतावान् युवा खेलाडीलाई साथ लिएर रूस यात्रामा होमिन लागेको जर्मनी पनि अहिले यही चुनौतीलाई पार गर्ने अभियानमा छ।

जर्मनीले सन् १९५४, सन् १९७४ र सन् १९९० मा भने पश्चिम जर्मनीका रूपमा विश्वकप जितेको थियो। युरोपेली क्षेत्रको छनोट प्रतियोगितामा समेत यसपटक जर्मनीको प्रदर्शन बेजोडको थियो। छनोट चरणमा सबै १० वटै खेल जित्दै साविक विजेता जर्मनीले उपाधि जोगाउन आफू सक्षम रहेको सन्देश दिएको थियो। छनोट प्रतियोगितामा विपक्षीको पोस्टमा ४३ गोल ठोकेको जर्मनी आफूले भने केवल चार गोल खाएको थियो।

जर्मनीलाई रूसको यात्रा तय गराउन छनोट प्रतियोगितामा अनुभवी खेलाडी थोमस मुल्लर र स्न्यान्ड्रो वाग्नरको महत्वपूर्ण भूमिका रहेको थियो। यी दुवै खेलाडीले पाँच÷पाँच गोल गरेका थिए। मुल्लरले चार वर्षअघिको विश्वकपमा पनि चार गोल गरेका थिए। यसैगरी जुलियन ड्राक्सलर, टिमो वेर्नर र लियोन गोरेज्काले पनि गतिलो योगदान गरेका थिए। छनोट प्रतियोगिताको समूह ‘सी’मा रहेको जर्मनीले एक खेलअगाडि नै उत्तरी आयरल्यान्डलाई ३-१ गेलले हराउँदै रूस विश्वकपको ढोका खोलेको थियो।

जर्मन टोलीलाई विश्वकपमा छनोट गराउन बुन्डेस लिगामा चम्किएका केही युवा खेलाडीको पनि महत्वपूर्ण योगदान छ। स्तरका आधारमा पनि युरोपियन घरेलु लिगमा बुन्डेस लिगाको छुट्टै स्तर छ। त्यसैले घरेलु लिग पनि जर्मनीको विश्वकप यात्रामा मेरुदण्ड साबित बनेको छ। विश्वकपमा जर्मनलाई माथि उठाउने अर्को हतियार प्रशिक्षक जोचिम लोय पनि हुन्। चार वर्षअघि जर्मनीलाई विश्वकप उपाधि चुमाउँदा पनि लोय नै टोलीका प्रशिक्षक थिए।

पछिल्लो समय पनि उनको प्रशिक्षकत्वमा जर्मनीले हरेक प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। चार वर्षको विश्वकपमा अर्जेन्टिनाविरुद्धको फाइनलमा निर्णायाक गोल गर्ने मारियो गोएट्ज भने यसपटक २७ सदस्यीय टोलीमा परेका छैनन्। तर, प्रशिक्षक लोयले रूस विश्वकपका लागि तयार पारेको प्रारम्भिक खेलाडीको सूचीमा अनुभवी र युवा खेलाडीको वर्चस्व रहेको छ।

प्रशिक्षण लोले एक साताअघि मात्र रूसविश्व कपका लागि प्रारम्भिक टोलीको घोषणा गरेका थिए। विश्वकपका लागि २३ खेलाडीको सूची भने जुन ४ मा घोषणा हुने लोयले बताएका छन्। जर्मन फुटबल संघले प्रशिक्षक लोयको नयाँ सम्झौतासमेत हालै नवीकरण गरेको छ। लोयले सन् २०२२ कतार विश्वकपसम्म जर्मन टोली सम्हाल्ने छन्। जर्मन टोलीको प्रारम्भिक सूचीमा नम्बर एक गोलरक्षक म्यानुयल नेउरलाई समावेश गरिएको छ। उनी जर्मनीको रूस यात्रामा अर्का महत्वपूर्ण हतियार हुन्। यद्यपि उनी गत सेप्टेम्बरदेखि घाइते छन्। टिमो वेर्नर, जुलियन ड्राक्सलर र मार्को रियोसले पनि टोलीमा स्थान पाएका छन्।

प्रारम्भिक जर्मन टोली

गोलरक्षक : बेनार्ड लेनो (बायर्न लेभरकुसेन), म्यानुयल नेउर (बायर्न म्युनिख), मार्क आन्द्रे टेर स्टेगन (बार्सिलोना) र केभिन ट्राप (पीएसजी)।

रक्षक : म्याथियस गिन्टर (बोरुसिया मोन्चेनग्लाबाच), जोनस हेक्टर (कोलोन), जेरोम बोयटिङ (बायर्न म्युनिख), म्याट्स ह्युमल्स (बायर्न म्युनिख), निकलस सुल (बायर्न म्युनिख), जोसुआ किमिच (बायर्न म्युनिख), मार्भिन प्लाटेनहार्ड्ट (हेराथ बर्लिन), एन्टोनियो रुडिगर (चेल्सी) र जोनाथन टाह (बायर लेभरकुसेन)।

मिडफिल्डर : जुलियन ब्रान्ड्ट (बायर लेभरकुसेन), जुलियन ड्राक्सलर (पीएसजी), इल्की गुन्डोगन (म्यानचेस्टर सिटी), सामी खेदिरा (युभेन्ट्स), टोनी क्रुज (रियल म्याड्रिड), मेसुट ओजिल (आर्सनल), लियोन गोरेट्ज्का (साल्के ०४), मार्को रेयस (बोरुसिया डर्टमन्ड) र सेबास्टियन रुडी (बायर्न म्युनिख)।

स्ट्राइकर : लेरोय सेन (म्यानचेस्टर सिटी), निल्स पिटर्सन (एससी फ्रेइबर्ग), मारियो गोमेज (भीएफबी स्टुटगार्ट), टिमो वेर्नर (आरबी लिपजिग) र थोमस मुलर (बायर्न म्युनिख)।

जर्मनीको खेल

समूह ‘एफ’

जुन १७ : मेक्सिकोविरुद्घ

जुन २३ : स्विडेनविरुद्घ

जुन २७ : दक्षिण कोरियाविरुद्घ

जर्मनी

विश्वकप सहभागिता : १९औं पटक

उपाधि : ४ पटक (तीनपटक पश्चिम जर्मनीका रूपमा)

फिफा वरीयता : १


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.