विश्वकप खेलाइने रंगशाला : क्रेस्तोभ्स्की

विश्वकप खेलाइने रंगशाला : क्रेस्तोभ्स्की

आगामी विश्वकप खेलाइने रूसका १२ मध्ये महत्वपूर्ण रंगशाला हो, क्रेस्तोभ्स्की। यो रंगशालालाई सेन्ट पिटर्सबर्ग रंगशालाको नामबाट पनि चिनिन्छ। ६७ हजार दर्शक क्षमताको यो रंगशाला सेन्ट पिटर्सबर्गस्थित क्रेस्तोभ्स्की आइल्यान्डमा रहेको छ। दर्शक क्षमताको आधारमा आगामी विश्वकप खेलाइने यो दोस्रो ठूलो रंगशाला पनि हो। यो रंगशालालाई रूसी क्लब जेनिट सेन्ट पिटर्सबर्गले आफ्नो घरेलु रंगशालाका रूपमा प्रयोग गर्ने गरेको छ।

सन् २०१७ देखि यो रंगशाला सञ्चालनमा ल्याइएको हो। सोही वर्षको जुनमा यो रंगशालामा फिफा कन्फिडरेसन्स कपका चारवटा खेल खेलाइएको थियो। उक्त प्रतियोगिताको चिली र जर्मनीबीचको फाइनल खेल पनि यही रंगशालामा खेलाइएको थियो। आगामी विश्वकपलाई ध्यानमा राखी तयार पारिएका रंगशालामध्ये यो निकै महँगो रंगशालामा पर्छ। यो रंगशाला तयार पार्न एक अर्ब अमेरिकी डलरभन्दा बढी खर्च भएको थियो।

यो रंगशालामा खेलाइएको पहिलो प्रतियोगिता रसियन प्रिमियर लिगको जेनिट सेन्ट पिटर्सबर्ग र एफसी उरालबीचको खेल हो। उक्त खेल सन् २०१७ अप्रिल २२ तारिखमा खेलाइएको थियो। यो रंगशालामा पहिलो गोल गर्ने खेलाडी ब्रानिस्लाभ इभानोभिच हुन्। आगामी जुन १४ तारिखदेखि सुरु हुने २१औं विश्वकपमा यो रंगशालामा सातवटा खेल खेलाइने कार्यक्रम छ।

लिग चरणमा मोरक्को र इरान (जुन १५), आयोजक रूस र इजिप्ट (जुन १९), ब्राजिल र कोस्टारिका (जुन २२), नाइजेरिया र अर्जेन्टिना (जुन २६) बीचको खेल यो रंगशालामा खेलाइनेछ। यसैगरी यही रंगशालामा जुलाई ३ तारिखमा एउटा प्रिक्वार्टरफाइनल खेल, जुलाइ १० तारिखमा एउटा सेमिफाइनल खेल र जुलाई १४ तारिखमा तेस्रो स्थानका लागि खेल पनि खेलाइनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.