अझै आएन सवारी प्रदूषण जाँच्ने मेसिन

अझै आएन सवारी प्रदूषण जाँच्ने मेसिन

काठमाडौं : वर्ष दिन बित्न लागे पनि यातायात व्यवस्था विभागले सवारीसाधनको प्रदूषण जाँच मेसिन अझै खरिद गरेको छैन । वायु प्रदूषण बढाउन सबैभन्दा धेरै भूमिका सवारीसाधनको (३८ प्रतिशत) रहेको अध्ययनले देखाएपछि सरकारले प्रदूषण नियन्त्रण गर्न मेसिन खरिदका लागि विभागलाई एक वर्षअघि जिम्मा दिएको थियो ।

सवारीसाधनबाट हुने प्रदूषण अनुगमन र नियन्त्रण गर्न प्रदूषण मापन गर्ने मेसिन अभाव भएको विभागका कर्मचारीले बताएपछि प्रधानमन्त्री कार्यालयले तत्काल ४० वटा मेसिन खरिद गर्न आदेश दिएको थियो । विभागले खरिद प्रक्रिया अघि बढाएको दाबी गर्दै आए पनि मेसिन खरिद गरेको छैन । सवारीसाधनको प्रदूषण नियन्त्रण गर्ने मापदण्ड २०५४ सालमै तोकिएको थियो । वायु प्रदूषण गर्ने सवारीसाधन विभागले त्यसै छाड्ने गरेको छ । विभागका प्राविधिक शाखा प्रमुख प्रेमकुमार सिंहले प्रधानमन्त्रीसँग मेसिन जडान गरी जेठदेखि सवारीसाधनको प्रदूषण मापन थाल्ने बताएका थिए । तर जाँच मेसिन अझै पनि खरिद प्रक्रियामै रहेको उनले बताए ।

विभागले एक वर्षसम्म मेसिन खरिद गर्नमा आलटाल गर्नुको अर्थ सरकारको आदेश बेवास्ता गरेको वातावरणविद्को आरोप छ । विभागले यसअघि यसै वर्ष वैशाखदेखि स्थानीय तहमा प्रवेश गर्ने सवारीसाधनको अनिवार्य प्रदूषण जाँचपास गर्न सूचनासमेत जारी गरेको थियो । सरकारले देशभर चारपांग्रे सवारीसाधनमा हरियो स्टिकर अनिवार्य लिनुपर्ने नियम लागू गर्ने तयारी गरेको छ ।

 घोषणा गरे पनि प्रदूषण जाँच गर्ने मेसिन आपूर्तिमा ढिलाइ हुनुले वायू प्रदूषण नियन्त्रणमा विभाग नै उदासीन देखिएको वातावरणविद् भूषण तुलाधारको आरोप छ । विभागले गत चैतमा टेन्डर स्वीकृत गरेको जनाएको थियो ।

विभागले डिजेल गाडीको प्रदूषण जाँच गर्न स्मोक मिटर २० वटा र पेट्रोल गाडीको प्रदूषण जाँचका लागि ग्यास एनालाइजर २० वटा गरी ४० मेसिन खरिद गर्ने बताएको छ । ४० वटा मेसिन खरिद गर्न टेन्डर स्वीकृत भए पनि आपूर्तिको क्रममा रहेको विभागका निर्देशक तथा प्रवक्ता तुलसीराम अर्यालले दाबी गरे ।

पेट्रोलबाट चल्ने सवारीले फ्याँक्ने धूवाँको मात्रा ग्यास एनालाइजरले मापन गरिन्छ भने डिजेलबाट चल्ने सवारीले फाल्ने धूुवाँ जाँच डिजेल स्मोक मिटरले गरिन्छ । चाँडै काम अघि बढाउने, मेसिन किन्ने भन्दै विभागले आलटाल गर्दै आएको छ । विभागसँग प्रदूषण जाँच्ने मेसिन ३ वटा मात्र छन् । ती मेसिनको प्रयोग यातायात व्यवस्था कार्यालय ललितपुुर, यातायात व्यवस्था सेवा कार्यालय काठमाडौं र सवारी परीक्षण कार्यालय टेकुमा गरिँदै आएको छ ।

मेसिन अभावको बहानामा काठमाडौंमा लागू गरेको वातावरणमैत्री साधनमा हरियो स्टिकरको नियम पनि पैसा लेनदेनमा हुँदै आएको छ । नियमानुसार निजी सवारीधनीले वर्षको एकपटक र सार्वजनिक सवारीसाधनले ६÷६ महिनामा विभागबाट प्रदूषण जाँचपास गराएर हरियो स्टिकर लिनुपर्छ । हरियो स्टिकर टाँसिएका ८० प्रतिशत गाडी प्रदूषित पाइएका छन् । विभागले दुई, तीन र चारपांग्रे सवारीका लागि प्रदूषण जाँच मापदण्ड तोकेको छ । सन् १९८० सम्म उत्पादित पेट्रोल गाडीका लागि कार्बन मोनोअक्साइड बढीमा ३ र त्यसपछिका गाडीका लागि ४ दशमलव ५ प्रतिशत कार्बन मनोअक्साइड र हाइड्रोकार्बन बढीमा हजार पीपीएम (पार्ट पर मिलियन) भन्दा थोरै हुनुपर्छ । डिजेल गाडीको हकमा धूवाँको घनत्व अधिकतम ६५ प्रतिशत एचएसयू (हारट्रिज स्मोक युनिट) हुनुपर्छ।

विभागले प्रदूषण जाँचमा फेल सवारीसाधनलाई जरिवानास्वरूप चिट काटेर छाड्ने गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६० (३) अन्तर्गत सवारी प्रदूषण मापदण्ड पूरा नगर्ने सवारीसाधनलाई २ सयदेखि हजार रुपैयाँसम्म जरिवाना गर्न सकिन्छ । विभागका अनुसार नेपालमा कुल ३० लाख ८ हजार १ सय ९ सवारीसाधनमध्ये २३ लाख ७२ हजार ३ सय १६ मोटरसाइकल छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.