अर्थमन्त्रीको बैंक खातामा ९० लाख नेपाली, ६२ हजार अमेरिकी डलर
काठमाडौं : बुधबार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रीले सम्पत्ति विरण सार्वजनिक गरेका छन्। अर्थमन्त्री युवराज खतिवडाको खातामा अरु मन्त्रीको भन्दा फरक सम्पत्ति भएको खुलेको छ। खतिवडाले सानिमा र नबिल बैंकमा गरी ६२ हजार ६ सय तीन अमेरिकी डलर भएको उल्लेख गरेका छन्। उनले श्रीमती र आफ्नो गरी अन्य विभिन्न बैंकमा ९० लाख बढी सम्पत्ती भएको उल्लेख गरेका छन्।
मन्त्री खतिवडाले प्राप्त डलर संयुक्त राष्ट्र संघको सेवाबाट प्राप्त भएको उल्लेख गरेका छन्। अन्य रकम भने घरायसी खर्च बचतबाट प्राप्त व्याज भएको उल्लेख गरेका छन्। अन्य मन्त्रीले ऋण लिएको उल्लेख गरे पनि अर्थमन्त्रीले भने विभिन्न पाँच शुभचिन्तकलाई ऋण दिएको विवरण पेश गरेका छन्। उनले २०६२ सालदेखि ०६४ सालसम्म शुभचिन्तकलाई २४ लाख ऋण दिएका छन्।
मन्त्री खतिवाडाले सुन-चाँदीका गहनामा १० तोला सुन, एक किलो चाँदी पारिवारिक आम्दानीबाट लिएको उल्लेख गरेका छन्। घरजग्गामा भने काठमाडौं महानगरपालिका ४ मा पाँच आना जग्गा आफ्नो नाममा रहेको उल्लेख गरेका छन् भने श्रीमती कमला खतिवडाको नाममा काठमाडौं ४ मै १४ आना जग्गा रहेको उल्लेख छ। अन्य जग्गा जमिन भने भक्तपुर, झापा, दोलखा र काठमाडौंमै रहेको र त्यो धेरै श्रीमतीकै नाममा भएको उल्लेख छ।