'नीति तथा कार्यक्रममा नीतिहरु छन्, कार्यक्रम छैनन्'

'नीति तथा कार्यक्रममा नीतिहरु छन्, कार्यक्रम छैनन्'

काठमाडौ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रममा नीतिहरु मात्रै रहेको र कार्यक्रम नभएको बताएका छन् । 

प्रतिनिधिसभा बैठकमा बुधबार सरकारको आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रममाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले नीति तथा कार्यक्रममा लक्ष्य छन् तर स्पष्ट रुपमा लेखिएका कार्यक्रम छैनन् भने । 

सभापति देउवाले भने ,‘योजना र कार्यक्रम बिनाका सपना केवल मनोकामना मात्र हुन् । सरकारलाई कर्मकाण्डी बन्ने छुट छैन । आफूलाई बलियो मान्ने सरकारले आर्थिक र सामाजिक सुधारका लागि ठुल्ठूला जोखिम मोल्नुपर्छ, त्यो स्पीरिट म देख्दिँन ।’ 

विसं २०४६ सालको राजनीतिक परिवर्तनपछि बनेको कांग्रेसको सरकारले आर्थिक क्षेत्रमा साहसिक र दूरगामी असर पार्ने क्रान्तिकारी काम गरेको उल्लेख गर्दै उनले तत्कालीन सरकारले नै अर्थतन्त्रमा विभिन्न संरचनाको सुधार गरी उदारवाद अर्थतन्त्रको जग बसालेको जानकारी गराए । 

उनले कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा नै नयाँ संविधान जारी भएको र त्यसलाई सर्वस्विकार्य बनाउन आफूहरुले संविधान संशोधनको प्रयास गरेको बताए । 

उनले भने,‘स्थानीय, प्रदेश र संघका ऐतिहासिक चुनाव सफल रुपमा सम्पन्न गराई मैले नेपालको नयाँ संविधानलाई सफल कार्यान्वयनमा लगेर छोडेको छु । अब देशले स्थिरता र समुन्नतिको बाटो समातेको छ । राजनीतिक संक्रमण सकिएको छ । विगत दुई वर्षलगातार उच्च आर्थिक वृद्धि दर हासिल गरिएको छ । अहिलेको सरकारलाई अवसर थियो । तर सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कुनै सिर्जनशीलता देखिएन ।’ 

अहिलेको आवश्यकता भनेको संघीयतालाई सफल रुपमा कार्यान्वयन गरी सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्‍याई जनतालाई सशक्त र सम्पन्न गराउनु हो भन्दै सभापति देउवाले नीति तथा कार्यक्रममा संघीयताको कानूनी तथा प्रशासनिक संरचनालाई क्रियाशील गराउने कुरामा स्पष्ट धारणा नआएको टिप्पणी गरे । 

प्रदेश र स्थानीय तहलाई निष्प्रभावी बनाउने घुमाउरो नियत कांग्रेसलाई स्वीकार्य नहुने भन्दै उनले नीति तथा कार्यक्रमले ग्रहण गरेको यो मर्मले राजनीतिक आन्दोलनका उपलब्धिलाई नजरअन्दाज गर्न खोजिएको भान भएको उल्लेख गरे । 

दिशाहीन, छरपस्ट सिद्धान्त र नीतिको पोकोले वर्तमान अवस्थामा देशले चाहेको बृहत् लगानी र व्यापक रुपमा रोजगारीका अवसर सिर्जना गर्ने कुरा दिवा सपना मात्रै हुने धारणा व्यक्त गर्दै सभापति देउवाले सरकारले तोकेका लक्ष्य पूरा हुने विश्वसनीय आधार छैनन् भने । 

उत्तर–दक्षिण, पूर्व र पश्चिमका हाम्रा सीमानाको सुरक्षा गरेर बसेका नेपाली दाजु-भाई दिदीबहिनीलाई राष्ट्रवादबारे पाठ पढाउन जरुरी नभएको टिप्पणी गर्दै उनले नेपाली जनता जहाँ बसेका भएपनि सबै राष्ट्रवादी हुन् भने ।रासस 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.