भेनेजुएलाद्वारा अमेरिकी कूटनीतिज्ञ देशनिकाला
काराकास : भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोले मंगलवार काराकासस्थित अमेरिकी दूतावासका प्रमुखलाई ४८ घण्टाभित्र देश छाड्न आदेश दिएका छन् ।
समाचार समिति एफेका अनुसार मादुरोनले अमेरिकी उपराजदूत टोड रबिन्सनले भेनेजुएला अवैध काम गरेको आरोप लगाउँदै देशनिकाला गर्ने घोषणा गरेका हुन् । मादुरोले अमेरिकी दूतावासका राजनीतिक मामिला प्रमुख ब्रायन नारान्जोलाई पनि रबिन्सनसँगै भेनेजुएला छाड्नुपर्ने आदेश दिएका छन् । राष्ट्रपति मादुरोले भने, ‘अब यस्ता षड्यन्त्र गर्न दिइँदैन ।’
रबिन्सनले निर्लज्ज रूपमा अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको राष्ट्रपति मादुरोले बताएका छन् । अमेरिकी कूटनीतिज्ञका षड्यन्त्रका सबै प्रमाण आफूहरूले फेला पारेको पनि मादुरोले स्पष्ट पारेका छन् । आवश्यक सबै ती प्रमाण सार्वजनिक गरिने पनि उनले बताए ।
यसअघि पनि भेनेजुएलाको विदेश मन्त्रालयले अमेरिकी कूटनीतिज्ञलाई बोलाएर ‘निजी रूपमा, सार्वजनिक रूपमा र लिखित एवं मौखिक’ गरेर १० पटकभन्दा बढी चेतावनी दिएको पनि उनले खुलासा गरे । यस्तो चेतावनीलाई बेवास्ता गर्दै अमेरिकाले षड्यन्त्रकारीको रूपमा घटिया व्यवहार जारी राखेको उनको भनाइ छ । रबिन्सन भेनेजुएलाका लागि अमेरिकाका सबैभन्दा वरिष्ठ अमेरिकी प्रतिनिधि हुन् ।
भेनेजुएलामा हालै सम्पन्न निर्वाचनको विपक्षीले बहिष्कार गरेको थियो । हालै राष्ट्रपतिमा पुनः निर्वाचित मादुरोको जित अवैध भएको अमेरिकी आरोप छ । उसले यो चुनावलाई मान्यता नदिने बताउँदै अमेरिकाले सोमबारदेखि भेनेजुएलामाथि नाकाबन्दी लगाएको छ ।