विश्वकप गीत बनाउँदै विल स्मिथ
लन्डन : अमेरिकी नायक तथा गायक विल स्मिथले रुस विश्वकपको आधिकारिक गीत बनाउने भएका छन्। पछिल्लो १३ वर्षयता अभिनयमै व्यस्त रहेका ४९ वर्षीय स्मिथलाई रुस विश्वकप आयोजक समितिले आधिकारिक गीत बनाउने जिम्मेवारी दिएको हो।
स्मिथले अर्का अमेरिकी डीजे डिप्लोसँग मिलेर रुस विश्वकपका लागि आधिकारिक गीत बनाउन लागेका हुन्। मन छुने ‘एन्थम’ बनाउन माहिर मानिएका स्मिथले भने सन् २००५ यता आफ्नो कुनै पनि गीत सार्वजनिक गरेका छैनन्।
स्मिथले पछिल्लोपटक सन् २००५ मा ‘लस्ट एन्ड फाउन्ड’ नामक एल्बम निकालेका थिए। लामो समयदेखि अभिनयमा मात्रै केन्द्रित रहेका व्यक्तिलाई विश्वकपको आधिकारिक गीत बनाउने जिम्मा दिइएकोप्रति कतिपयले आश्चर्य पनि व्यक्त गरेका छन्। उनीहरूलाई अमेरिकी गायक निक्की जाम र अल्बानियन गायिका इरा इस्त्रेफीले पनि साथ दिनेछन्।
फिफाले रुस विश्वकपको आधिकारिक गीत मे २५ मा सार्वजनिक गरिने जनाएको छ। -एजेन्सी