उत्तरले आणविक उत्पादन र परीक्षणस्थल नष्ट गर्ने
सोल ः दक्षिण कोरियाका आठजना पत्रकार समाचार संकलनका लागि बुधबार दक्षिण कोरिया पुगेका छन्। उत्तर कोरियाले बुधबार आणविक क्षेप्यास्त्र उत्पादन केन्द्र नष्ट गर्ने जनाएकाले समाचार संकलनका लागि उनीहरू उत्तर कोरिया गएका हुन्। अघिल्लो बुधबार बस्ने भनिएको यी दुई देशको बैठक बस्न नसकिरहेका बेला उत्तर कोरियाले भने दक्षिण कोरियाली पत्रकारलाई समाचारका लागि आमन्त्रण गरेको छ।
हाल सोलमा जारी दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैनिक अभ्यासको निहुँ पारेर उत्तर कोरियाले कुनै पनि बैठकको अगुवाइ गरेको छैन। दुई कोरियाबीच प्रायः हुने गरेका द्विपक्षीय बैठक पनि पछिल्लो समयमा आएर ठप्प भएका छन्। दक्षिण कोरियाको सरकारका प्रवक्ताले दिएको जानकारीअनुसार ती आठजना पत्रकार उत्तर कोरिया सरकारको आमन्त्रणमा त्यहाँ गएका हुन्।
उनीहरू बुधबारै उत्तर कोरियाला पुगेका छन्। उनीहरूले दक्षिण कोरियाले नष्ट गर्न लागेको भनिएका आणविक क्षेप्यास्त्र उत्पादन तथा परीक्षणस्थलको अवलोकन गरी त्यसबारे समाचार संकलन र सम्प्रेषण गर्नेछन्। यो प्रक्रियाको समाचार संकलनका लागि दक्षिण कोरियाली पत्रकारलाई आफ्नो देशमा अनुमति रहेको कुरा उत्तर कोरियाले अन्तिम समयमा आएर बताएको थियो। उसले आणविक उत्पादन नष्ट गरिने प्रक्रियाको समाचार संकलनका लागि गत महिना उनीहरूलाई निम्ता गरेको थियो। त्यसैगरी उत्तर कोरियाले चीन, अमेरिका, रूस र बेलायतका पत्रकारलाई पनि उक्त घटनाको समाचार संकलन र सम्प्रेषणका लागि बोलाएको छ। ती देशबाट के कति पत्रकार त्यहाँ जाँदै छन् भन्ने बारेमा भने केही बताइएको छैन। गत अप्रिलमा भएको दुई कोरियाको एक ऐतिहासिक शान्ति सम्झौताबमोजिम उत्तर कोरियाले आणविक उत्पादन तथा परीक्षणको काम नगर्ने र ती उत्पादन र परीक्षणस्थल नै नष्ट गर्ने जनाएको थियो।
यसरी नष्ट गर्ने प्रक्रियालाई पारदर्शी बनाउन विदेशी पत्रकारलाई बोलाइएको उत्तरको स्पष्टोक्ति छ। दुई कोरियाबीच गत अप्रिल २७ मा अहिलेसम्मकै सबैभन्दा उच्चस्तरीय बैठक बसी शान्ति सम्झौता भएको थियो। त्यसयता यी दुई कोरियाबीच विभिन्न समयमा उच्चस्तरका बैठक बस्दै आएका थिए।
उत्तर कोरियाले यी आणविक उत्पादन तथा परीक्षणस्थल नष्ट गर्न लागेको कार्यको विश्वव्यापीरूपमा प्रशंसा गरिएको छ।
उत्तर कोरियासँगको बैठक परसर्न सक्छ– ट्रम्प
वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा हुने भनिएको शिखर बैठक उक्त समयमै नहुन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पले जानकारी दिएका छन्। उक्त बैठक निर्धारित मितिमा हुनेमा उनले आशंका व्यक्त गरेका हुन्। उनले उत्तर कोरियाले केही शर्त पूरा गर्नुपर्ने अवस्था रहेको र त्यसो नगरे शिखर बैठक निर्धारित समयमा बस्न नसक्ने उनले बताएका छन्। राष्ट्रपति ट्रम्पले यसको मतलब बैठक नै नबस्ने भने होइन भन्दै स्पष्ट पारेका थिए। उनले उत्तर कोरियाले आवश्यक शर्त पूरा गर्नुपर्नेमा पनि जोड दिएका छन्। प्योङयाङले भने अमेरिकाले एकपक्षीय रूपमा उत्तर कोरियालाई मात्र निःशस्त्रीकरणमा जोड दिने गरेको आरोप लगाएको छ। हाल दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनको अमेरिका भ्रमणमा छन्। आगामी शिखर बैठक आयोजना हुने गरी साझा विन्दु पहिल्याउने विषयमा छलफल गर्न राष्ट्रपति इन अमेरिका आएका हुन्। त्यस क्रममा मंगलबार अमेरिकी राष्ट्रपति ट्रम्प र इनबीच भएको भेटवार्तापछि ह्वाइट हाउसमा सञ्चारकर्मीसँग राष्ट्रपति ट्रम्पले उक्त प्रतिक्रिया दिएका हुन्। उनले भने, ‘मैले उत्तर कोरियाली नेता किमलाई गम्भीर हुनुहुन्न भन्दिनँ, उहाँ कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि गम्भीर नै हुनुहुन्छ। तैपनि केही शर्त छन् जुन वार्ताअगावै पूरा हुनुपर्छ।’ ट्रम्पले उक्त ऐतिहासिक बैठकमा केही विलम्ब भए पनि वार्ता भने हुने दाबी गरे। यद्यपि पछिल्लो समयमा वार्तामा नबस्ने भनी उत्तर कोरियाबाट आएको प्रतिक्रियाको बारेमा भने आफू आश्चर्यमा परेको उनले उल्लेख गरे।