तीन दशकदेखि तिर्खाएको अर्जेन्टिना : विश्वकप विशेष

तीन दशकदेखि तिर्खाएको अर्जेन्टिना : विश्वकप विशेष

लन्डन : पछिल्लो पुस्ताका सर्वाेत्कृष्ट खेलाडी मानिएका लियोनल मेसी नेतृत्वको टोली अर्जेन्टिना पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगितामा निरन्तर अभागी ठहरिँदै आएको छ। दक्षिण अमेरिकी क्षेत्रको प्रतियोगितामा मात्रै होइन, विश्वकपमा समेत फाइनलमा पुग्दै अर्जेन्टिना उपाधिबाट चुकेको छ।

अर्जेन्टिनाले विश्वकप उपाधि नजितेको ३२ वर्ष भएको छ। डिएगो म्याराडोनाको नेतृत्वमा अर्जेन्टिनाले सन् १९८६ मा विश्वकप जितेको थियो। त्यस यताको सात विश्वकपमा अर्जेन्टिनाले दुईपटक मात्रै फाइनल खेलेको छ, जसमा उसलाई भाग्यले साथ दिएको छैन। त्यसैले अर्जेन्टिनाका लागि आगामी विश्वकप आफ्नो तीन दशकभन्दा लामो उपाधिविहीन यात्रालाई टुंग्याउने अवसर बन्न सक्छ।

यद्यपि अर्जेन्टिनाको यो अवसर मेसीको प्रदर्शनमा मात्र होइन, उसको भाग्यमा पनि भर पर्ने देखिन्छ।

पछिल्लो प्रतियोगितामा मेसी र उनको टोलीले उत्कृष्ट प्रदर्शन गर्दा पनि अर्जेन्टिना अन्तिम अवस्थामा उपाधिबाट चुक्ने गरेको छ। क्लब फुटबलमा बार्सिलोनाबाट थुप्रै कीर्तिमान आफ्नो नाममा बनाएका मेसीले आफ्नो देशको राष्ट्रिय टोलीबाट भने अहिलेसम्म कुनै पनि ठूलो उपाधि जित्न नसक्नुलाई उनको खेलभन्दा बढी भाग्यसँग जोड्ने गरिन्छ।

यसपटक मेसीले टोलीका लागि विश्वकप उपाधि दिलाउन भने निकै मेहनत गर्ने पक्का छ। मेसीका लागि राष्ट्रिय टोलीबाट यो अन्तिम विश्वकप हुन सक्छ। राष्ट्रिय टोलीबाट लगातारको असफलतापछि मेसीले दुई वर्षअघि सन्न्यासको घोषणा गरेका थिए। सन् २०१६ को कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा चिलीसँग पराजित भएपछि मेसीले राष्ट्रिय टोली छाड्ने घोषणा गरेका थिए। यद्यपि उनी फेरि राष्ट्रिय टोलीमा फर्किएका छन्, सायद अर्जेन्टिनालाई आफ्नो नेतृत्वमा कम्तीमा एकपटक विश्वकप जिताउने सपना बोकेर।

त्यसपछि उनले खेल्न लागेको यो पहिलो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो। यही अवसरमा उनी अर्जेन्टिनालाई आफ्नो नेतृत्वमा विश्वकप उपाधि दिलाउन चाहन्छन्। हालसम्म सन् १९७८ र सन् १९८६ का दुई विश्वकप उपाधि जितेको अर्जेन्टिनाले पाँच÷पाँचपटक फाइनल र सेमिफाइनल खेलेको छ। अर्जेन्टिनाले पछिल्लोपटक सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको फाइनल खेलेको थियो। यद्यपि एक सय २० मिनेटसम्म चलेको खेलमा जर्मनीसँग १–० गोलले पराजित हुँदै अर्जेन्टिना उपाधिबाट विमुख भएको थियो।

जर्ज साम्पाओलीको प्रशिक्षणमा रहेको अर्जेन्टिनी टोली रुस विश्वकपको समूह ‘डी’ मा छ। उक्त समूहमा आइसल्यान्ड, क्रोएसिया र नाइजेरिया पनि छन्। समूहगत चरणको खेलमा यी तीनै टोलीले अर्जेन्टिनालाई बलियो चुनौती दिन सक्नेछन्। क्रोएसिया विश्वकपमा सदबहार बलियो टोली हो। नाइजेरिया पनि यसपटक छैटौं विश्वकपमा सहभागिता जनाउँदै छ। विश्वकपमा अर्जेन्टिना परिचित टोली भएकाले पनि नाइजेरियाले सशक्त प्रदर्शन गर्ने पक्का छ। नाइजेरियाले अर्जेन्टिनाविरुद्ध विश्वकप फुटबलमा पाँचौंपटक प्रतिस्पर्धा गर्दैछ। विश्वकपको नयाँ टोली आइसल्यान्डलाई पनि कमजोर मान्नु गल्ती हुनेछ। आइसल्यान्डले सन् २०१६ को युरोकपमा आफू सशक्त टोली भएको संकेत दिइसकेको छ।

अर्जेन्टिनाले रुस विश्वकपमा सफलताका लागि आफ्नो रक्षापंक्तिमा पनि निकै मेहनत गर्नुपर्नेछ। निकोलस ओटामेन्डी रुस विश्वकपमा अर्जेन्टिनी टोलीको मुख्य रक्षक रहने लगभक पक्का छ। यद्यपि उनको साथमा रहने अन्य खेलाडीको प्रदर्शन पनि अझ महत्वपूर्ण हुनेछ। साथै प्रशिक्षक साम्पाओलीको रणनीतिले पनि रुस विश्वकपमा अर्जेन्टिनाको सफलता र असफलता निर्धारण गर्नेछ।

प्रभाव पार्न सक्ने खेलाडी लियोनल मेसी

लियोनल मेसी अर्जेन्टिनी टोलीका मुख्य खेलाडी हुन्। मेसी फुटबलले पाएको पछिल्लो पुस्ताका सर्वोत्कृष्ट खेलाडी हुन्। मेसीकै उत्कृष्ट प्रदर्शनका कारण पनि अर्जेन्टिना रुस विश्वकपमा छनोट भएको हो।

गत वर्ष दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनोटको अन्तिम खेलमा इक्वेडरविरुद्ध मेसीले नै जादुमयी प्रदर्शन गरेपछि अर्जेन्टिना कपमा छनोट भएको थियो। छनोट पक्का गर्न कुनै पनि अवस्थामा जित आवश्यक रहेको उक्त खेलमा मेसीले नै तीन गोल गर्दै टोलीलाई ३–१ को जितसहित विश्वकप सहभागिता पक्का गराएका थिए।

रुस विश्वकपमा पनि अर्जेन्टिनाको यात्रा मेसीमाथि नै निर्भर रहनेछ। उनकै प्रदर्शनमा अर्जेन्टिनाले विश्वकपमा तय गर्ने यात्राको निर्धारण हुनेछ। अर्जेन्टिनी सिनियर राष्ट्रिय टोलीका लागि एक सय २३ खेल खेलेका मेसीले ६१ गोल गरेका छन्। यद्यपि उनको यो गोल हालसम्म उनलाई सिनियर राष्ट्रिय टोलीबाट उपाधि दिलाउन भने पर्याप्त बन्न सकेको छैन।

पछिल्लो १२ वर्षयता अर्जेन्टिनी सिनियर राष्ट्रिय टोलीबाट खेल्दै आएका उनी उपाधिविहीन छन्। राष्ट्रिय टोलीबाट निरन्तरको असफलतापछि गत वर्ष सन्न्यास लिएर पनि फेरि राष्ट्रिय टोलीमा फर्किएका ३० वर्षीय मेसीका लागि रुस विश्वकप अन्तिम अवसर पनि मानिएको छ। त्यसैले उनी सिनियर राष्ट्रिय टोलीबाट विश्वकप उपाधिसहित बिदाइ हुने योजनामा छन्। खेलकौशल र अनुशासनमा विश्वका फुटबलप्रेमीको मन जितेका मेसीको खेल वास्तवमै हेर्न लायकको हुनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.