२१ औँ शताब्दीका मार्क्सले के भन्छन् भन्नेमा ध्यान दिउँ : बाबुराम
![२१ औँ शताब्दीका मार्क्सले के भन्छन् भन्नेमा ध्यान दिउँ : बाबुराम](https://annapurnapost.prixacdn.net/media/albums/baburam-bhattarai_20180524051528_KrT6Rb8kbx.jpg)
काठमाडौं : नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं सांसद डा. बाबुराम भट्टराईले २१ औँ शताब्दीको आवश्यकता अनुसार विकासको नीति अगाल्नुपर्ने बताएका छन्। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै भट्टराईले परम्परागत विचारमा अडिएर अहिलेको आवश्यकताअनुसारको विकास गर्न नसकिने बताएका हुन्।
'नेपालको विकासको बाटो २१ औँ शताब्दीको आँखाबाट हेर्नुपर्छ। आज मार्क्स बाँचेको भए के भन्थे भन्नेमा ध्यान दिउँ', उनले भने, '१९ औँ शताब्दीका मार्क्सले के भनेका थिए भन्नेमा होइन, २१ औँ शताब्दीका मार्क्सले के भन्छन् ध्यान दिउँ।'
युरोपमा क्याथोलिक चर्चमा गरिएको सुधारपछिमात्र त्यहाँको विकासले गति लिएको उदाहरण दिँदै भट्टराईले नेपालमा पनि परम्परागत सोचमाथि सुधार नगरीकन विकास हुन नसक्ने बताए। त्यसका लागि जातपातको व्यवस्थालाई जरैदेखि उखेल्नुपर्ने भट्टराईको भनाई छ।
'विकास गर्ने जनताले हो, त्यसैले जनताको सोचमा नै व्यापक सुधार नल्याइ हुँदैन', उनले भने, 'जातपातलाई जरैदेखि उन्मुलन नगरी विकास सम्भव छैन।'
सरकारको नीति तथा कार्यक्रममा कृषि, उर्जा, उद्योग लगायतका प्राथमिकताहरू संकेत गरिए पनि सरकार त्यसमा हिचकिचाएको उनले बताए। भट्टराईले उदयीमान अर्थतन्त्र भएका भारत र चीनको बीचमा रहेको नेपालले पनि राष्ट्रिय हीतअनुकूल वैदेशिक पुँजी भित्र्याएर बस्तु उत्पादन गरी निर्यात नगरी विकास हुन नसक्ने बताए।
उनले संघीयताको बुझाइमा पनि नीति तथा कार्यक्रममा समस्या देखिएको बताए। 'ध्यान नपुर्याउनुभएको हो कि जानीबुझिकन संविधानको मर्मविपरीत जानुभएको हो, मलाई चिन्ता छ', भट्टराईले भने, 'तीन तहको सरकार मिलेपछिमात्र नेपाल सरकार हुने हो तर नीति तथा कार्यक्रममा एउटामात्र नेपाल सरकार छ भने झैँ प्रस्तुत गरिएको छ।' कर्मचारीतन्त्रमा पनि व्यापक सुधार गर्नुपर्ने उनको भनाई छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)