छिमेकीलाई सहयोग गर्दा ज्यान गयाे
भक्तपुर ः छिमेकीका बिरामी छोरालाई उपचारको लागि सघाउन गएका मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीका ५० वर्षीय हरिबहादुर कटुवालले बुधबार आफ्नै ज्यान गुमाउनुपरेको छ। दोलखा, मेलुङ, ६ घर भई हाल लोकन्थलीमै बस्दै आएकी छिमेकी ३६ वर्षीय सविता घिमिरेको अनुरोधमा काभ्रेको साँगास्थित नेपाल प्रहरी स्कुलमा पढ्ने सविताको बिरामी छोरा अरविन लिन सवितासहित कटुवाल स्कुटर हाँकी त्यसतर्फ गएका थिए। तर, बिरामी अरविनलाई उपचारका लागि अस्पताल पु¥याउन नपाउँदै हरिसँगै तीनैजना सडक दुर्घटनामा परे।
साँगाबाट भक्तपुर फर्कंदै गर्दा उनीहरु सवार बा ५६ प १२२७ नम्बरको स्कुटीलाई सोही दिशाबाट आएको बा ३ ख ६६७४ नम्बरको टिपरले भक्तपुरको सूर्यविनायक नगरपालिका ९ पलासेंस्थित अरनिको राजमार्गमा ठक्कर दिएको हो। टिपरको ठक्करमा उनीहरू तीनै जनाको घटनास्थलमा ज्यान गएको प्रत्यक्षदर्शी बताउँछन्। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार टिपरको ठक्करलगत्तै उपचारको लागि भक्तपुर अस्पताल लगिएकोमा चिकित्सकहरुले तीनैजनालाई मृत घोषणा गरेको थियो।
टिपर चालक घटनास्थलमै टिपर छाडेर फरार भएको र फरार चालकको खोजी तीव्र बनाइएको महानगरीय प्रहरी वृत्त जगातीका वृत्त प्रमुख प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए। नेपाल प्रहरी स्कुलमा कक्षा ८ मा अध्ययनरत १३ वर्षीय अरविनलाई उपचारको लागि भक्तपुर ल्याउँदै गर्दा उक्त घटना भएको उनले जानकारी दिए। घटनाबारे थप अनुसन्धान जारी रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।