दश महिनामा ४२२ दुर्घटना, ९५ को मृत्यु
विराटनगर : चालु आर्थिक वर्षको १० महिनामा मोरङ जिल्लामा ४२२ वटा सवारी दुर्घटना भई ९५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ।
गत साउनदेखि वैशाख अवधिमा सो दुर्घटनाका कारण मृत्यु हुनेमा ८० पुरुष, नौ महिला, दुई बालक र चार जना बालिका छन्। सवारी दुर्घटनामा परी २२७ जना गम्भीर घाइते र ३८९ जना समान्य घाइते भएको सहायक प्रहरी निरीक्षक तुलामणि आचार्यले जानकारी दिए।
अहिले जिल्ला ट्राफिक कार्यालय मातहतमा रहेका ९० जना ट्राफिक प्रहरीमध्ये १ नं प्रदेशको राजधानी विराटनगर महानगरपालिकामा ४५ र अन्य ट्राफिक प्रहरी मोरङका मुख्य बजार एवं सहर उर्लावारी, पथरी, रंगेली, विराट चोकमा केन्द्रित भएर काम गरिरहेको बताइएको छ।
राजमार्ग तथा आसपासका क्षेत्र एवं बजारमा सवारी दुर्घटना हुँदा तत्काल ट्राफिक प्रहरी पुग्नुपर्ने भएकाले ट्राफिक प्रहरीको दरबन्दी र साधन अत्यन्त आवश्यक रहेको छ, निरीक्षक आचार्यले बताए।
यसैगरी, सो अवधिमा ४२ हजार ४७२ वटा सवारी साधन ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्।दुई करोड ३१ लाख ३६ हजार जरिवाना असुल गरिएको छ।रासस