विश्वकप फुटबलः कस्तो छ अट्क्रटी (स्पार्टक) रंगशाला ?
काठमाडौँः आगामी विश्वकपका पाँचवटा खेल खेलाइने अट्क्रिटी रंगशाला रुसको राजधानी मस्कोमा रहेको छ । ४५ हजार तीन सय ६० दर्शक क्षमताको यो रंगशालालाई स्पार्टक रंगशाला पनि भनिन्छ ।
यो रंगशालालाई रुसको चर्चित ‘ए’ डिभिडन क्लब स्पार्टक मस्कोले घरेलु मैदानको रूपमा प्रयोग गर्दै आएको छ । यो रंगशाला परिसरमा फुटबलसँगै अन्य थुप्रै खेलका पूर्वाधार पनि रहेका छन् ।
सन् २०१४ को सेप्टेम्बर ५ तारिखदेखि यो रंगशाला खुला गरिएको हो । सन् २००७ मै निर्माण सुरु गरिए पनि यो रंगशाला निर्माणमा विभिन्न कारणले ढिलाइ भएको थियो ।
यो रंगशालामा सन् २०१४ को सेप्टेम्बर ५ मा स्पार्टक मस्को र रेड स्टार बेलग्रेडबीच पहिलो खेल खेलिएको थियो । उक्त खेल १—१ गोलको बराबरीमा सकिएको थियो । यो रंगशालामा गोल गर्ने पहिलो खेलाडी स्पार्टक मस्कोका दिमित्री कोमबारोभ हुन् ।
यो रंगशालामा सन् २०१७ मा फिफा कन्फिडरेसन्स कपको लिग चरणका तीनवटा र तेस्रो स्थानका लागि खेल खेलाइएको थियो । आगामी विश्वकपको लिग चरणमा यो रंगशालामा अर्जेन्टिना र आइसल्यान्ड (जुन १६), पोल्यान्ड र सेनेगल (जुन १९), बेल्जियम र ट्युनिसिया (जुन २३) तथा सर्बिया र ब्राजिल (जुन २७) खेल खेलाइनेछ । यसैगरी जुलाई ३ तारिखमा अन्तिम १६ टोलीबीचको भिडन्तको एक खेल पनि यही रंगशालामा खेलाइनेछ ।