विश्वकप गीत बनाउँदै अमेरिकी गायक स्मिथ
लन्डनः अमेरिकी नायक तथा गायक विल स्मिथले रुस विश्वकपको आधिकारिक गीत बनाउने भएका छन् । पछिल्लो १३ वर्षयता अभिनयमै व्यस्त रहेका ४९ वर्षीय स्मिथलाई रुस विश्वकप आयोजक समितिले आधिकारिक गीत बनाउने जिम्मेवारी दिएको हो ।
स्मिथले अर्का अमेरिकी डीजे डिप्लोसँग मिलेर रुस विश्वकपका लागि आधिकारिक गीत बनाउन लागेका हुन् । मन छुने ‘एन्थम’ बनाउन माहिर मानिएका स्मिथले भने सन् २००५ यता आफ्नो कुनै पनि गीत सार्वजनिक गरेका छैनन् ।
स्मिथले पछिल्लोपटक सन् २००५ मा ‘लस्ट एन्ड फाउन्ड’ नामक एल्बम निकालेका थिए । लामो समयदेखि अभिनयमा मात्रै केन्द्रित रहेका व्यक्तिलाई विश्वकपको आधिकारिक गीत बनाउने जिम्मा दिइएकोप्रति कतिपयले आश्चर्य पनि व्यक्त गरेका छन् । उनीहरूलाई अमेरिकी गायक निक्की जाम र अल्बानियन गायिका इरा इस्त्रेफीले पनि साथ दिनेछन् ।
फिफाले रुस विश्वकपको आधिकारिक गीत मे २५ मा सार्वजनिक गरिने जनाएको छ । एजेन्सी