कुकुर कुटेको आरोपमा क्यानडामा एक नेपालीलाई ९ महिनाको जेल !
काठमाडौं : क्यानडामा एक नेपालीलाई कुकुर पिटेको आरोपमा ९ महिनाको जेल सजाय तोकिएको छ । पिटरवर्गको प्रान्तीय अदालतले नेपाली मुलका दीप विष्टलाई कुकुर कुटेको आरोपमा ९ महिनाको सजाय तोकिएको हो ।
ग्लाेबलन्यूजका अनुसार विष्टले क्यानडाको तीन पटक सम्म कुकुरलाई कुटेको थिए । उनले कुकुरलाई लात्तिले हानेको र कुटेको दृश्यहरु उनको अपार्टमेन्ट बिल्डिङको सीसी क्यामेरामा स्पष्ट देखिन्छ । पालेको डिजे नामक तीन वर्षीय कुकुरलाई लात्तिले हाने, पन्च हान्ने र हावामा फालिदिने गरेको दृश्य सीसी क्यामेरामा देखिएको छ ।
अदालतले सजाय सुनाउँदा विष्ट भने नेपालमा मुटुको उपचार गराइरहेका थिए । नेपाल आउनु अघि पिटरवर्गको ३०३ अलिमर स्ट्रिट स्थित एक अपार्टमेन्टको सातौं तल्लामा विष्ट बस्थे ।
न्यायाधीश पिटर हिस्कक्सले उक्त भिडियोले कायरता र घृणित कार्य देखाएको बताएका छन् । न्यायाधीस पिटरले उनलाई तीनपटक ९० दिनको दरले गरी नौ महिना जेल र जीवनभर घरपालुवा जनावर पाल्न प्रतिबन्ध लगाएको सजाय सुनाएका छन् ।
विष्टकी वकिल एन्जेला म्याकग्राथले कुकुर कुट्ने कार्य डरलाग्दो र भयानक रहेको बताएकी छन् ।अदालतमा विष्टकी वकिल एन्जेलाले आफ्नो कार्यमा पछुतो मान्दै विष्टले लेखेको चिठी पढेर सुनाएकी थिइन् । जसमा उनले आफ्नो कुकुरलाई राम्रो बनाउनका लागि तालिम दिन मात्रै खोजेको उल्लेख गरेका थिए । उनले अदालतलाई उदारता देखाउन समेत आग्रह गरेका थिए ।
क्यानडामा जनावरलाई कुटेमा ६० हजार डलर र दुई वर्षको कैदसम्मको सजाय हुने व्यवस्था छ । उक्त कुकुर अहिले बिष्टको पूर्वपत्नीसँग छ भने बिष्टलाई पक्राउ गर्नको लागि वारेन्ट जारी गरिएको छ ।