कालीगण्डकीमा दुई युवा बेपत्ता, दुईजनाको उद्दार
पाल्पाः कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बगेर पाल्पाका दुई युवा बेपत्ता भएका छन् । विहीबार पौडी खेल्दै गर्दा बगनासकाली गाउँपालिका–६ यम्घा नजिकैको कालीगण्डकीमा ती युवा बेपत्ता भएको जिल्ला प्रहरी कार्यलय पाल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए ।
गाउँमा कुलपूजा सकेर पौडी खेल्न गएका चारमध्ये दुईजना बेपत्ता भएको प्रहरीले जनाएको छ । दुईजनाको नदीबाटै उद्दार गरिएको छ । बेपत्ता हुनेमा बगनासकाली गाउँपालिका–६ यम्घाका २५ वर्षीय गोविन्द्र परियार र २४ वर्षीय चन्द्रबहादुर परियार रहेको जिल्ला प्रहरी कार्याल पाल्पाले जनाएको छ ।
कालीगण्डकीमा बगेका सोही स्थानका २२ वर्षीय विजय परियार र १८ वर्षीय सागर परियारलाई भने उद्दार गरिएको घिमिरेले जानकारी दिए । उद्दार गरिएका दुई युवकको लुम्बिनी मेडिकल कलेज प्रवासमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बेपत्ता युवाहरुको खोजी भइरहेको उपरीक्षक घिमिरेले बताए ।