प्रदेश ५ का प्रमुख भक्तपुर क्यान्सर अस्पतालमा
भक्तपुर : प्रदेश नम्बर ५ का प्रमुख उमाकान्त झा बिहीबार भक्तपुर क्यान्सर अस्पताल पुगेका छन्। अस्पतालमा उपचाररत आफ्नो निजी सचिवालयका कर्मचारी भविन्द्र कार्कीका बुबा जगतबहादुर कार्कीको स्वास्थ्य अवस्था बुझ्न प्रदेश प्रमुख झा अस्पताल पुगेका हुन्।
उक्त अवसरमा प्रदेश प्रमुख झालाई अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले स्वागत गर्दै अस्पतालको अवलोकन भ्रमण गराएका छन्।अध्यक्ष श्रेष्ठले भक्तपुर क्यान्सर अस्पताल सरकारी–निजी सहकारीको उत्कृष्ट नमुना भएको जानकारी दिए। ‘क्यान्सर बिरामीहरुको चाप दिनप्रतिदिन बढिरहेको छ’, अध्यक्ष श्रेष्ठले भने, ‘भर्ना गर्न शय्या नपाउँदा दैनिक ३०–४० जना बिरामीहरुलाई फर्काउनुपर्ने बाध्यता छ।’
प्रदेश प्रमुख झाले अस्पतालले क्यान्सर बिरामीहरुको निःशुल्क उपचार गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न गरेका थिए। उनले अस्पतालले दिने सेवा सुविधाबारे समेत चासो व्यक्त गरेका थिए। नेपाल अर्बुदरोग निवारण संस्थाका अध्यक्षसमेत रहेका श्रेष्ठले सरकारले आर्थिक सहयोग उपलब्ध गराए अस्पतालले क्यान्सर बिरामीहरुलाई निःशुल्क उपचार गर्न सकिने जानकारी दिए।
‘सरकारले चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सरलाई उपलब्ध गराउने बजेटको १० प्रतिशतमात्रै उपलब्ध गराए भक्तपुर क्यान्सर अस्पतालले सम्पूर्ण क्यान्सर बिरामीको निःशुल्क उपचार गर्छौं’, उनले भने। अध्यक्ष श्रेष्ठले क्यान्सरको छुट्टै फ्याकल्टी नभएका निजी अस्पताललाई गरिब तथा विपन्न क्यान्सर बिरामीलाई दिइने अनुदान दिन नहुनेतर्फ प्रदेश प्रमुखको ध्यानाकर्षण गरे।
‘विपन्न अनुदान जथाभावी दिँदा काठमाडांैका गल्लीमा अस्पताल खुल्नेछन्’, उनले भने, ‘पैसा जति निजी अस्पतालमा खर्च गरेर अन्तिम अवस्थामा हामीकहाँ आउने क्रम बढ्ने छ।’
प्रदेश नम्बर ५ का प्रमुख उमाकान्त झालाई अस्पतालबारे जानकारी दिँदै भक्तपुर क्यान्सर अस्पतालका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ। तस्बिर : ईश्वरकाजी खाइजू